सरकारको एक वर्ष र गायक पशुपति शर्माको नियति

सरकारको एक वर्ष र गायक पशुपति शर्माको नियति


प्रिय पशुपति भाइ,

सरकारले एक वर्ष पूरा गरी विकासका पूर्वाधार निर्माणको कार्यमा पहिलो वर्ष सफलतापूर्वक सम्पन्न भएको भनिरहेको समयमा तपाईंले ‘लुट्न सके लुट् कान्छा…’ शीर्षकको लोकगीत आफ्नो अफिसियल युट्युबमार्फत् शेयर गर्नुभयो भने सार्वजनिक वक्ताको ताज पहिरिएका रमेश प्रसाईंले पनि आफ्ना असन्तुष्टिहरू पेश गर्दै ‘अझै ४ वर्ष बाँकी छ, येइ सरकारले गर्नैपर्छ, र यदि पहिलो वर्षजस्तै केही नगर्ने हो भने मेरो नाम भोटरलिष्टबाट हटाइदिनु’ भन्नेसम्मको व्यहोरा अभिव्यक्त गरे । यी तीन कुराको संयोगलाई सत्तापक्षका अधिकांश तप्काले पूरा नकारात्मक ‘भाइव’ निकाल्ने सन्देश मात्र नभै राष्ट्रका अभिभावक ‘राष्ट्रपति’लाई प्रत्यक्षमा लाञ्छना लगाएको, ‘यमराजको शासन’ बोलको पृष्ठभूमिमा कम्युनिष्टको झण्डा देखाएको जस्ता अभियोग (?) लगाउँदै तपाईंलाई आफ्नो युट्युब च्यानलबाट गीत ‘डिलिट’ गर्न लगाइयो । रमेशको विषयमा यो लेख्दासम्म केही खबर बाहिर आएको छैन । प्रस्तुत सन्दर्भमा मलाई पनि तपाईंका गीत र रमेशजीका प्रस्तुती मनपर्ने भएकाले विचार नपोखी मनले मानेन र यो प्रयास गरेको छु । म पनि स्याङ्जैको हुनु र उमेरले जेठो हुनुले भाइको सम्बोधन गरेकोमा अनर्थ नलगाउनु होला ।

वास्तवमा मानवमन सकारात्मक सन्देशमा भन्दा नकारात्मक सन्देशमा छिट्टै आकर्षित हुन्छ । मैले पनि बहुदलको पुनःप्राप्तिपश्चात् एकपटक ‘माननीय’ बनेका व्यक्तिले एउटा कोठामा डेरा लिएर आफैंले सिलोटे दिउरोमा चिया पकाएर समाचार सङ्कलन गरेका पत्रकारलाई दिएको दृष्य हेरेकोमा अहिले निज माननीयको नाम लिन सक्दिनँ, तर रातो ‘पासपोर्ट’को धन्दामा लागेका, दलाली गरेका माननीयहरूको नालिबेली मलाई अहिलेसम्म थाहा छ । साविकमा व्यक्तिविशेषको हिसाबले नाकाबन्दीको बेलामा तत्कालीन प्रधानमन्त्री केपी ओलीको अडानलाई, मन्त्रीहरू लालबाबु पण्डितलाई, गोकर्ण विष्टलाई, गगन थापालाई, मुख्यसचिव लीलामणि पौड्याललाई, कार्यकारी निर्देशक कुलमान घिसिङ्लाई समग्र मुलुकका साथै काठमाडौंका जनता जुनसुकै दलका भएपनि दाउरामा खाना पकाएर होस् वा गाडीमा ‘लिफ्ट’ दिएर होस्, नारा लगाएर होस् वा दीपावली गरेर होस् समर्थन र प्रशंसा गरेकै हुन् भने हालको सरकारबाट पनि सुन तस्करीउपरको कारवाही, यातायातको सिण्डिकेट हटाउने सन्दर्भ, रेल–पानीजहाजको व्यवस्थापन, ठेकेदार उपरको कारबाइमा अधिराज्यव्यापी तारिफ भएकै हो । तर ती प्रशंसाको आवाजसँगै केही व्यवसायीको अनुचित (?) प्रभावमा परेर सिण्डिकेटको प्रायः पुनर्वहाली, कार्यक्षेत्राधिकारको विवाद उछालेर र ठूलाबडाको आडेस लगाएर ठेकेदारको कारबाईप्रतिको ढिलासुस्तीलाई भने सचेत नागरिकहरूले नपचाएकै हो, भला सरकारकै समर्थकहरूले प्रतिपक्षीय बिल्ला किन भिर्न नपरोस् ।

