पश्चिम सेती मेरै कार्यकालमा अघि बढ्छ : प्रधानमन्त्री

पश्चिम सेती मेरै कार्यकालमा अघि बढ्छ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको सबस्टेसनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार अमरगढी नगरपालिका वडा नं. १ दुधकाँडेमा नेपाल सरकारको लगानीमा निर्माण भएको १३२/३३ केभी सवस्टेशनको उद्घाटन गरेका हुन् ।

सब स्टेसन संचालनमा आएसंगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत त्यहींमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार पनि तयार भएको छ । यसले त्यस क्षेत्रको विद्युत विकासका लागि सहज वातावरणको निर्माण हुनेछ ।

प्रधानमन्त्री ओलीले सबस्टेसनको निर्माणपछि सुदूरपश्चिमको विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउने अत्यन्त महत्वपूर्ण भूमिका खेलेको बताए । आफ्नो पहिलो कार्यकालमा सबस्टेसनको ठेक्का प्रक्रिया सुरु भएको उल्लेख गर्दै ओलीले ७५० मेगावाटको पश्चिम सेती आयोजना पनि आफ्नै कार्यकालमा निर्माण सुरु गर्ने घोषणा गरे । ‘सुदूपश्चिमको आर्थिक विकाससँग जोडिएको पश्चिम सेती मेरै कार्यकालमा निर्माण सुरु हुन्छ’,उनले भने,‘विद्युत् नपुगेको क्षेत्रमा पनि व्यापक रुपमा विद्युतीकरण गर्ने छौं ।’

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सबस्टेसनको निर्माणले सुदूरपश्चिमको ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण पूर्वाधार तयार गरेको बताए । ‘यस क्षेत्रमा अध्ययन, निर्माणाधीन तथा निर्माणको चरणमा जान लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई वितरण गरी खपत गर्न नसकेकोलाई अन्य क्षेत्रमा लैजान सक्ने पूर्वाधार क्षमता तयार भएको छ’,उनले भने । ‘पश्चिम सेतीलाई अगाडि बढाउन अहिले लगानी बोर्डमा छलफल भइरहेको छ, यस क्षेत्रका जनताको भावनालाई समेटेर पश्चिम सेती उपयुक्त लगानी मोडलमा तत्काल निर्माणमा लैजान ऊर्जा मन्त्रालय प्रतिबद्ध छ ।’

दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउले सबस्टेशनबाटै डडेलधुरा, बझाङ, दार्जुला, डोटी, वैतडी र अछाममा बितरण भइरहेको छ ।
यसअघि नेपाल विद्युत प्राधिकरणले चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पु¥याई फेरि करिब एक सय किलोमिटर ३३ केभी फिडरमार्फत ती जिल्लामा आपूति गर्दै आएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्याउले सबस्टेसन संचालनमा आएपछि सुदरुपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत प्रवाहको गुणस्तरलाई पनि बढाएको बताए । ‘स्याउले सवस्टेशन निर्माण हुनुभन्दा पहिला अत्तरिया सवस्टेशनबाट पहाडी जिल्लाहरुमा एउटा ३३ केभी फिडरमार्फत विद्युत बितरण गरिन्थ्यो, जसले गर्दा कुनै एक ठाउँमा फल्ट भएपनि सबै जिल्लाहरु अन्धकारमा बस्नुपर्ने बाध्यता थियो ।’ घिसिङले भने । ‘स्याउले सबस्टेसनबाट विद्युत् आपूर्ति हुनथालेपछि यस्तो अवस्था हटेको छ, त्यस क्षेत्रको विद्युतप्रवाहको गुणस्तर तथा विश्वसनियता पनि पहिलाभन्दा मजबुत भएको छ ।’३० मेगावाटको चमेलिया र नौगाड जलविद्युत केन्द्रबाट उत्पादन भएको करिब ३८ मेगावाट विद्युत मध्येबाट स्याउले सबस्टेसनमार्फत डडेलधुरा, बैतडी,बझाङ, अछाम, डोटी र बाजुराका करिब १२ लाख जनतालाई नियमित र भरपर्दो विद्युत् आपूर्ति गरी बाँकी राष्टिय प्रवाह भइरहेको उनले जानकारी दिए ।

सबस्टेशन अहिले आफ्नो क्षमताको करिब ३० प्रतिशतमात्रै संचालनमा भइरहेकाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा खुल्ने उद्योगलाई पर्याप्तमात्रामा विद्युत् आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ । यसले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा विकास तथा आर्थिक समृद्धिका लागि महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
अत्तरिया–डडेलधुरा–दिपायल ३३ केभी प्रसारण लाइनमार्फत डडेलधुरा र डोटीको दिपायलमा भएका ३३/११ केभीका सव स्टेसनमार्फत विद्युतलाई ११ केभीमा परिणत गरी वितरण हुँदै आएको थियो ।

प्राधिकरणले डडेलधुराबाट बैतडी हुँदै दार्चुलासम्म र डडेलधुराबाट दिपायलहुँदै अछामसम्म विद्युत आपूर्ति गर्दै आएको छ । अवती क्षेत्रमा चमेलियाको विद्युत स्याउले सब स्टेसनमार्फत आपूर्ति हुने छ ।

३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा प्रसारण चुहावट बढी हुने र ‘भोल्टेज ड्रप’ हुने समस्या थियो । यी सबै समस्याको समाधान गर्न चमेलिया–अत्तरिया १३२ केभी प्रसारण लाइनमुनि पर्ने स्याउलेमा सब स्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो । सव स्टेसनमा १३२/३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ३३/११ केभीको एउटा वितरण ट्रान्सफर्मर राखिएको छ ।

सव स्टेसनको निर्माण आर्थिक वर्ष ०७२/७३ मा सुरु गरिएको थियो । प्रसारण लाइनको निर्माणका लागि ८ पुस २०७२मा इष्ट इन्डिया उद्योग÷वाइबा इन्फ्राटेक जेभीसँग ठेक्का सम्भौता भएको थियो । कम्पनीले ८ असार २०७५मा निर्माण सकी सबस्टेसन संचालनमा आएको थियो ।

जग्गाको मुआब्जा, नेपाल सरकारको ऋणको ब्याज र आयोजनाको प्रशासिनक खर्च समेत गरी सबस्टेसनको ४५ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।