अष्ट्रेलियाको एआइबिटी कलेज बन्द : हजारौँ नेपाली विद्यार्थीको भविष्यमाथि खेलबाड

अष्ट्रेलियाको एआइबिटी कलेज बन्द : हजारौँ नेपाली विद्यार्थीको भविष्यमाथि खेलबाड


  • राजन घिमिरे, अष्ट्रेलिया

डिप्लोमा अफ नर्सिङ अध्ययनका लागि अस्ट्रेलिया आएका हजारौँ नेपाली विद्यार्थीको भविष्य सम्बद्ध कलेजको लापर्वाहीका कारण अन्धकार बन्न पुगेको छ । वैधानिकता हासिल नगरिकन व्यापारिक होडमा खुलेका कलेजका कारण उच्च शिक्षा अध्ययनका लागि आएका विद्यार्थीको समय र पैसाको बर्बादी भएको छ भने उनीहरु ठूलो पीडा र अन्योलमा परेका छन् ।

वैदेशिक अध्ययनको नाममा अन्धाधुन्द किसिमले होडबाजी गर्दा र अध्ययन गर्ने संस्थाबारे स्पष्ट जानकारी हासिल नगरी विदेशिँदा यस्तो अवस्था निम्तिएको हो । अष्ट्रेलियाको एआइबीटी कलेजमा अध्ययन गर्ने एक हजार नेपाली विद्यार्थी यतिखेर गलत रवैयाको शिकार भएका छन् ।

चौवीस महिने डिप्लोमा अफ नर्सिङ कोर्स अध्ययनका निम्ति आएका नेपाली विद्यार्थी डेढ वर्ष समय गुज्रिएको अवस्थामा कलेज दर्ता नभएको र नर्सिङ सम्बन्धन नपाउने खुलासाा भएपछि अन्येलमा परेका हुन् ।

एक आँकडाअनुसार अष्ट्रेलियामा यतिखेर चालिस हजारको हाराहारीमा नेपाली विद्यार्थीहरू अध्यनरत छन्।

अष्ट्रेलियाको शैक्षिक पद्धतिमा अस्ट्रेलियन स्कील क्वालिटी अथोरोटी (अस्क्वा)ले शैक्षिक संस्थाको दर्ता, सञ्चालन र कोर्सको छिनोफानो गर्ने प्रावधान छ ।

यस संस्थाले दर्ता दिएपछि र कोर्सको अनुमोदनपछि मात्र विद्यार्थी भर्ना लिन प्रारम्भ गरिन्छ। तर, अन्य विषयमा यसको अनुवन्धनले काम गरे पनि नर्सिङ कोर्सका लागि भने अस्ट्रेलियन नर्सिङ एन्ड मिड वाइफरी एक्रिएडिएसन काउन्सिल (एन्म्याक)को स्वीकृति आवश्यक रहन्छ।

त्यसपछि पनि यी नर्सिङ पढाइ गरेका विद्यार्थीलाई हस्पिटलमा इन्टर्नसीपका लागि अष्ट्रेलियन हेल्थ प्राक्टिसनर रेगुलेटर एजेन्सी (अप्रा)को दर्ता नम्बर आवश्यक हुन्छ।

प्रारम्भिक तयारीहरु पूरा नभइकनै र सरकारबाट स्वीकृति प्राप्त नहुँदै परीक्षणकै समयमा धमाधम विद्यार्थी भर्ना लिएर पढाइ सुरू गर्ने अनि नगद बटुलिहाल्ने प्रवृत्तिको शिकार भई आफ्नो भविष्य नराम्रोसँग प्रभावित भएकोमा सम्बन्धित विद्यार्थीहरूले चिन्ता ब्यक्त गरेका छन् ।

‘हाम्रो डेढ वर्षको समय, मिहेनत, पैसा र पढाई गुम्यो, हामी बरबाद भयौँ’, विद्यार्थीहरुको पीडा छ ।

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको यो समस्याप्रति यतिबेला अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्स एलाइन्स (एक्का)का अध्यक्ष पीआर अधिकारीले यो समस्याबाट विद्यार्थीहरूलाई मुक्त गराउन पहल गरिरहेको जानकारी दिएका छन् । उनले चाँडोभन्दा चाँडो अष्ट्रेलियन सरकारबाट पनि नेपाली विद्यार्थीहरूले न्याय पाउने पनि बताए ।

यसैबीच कलेजले मंगलबार एक सूचना जारी गर्दै विद्यार्थीहरुको रकम फिर्ता नगर्ने जानकारी दिएको छ । यसबाट विद्यार्थीहरूको लगानी पनि डुब्ने अवस्था देखापरेको छ ।

अष्ट्रेलियामा पढ्न आएका नेपाली विद्यार्थीहरूले यस्तो समस्या पहिला पनि नभोगेका होइनन् । समस्याको समाधान त होला, तर यस्ता समस्याहरुको दीर्घकालिन समाधानप्रति सम्बन्धित पक्ष गम्भीर र क्रियाशील बन्नुपर्ने पीडित विद्यार्थीहरूको धारणा छ ।