यसैगरी सुनकाण्डका भरिया ‘गोरे’ बाहेकका व्यक्तिहरू विभिन्न निहुँमा धरौटीमा निस्कँदै जाँदा, विदेशमा बसेर रगत पसिनाको लिलाम गरी राष्ट्रलाई ‘रेमिट्यान्स’ उपलब्ध गराउने युवाहरूले आफ्नै घरको लागि वा आफन्तलाई उपहार दिनका लागि ल्याएका टेलीभिजन सेट, मोवाइल फोन, सुनमा कर लगाएको प्रसङ्ग पनि सरकारी कदममा होस्टेहैंसे गर्न समग्र नेपालीमन हिच्किचाएकै हो । यी पछिल्ला व्यहोरा उपरका प्रतिक्रिया स्वभावतः नकारात्मक हुँदा अघिल्ला सकारात्मकताहरू छायामा परेको महसुस हुँदोरहेछ । समाचारमा स्वयम् पत्रकारहरूले पनि नकारात्मक सन्देशलाई ‘हटकेक’का रुपमा प्रस्तुत गर्ने गरेको पाइन्छ र अहिले पनि तपाईंका साविकका सकारात्मक सुझाव समेटिएका व्यहोराहरूलाई कतै उल्लेख नगरी नकारात्मता उपरमात्र प्रकाश पारिएको देखिन्छ । यो मानेमा ‘मलाई सिंगापुर नि यै, अमेरिका यै’ ‘आइजा हैजा नर्कतिर लैजा’ जस्ता बोलका गीत बनाएर युवाहरूलाई सकारात्मक सन्देश दिने तपाईंको अहिले यो गीत बनाउँदा दुई दिनमै करिब उक्त गीतको जति ‘भ्यू’ भइसकेकोबाट अड्कल गर्न सकिन्छ । यही चिठीको पनि ‘हाइलाइट क्याप्सन’मा बिग्रेको, भत्केको ब्यहोरा उल्लेखिएछ भने पाठकहरू धेरै र शेयरहरू धेरै भएको हुनेछ ।

जे होस्, प्रस्तुत गीत सुन्दा तपाईंले पहिलो टुक्कामा शिक्षा क्षेत्रलाई समेट्नुभएको रहेछ । हुन पनि शिक्षकहरूले जागिरका लागि स्थायी आयोगको परीक्षामा सामेल भएर नतिजा पर्खन निकै धैर्यता लिनु परेकै हो । बल्ल–बल्ल सफल भएका शिक्षकले आफ्ना सन्तानलाई ‘क वर्गीय’ दुर्गम क्षेत्रमै किन नहोस् – पहुँच भएसम्मका ९० प्रतिशत शिक्षकले आफ्ना सन्तानलाई ‘बोर्डिङ स्कूल’मै पढाएका छन् । यो यथार्थउपर त्यति अनर्थ सोचेको देखिएन । बरु शिक्षा क्षेत्रकै कर्मचारीहरूको समायोजनमा स्थानीय सरकारमा जाँदा ‘वरिष्ठ’ र ‘कनिष्ठ’को ठुलै बबाल सेलाएको छैन, जुन पनि उठाउन पाएको भए राम्रै हुन्थ्यो ।

स्वास्थ्यसेवाको सन्दर्भमा मैले नै ९७ वर्षीय पिताजीलाई गंगालाल हृदयरोग केन्द्र र शिक्षण अस्पतालको आकस्मिक कक्षमा लैजाँदा सुताउने खाट नभएर एउटा खाटमा २÷३ जना बिरामी रहन परेको प्रत्यक्ष भोगाई आलै छ । यस्तो अवस्थाको चित्रण गरी मन्त्रीज्यू र वहाँवरिपरिका व्यक्तिहरूलाई अवगत गराउँदा पनि शायद लगानीको अभाव हो कि ? सुनुवाइ भएनथ्यो । बरु निगमलाई घाटामा लग्न दुईटा वाइडबडी जहाज नकिनी सरकारी अस्पतालको सेवा विस्तार गर्नुपर्थ्यो । त्यसो नगर्नाले र कारवाहीको त्रास नहुनाले सरकारी अस्पतालका जाँचपड्ताल गर्ने मेसिनहरू बिगारेर राखिने अनि त्यही निहुँमा ‘फलानो क्लिनिक’मा आउनु भनेर निम्ता दिइएका उदाहरण पर्याप्तै छन् । अनि दुई वर्षमै घर बनाउने सुब्बाहरू त पाँच प्रतिशत पनि नहोलान् तापनि यो व्यहोरालाई योभन्दा खरो हिसाबले पत्रकार सम्मेलन गरी बहालवाला उपसचिवले प्रधानमन्त्री, मन्त्री, सचिवहरूको नामै किटेर प्रतिक्रिया दिएका थिए । उनको चुनौती र हाँकलाई कसरी सामना गरियो ? उनीमाथि के कारवाही भयो ? भातृनिकायहरूको के प्रतिक्रिया रह्यो ? यो घडिमा जिज्ञासाको विषय बनेको छ । हुन त जुवेन्ली मेलीले हरेक व्यक्ति ‘स्नानघर गायक’ हुन्छ, सङ्गीतको भाषा हुँदैन भनेर सङ्गीतले सबैलाई छुन सक्ने व्यहोरा औंल्याएका थिए । बरु २ वर्षमै घर ठड्याउने र नोकरीको तमाम अवधिभर डेरामा दिन गुजार्न पर्ने खालको कार्यालयीय विभेदलाई मेटाउनेतर्फ सरकार, प्रतिपक्ष र तिनका भातृनिकायहरूको ध्यानाकर्षण हुने खालको सन्दर्भ राखेको भए थप सामयिक हुन्थ्यो ।

राजतन्त्र हटाएर गणतन्त्र ल्याए पनि झन् धेरै राजाहरू भएको सन्दर्भमा मैले व्यहोरेका तत्कालीन पोखरा उप–महानगरपालिकामा काम गर्दा अस्थायी/करारका कर्मचारीलाई अध्ययन बिदा नदिएवापत तत्कालीन स्थानीय विकास राज्यमन्त्रीले तथ्य व्यहोरा सुन्ने धैर्यता नराखी मन्त्रालयका सचिवलाई तुरुन्त सार्नु भन्ने दबाब दिएको व्यहोरा, गोरखामा काम गर्दा नेपाली काङ्ग्रेसका तत्कालीन उपसभापतिले सामान्य औपचारिकताको प्रतिक्रियासमेत नगरी आफ्नो व्यहोरा भनेर फोन काटिदिएको व्यहोरा, हुम्लामा काम गर्दा हिउँ परेर उड्न नपाएका तत्कालीन माओवादीका समानुपातिक तर्फका माननीयले जिल्ला परिषद्को समेत अधिकारप्राप्त स्थानीय विकास अधिकारीका कुराहरू सुन्दै नसुनी त्यहाँ आएर निर्णयपुस्तिका च्यातिइन्छ… भनेका धम्कीका व्यहोरा साँच्चै राजखानदानको शैलीभन्दा फरक थिएनन् । यहाँ त ‘बोल् बोल् माछा मुखभरि पानी’ भन्ने उखानझैँ भएर हो । नत्र पहिले सन्तानका हिसाबले राजाका उत्तराधिकारी मात्र राजा हुन्थे भने अहिले त गणेशमान, गिरिजाप्रसाद, सूर्यबहादुर, प्रचण्ड जस्ता राजनेता र अन्य सहायक नेतृत्वतहमा समेत नेतृत्वको पुख्र्यौलीलाई हस्तान्तरण हुनुलाई राजतन्त्रसँगै तुलना गर्दा राजाका रुपभन्दा के फरक भयो र !

बरु राजतन्त्रमा त एउटा परिवारलाई सुविधा दिँदा पुग्थ्यो । तर अहिले त राष्ट्रपति, प्रधानमन्त्री, उप–प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई मरणोपरान्त सुविधा र सुरक्षाको बन्दोवस्त मिलाउन पर्दछ । ती पदमा जनता पुगेर जनहितको काम गर्न नसकेको भएमात्र जनताको वरिपरि रहनपनि सुरक्षाकर्मी राख्नुपर्ने हो । फेरि अल्पमत र अल्पावधिका सरकार हुँदा र सबै नेताको रहर र वरिष्ठताको आधारमा पालो पुऱ्याउन पर्दा धेरैजनालाई सुविधाको प्रबन्ध मिलाउन पर्नुले राष्ट्रलाई बोझ थपिएको छ । भ्रष्टाचारको विरुद्धमा अनि सुविधाको व्यवस्था र थप गर्ने विषयको हकमा प्रायः सबै दलहरू एकैठाउँमा उभिएको हालैका सुन तस्करी काण्ड, निर्मला बलात्कार र हत्या काण्ड, वाइडबडी जहाज खरिद काण्डहरूमा देखिएको सत्ता र प्रतिपक्षको लोसेपन एवम् घर भएका नेताहरूले घरभाडा बुझेको काण्ड, दोहोरो–तेहोरो इन्धन सुविधा काण्डहरूले प्रमाणित गर्दा बरु जनताको करले संवैधानिक एकल राजतन्त्र पाल्न सस्तो पर्ने जस्तो देखिन आएको छ । यो मानेमा गणतन्त्रमा धेरै राजा भएको सन्दर्भ विचरणीय नै देखिन्छ ।

पाकिस्तानका राष्ट्रपति इमरान खानले आफ्ना ‘बुलेटप्रुफ’ गाडीलगायतका सुविधाहरू लिलाम गरी विद्यालय छाड्न बाध्य भएका बालबालिकालाई सुविधा उपलब्ध गराएका प्रेरणादायी प्रसङ्गहरू बाहिरिएको बेलामा जननेताकी अर्धाङ्गिनी समेत रहेकी महिला राष्ट्रपतिलाई सुविधाका नाममा सेनाको जिम्मा रहने गरी भएपनि डेढ अर्बको हेलिकप्टर, अठार करोडका गाडीहरू खरिद गर्ने, सदर प्रहरी तालीम केन्द्रमा राष्ट्रपति भवन विस्तार गर्ने चर्चा बाहिरिनु अनुपयुक्त नै हो । बरु ‘…चढ्छिन् राष्ट्रपति…’ भनेर ठोकुवा नलगाई ‘…चढ्ने रे राष्ट्रपति…’ भनिनुपर्थ्यो । अझ जनहितार्थ चौधौँ वर्ष जेलनेल भोगेका वर्तमान प्रधानमन्त्रीलाई पनि बालुवाटारमा सुविधासम्पन्न भवन बनाउने जस्ता अहिल्यै नगर्दा बिग्रिहाल्ने प्रकृति नभएका योजनामा लगानी गर्ने चर्चा, सीमा सुरक्षाका लागि नेपाली सेनाहरू नखटाउँदा रातारात ‘जङ्गेपिलर’ सरेर नेपाली भूमि गुमीरहेको टुलुटुलु हेर्न परेको अवस्था, वर्तमानदेखि भुतपूर्वसम्मका नेताहरूको सुरक्षामा सुरक्षाकर्मी खटेको व्यहोरा पनि गीतमा समेट्दा राम्रो हुन्थ्यो ।

वाइडबोडी जहाजको सन्दर्भमा सार्वभौम संसदको समितिले चार अर्ब पैंतीस करोड रकमै तोकेर अनियमितता भएको ठहर गर्दा सरकारले अर्को छानवीन समिति गठन गर्नु, त्यसका पदाधिकारीहरूले कार्यादेशसमेत नपाएको चर्चा बाहिरिनु कतै नेपाली कांग्रेसका पालादेखि शुरु भएको नेपाल वायु सेवा निगमलाई ठूलो जहाज खरिद गर्ने प्रकरणमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमेत मुछिएपछि प्रकरण सेलाएको जस्तो देखिनु कतै ठूलै नेता भ्रष्टाचारमा लागेकाले सुन तस्करहरू पनि जेलमै छन् कि छुटे भनेर जनआवाजलाई गीतले मुखरित गरेको छ । जहाँसम्म कार्यकर्ताको विषयमा ‘..कुकुर जस्तै भुक्छन्..’ भन्ने व्यहोरा छ, त्यो ‘कुकुर’ शब्दमा ‘कुकुरको गुहुखाने बानी’सँग तुलना सार्थक देखिँदैन । त्यसो भएपछि ‘कुकुर’ शब्द ‘इमान्दारिता’, ‘स्वामिभक्ति, ‘मालिक रिझाउने’ प्रसङ्गसँग मिलाउनु पऱ्यो । हुनपनि जुनसुकै दलका कार्यकर्ताहरू पनि आफ्ना नेतागणबाट आएको व्यहोरा मन परे वा नपरेपनि जस्ताको तस्तै भावमा भनिरहेकै हुन्छन् । अनि ‘भन्नु’लाई कुकुरसँग मिलाउँदा ‘भुक्नु’ नै भनिन्छ । त्यसकारण युवासङ्घका नेताले कार्यकर्ता भनेको हाम्रो दलका र हामीमात्रै हौँ अरु दलमा कार्यकर्तै छैनन् भनेझैँ कार्यकर्तालाई गरिएको इमान्दार प्राणीसँगको तुलनालाई ‘हामीलाई कुकुर भन्ने?’ भन्नु त साविकका सरकार र अन्य दलका कार्यकर्ताबीचको व्यहोरा पनि आफैंले शिरोधार्य गरेजस्तो बुझिने देखिंदा त्यसो गर्नुनपर्ने हो ।

बहुदल आउँदा वित्तिकै नेपाली काङ्ग्रेसका किसुनजी प्रधानमन्त्री हुँदा काठमाडौंको सडक मेलाम्चीको पानीले पखालेर सिंगापुर जस्तो सफा बनाउने भाषण गर्नुभएको र हालसम्म काङ्ग्रेसकै सरकार सत्तामा बढी आरुढ भएपनि अहिलेसम्म काठमाडौंवासी ‘काकाकुलै’ रहनपर्नु र वर्तमान प्रधानमन्त्रीले मुलुकभर ‘डोजर चालक’को इञ्जिनियरिङमा दकल्च्याइएका धर्तीहरू र शहरहरूमा परेका खाल्टाखुल्टीदेखि सडक विस्तारमा देखिएका अवरोधहरू हटाउनतर्फ नलागी सपना देख्नचाहिँ पर्ने तर तत्कालैको आवश्यकतामा समेटिनु नपर्ने रेल र पानीजहाज ल्याउने कुराको रटान गरी कार्यालय खोलेर दुहाइ दिनु, जनताका भान्सामा ग्याँसपाइप, विजुलीका चुल्हा जोडिदिन्छौँ भन्नु आफैंमा ‘ठूला भाषण’ नै हुन् । आखिर सीमित साधन भएकाले छाता र कोटमध्ये एक चिज मात्र किन्नसक्ने हैसियत छ भने कुन मौसममा छु भनेर पनि प्राथमिकता तोक्नुपर्छ भन्छन् योजनाविद्हरू ! गीतमा नेताहरू ठूला भाषण गर्छन् भन्नु अतिशयोक्ति होइन नै ।

समुद्रसतहदेखि केबल ७२ मिटरको भूभागबाहेकको सबै भूमि समेटिएको हाम्रो स्वर्गजस्तो मुलुकमा ‘इन्द्र’ जस्ता राजनेताले नभई ‘यमराज’ जस्ताले शासन गर्दा हजुरबाउदेखि आज नातिसम्मले विकास देख्न बिमुख भयौँ भन्ने गीतमा पोखिएको भाव बिल्कुलै सङ्गत देखिन्छ । बरु ‘यमराजको शासन’पछि नेकपाको झण्डा राखिएको सन्दर्भ बहुचर्तित भएको पाइयो । तर त्यस फुटेजमा देखिएको दृष्यमा त नेकपाको झण्डा बोकेको जुलुस तत्कालीन शासनको (यमराजको) विरोधमा उत्रिएको जस्तो देखिन्छ, जुन भनेको अहिलेको सरकारको विरुद्धमा त होइन नि ! यो मानेमा यसलाई हतोत्साही र नेकपालाई आक्षेप भनेर बुझ्नु फुटेजको आधारमा उपयुक्त देखिन आउँदैन ।

दाङको एउटा घुम्तीमा ट्राफिक चिन्ह नहुँदा गाडी दुर्घटनामा परेर ३० जनाले ज्यान गुमाउन परेको, काठमाडौंलगायतका ठूला सहरहरूमा ट्राफिक बत्तीसमेतको व्यवस्था नगर्दा पैदल यात्रु र गाडीहरूलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीहरूलाई हम्मे परेको अवस्थालाई अनदेखो गरी मुख्य शहरहरूमा ट्राफिक बत्ती, दूरदराजमा ट्राफिक चिन्हको व्यवस्था मिलाउने काम बारेमा आजसम्म कुनै सरकार जानकार हुनुपर्ने हैन ? अनि जनताको तहबाट सम्झाउन पर्ने बेला आएकै हो त भनेर वर्तमान सरकारलाई साना तर प्रभावकारी लगानीको क्षेत्र देखाइदिनु सचेत नागरिकको कर्तव्य हो, जुन तपाईंले गीतबाट निर्वाह गर्नुभएको देखिन्छ ।

ठेकेदारको अभद्रतासमेत फुटेजमा देखाउँदै ठेक्का पारेपछि सम्झौता गरी ‘मोविलाइजेसन पेश्की’ लिएर बेपत्ता हुने, समयमा काम नगरिदिँदा वर्षैच्छिे लागत बढ्दै जाने गरेको व्यहोरालाई अनदेखो गरी ठेकदार उपरको कारबाइलाई कार्यक्षेत्राधिकारको विवाद उछालेर र ठूलाबडाको आडेस लगाएर ढिलासुस्ती गरेकोप्रति सचेत नागरिकहरू चनाखो भइरहेकै बेलामा गीतले तथ्यको उजागर गरेकै देखिन्छ । बरु ‘…सम्झनालाई लुट्नै पर्छ भन्ने मात्रै रह्यो…’ को सट्टा ‘..सम्झनालाई लुट्नै पर्ने हो कि जस्तै भयो…’ भन्न पाएको भए अझ श्रवणनीय हुने थियो कि !

अन्तिम टुक्कामा सङ्घ–सङ्गठनमा लागेर ड्याङ्डुङ गर्ने सुब्बा खरिदारले पनि सचिवको कुर्ची हल्लाउने गरेको यथार्थमा उभिएर हेर्दा केही गर्न नसक्नेलाई ‘सोझो’ नभनी ‘नामर्द’ भन्छन् । यतिका प्रसङ्गहरू सुनाउँदा त केही चेत पसेहोला नि ! भन्दै माइत हिँँड्न लागेकी श्रीमतीलाई बसालेर सन्देश दिनुभएको छ ।

हाम्रै मुलुकमा रातारात सीमा खुम्चिँदा, लिपुलेक, लिम्पियाधुरा, कालापानीमा भारतीय आक्रमण नदेख्ने नेता र दलहरूले अमेरिकाले भेनेजुएलामा गरेको अतिक्रमण देखी गरेको प्रतिक्रिया, करिब २०–२५ प्रतिशत निरपेक्ष गरीबीको रेखामुनि रहेको जनसंख्यालाई स्वदेशमा रोजगारी सिर्जना गर्ने केवल विकास निर्माणको काममा ६ महिना बित्दा झण्डै २५ प्रतिशत मात्र बजेट खर्च भएको यथार्थता, सोही कारणले अहिले पनि वर्षादको पानीमा पिच छरेर घोटाला हुने सत्यउपर पनि गीतमा समेट्न पाएको भए अरु राम्रो हुन्थ्यो होला ।

जेहोस्, शुरुमै ‘पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ, तर देश र जनताको निस्वार्थ रूपले माया गर्ने न त कुनै नेता भेटेँ न त अरु कोही …’ भन्ने व्यहोरा लेखी अन्त्यमा ‘यो विशुद्ध ब्यङ्ग्यात्मक गीत हो, गीतको ब्यङ्ग्य बुझौँ, देश लुट्नेलाई वहिष्कार गरौँ’ भनी बिट मारेको तपाईंलाई लोकतान्त्रिक गणतन्त्रात्मक सरकार भएको बेलामा अनावश्यक दबाब नआउनु पथ्र्यो । संयोग, यो टाइप गर्दागर्दै कतैबाट दबाब नगरिएको र पुनः ‘अपलोड’ गर्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट निर्णय भएको जानकारी आयो । संसदमा पुरस्कार र पदकको कुरा चल्यो रे ! कतै विद्यानन्द माझीलाई जस्तो देलान् नि ! ख्याल गर्नुहोला !

अन्त्यमा गैरराजनैतिक हिसाबको कलाकार तपाईंलाई यस गीतले चर्चाको शिखरमा पुऱ्यायो भने राजनैतिक हिसाबले विरोध गर्नेहरूको मतमा ह्रास भएको छ । समर्थन गर्नेहरूको मतमा चाहिँ वृद्धि भएको छ । यसबाट तपाईंलाई प्रतिपक्षीको बिल्ला भिराइए पनि तपाईंको प्रतिभाबाट प्रफुल्लिएको मत बढोत्तरी भएको छ । आफ्नो सिर्जनाको निखारलाई अरु तिखार्दै अघी बढ्न सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गरेर बिदा हुन्छु ।

…सके सपारौँ, नसके नबिगारौँ…

२०७५ फागुन ६ गते सोमबार, तपाईंको शुभचिन्तक

तिलक पौडेल
आँधीखोला–२, स्याङ्जा
हाल : लेकवर्थ, फ्लोरिडा, अमेरिका