कोलम्बिया यात्राको रोचक सम्झना–२

कोलम्बिया यात्राको रोचक सम्झना–२


  • छत्रबहादुर मैनाली

    ठूलो आशा र भरोसा राखेर शुरुवात गरेको व्यवसायले नसोचेको परिणाम हात लागेपश्चात् अनेकन अप्ठ्यारा परिस्थितिको सामना गर्नुपऱ्यो । साँच्चिकै कठिन मोडमा पुगेर परिस्थितिले परीक्षा लिँदै थियो । व्यावसायिक असफलता, निकटतम् विश्वास गरिएकाबाट विश्वासघात, आर्थिक अवस्था कमजोर हुँदै जानु, कुन दिशामा अगाडि बढ्ने भन्ने दोधारको स्थिति थियो । ‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी’ भनेझैँ परिस्थितिले सबैलाई टाढा पार्दै लगेको थियो । बजार, वस्तुस्थिति नबुझेर व्यवसायमा हात हालेको कारण असफलता हात लागेकोमा दुईमत थिएन । तर, त्यो घटनाले विगतमा आफूले भोगेका अनगिन्ती घटनाक्रमलाई गहिरोसँग समीक्षा गर्ने अवसर दियो । प्रसङ्गवश विगतको अनुभवलाई सारांशमा उल्लेख गर्ने अनुमति चाहन्छु ।

मेरो जन्म सिन्धुली जिल्ला, शान्तेश्वरी गाविस रामपुर अब्जसेमा भएको हो । पुस्तौँदेखि हाम्रा पूर्वजहरू खेती–किसानी पेसामा आबद्ध भएकाले मेरो बाल्यकाल सामान्य ढङ्गले बित्यो । उकाली–ओराली, घाँस–दाउरा, खेतीपाती, गोठालो गरेर स्कुल भ्याउनुपथ्र्यो । स्कुलनजिकै घट्ट भएकोले स्कुल जाँदा मकै, कोदो, गहुँ पिसान गर्न लानुपथ्र्यो । जब स्कुल छुट्टी हुन्थ्यो पिसेको भारी लिएर घर फर्किन्थ्यौँ । गाउँमा न बिजुलीबत्ती न त मोटरबाटोकै पहुँच थियो । भौगोलिक रूपले विकट पिछडिएको गाउँघरमा सम्पन्न पारिवारिक पृष्ठभूमि भए पनि माथिका दिनचर्याको विकल्प थिएन । विकासको मूलधारले छुन नसकेको गाउँघर अन्धकारमयजस्तै थियो । समय यस्तोसम्म थियो कि रेडियोमा समाचार सुन्नसमेत छिमेकीको घरमा धाउनुपर्दथ्यो । गाउँघरमा कसैकसैका इष्टमित्र शहरबजारमा रोजगार, व्यवसाय गरेर बस्नेहरूले गाउँमा रहेका परिवारका निम्ति रेडियो, घडी, टेपरेकर्ड लगेका हुन्थे । त्यो नै छरछिमेकीका निम्ति सञ्चारको माध्यम भइदिन्थ्यो । टेलिभिजन कल्पनाभन्दा बाहिरको विषय थियो ।

अभावग्रस्त समाजको नियतिले युवा वर्गलाई गाउँघर छोडेर सुखद भविष्यको खोजीमा अगाडि बढ्न प्रेरित गथ्र्योे । परिस्थितिको नियतले कतिपय पारिवारिक सरसल्लाहमा त कतिपय पारिवारिक अनुमतिबेगर नै गाउँ छाडेर परदेश भासिन्थे । केही दिनअघि हाम्रै गाउँका युवा देवसागर कर्माचार्य (अहिले दुबईमा कार्यरत) ले भौगोलिक विकटता, शिक्षा, सीप, सरसङ्गत, अवसर र एकताको अभावले हामी र हाम्रो समाज पछाडि परेको गुनासो सुनाउँदा आफ्नै मनले बोलेको बराबर लाग्थ्यो । त्यो अभिव्यक्ति हामी सबैको सामूहिक गुनासा र समस्या थिए । आज मुलुकमा राजनीतिक दलहरूले भनेजस्तो सिङ्गापुर, स्वीट्जरल्यान्ड मोडलको विकास गरिदिएका भए जीवनमा निराशा र गुनासाको पोको बोकेर युवापिँढीले परिवारबाट विछोड भएर परदेशमा सङ्घर्र्ष गर्नुपर्दैनथ्यो ।

जो पारिवारिक सरसल्लाहबेगर भागेर शहर पस्थे । त्यसमध्ये कोही–कोहीलाई सामाजिक प्रतिष्ठाको कारण शहरबाट खोजेर गाउँमा फिर्ता ल्याउने गर्दथे । यस्तो दृश्य बेलाबेलामा देखिने गर्दथ्यो । सबैभन्दा बढी भाग्ने युवावर्गको आकर्षणचाहिँ शहरमा रोजगारी गरेर फर्कनेहरू नयाँनयाँ कपडा, जुत्ता, घडी, क्यामेरा, चस्मा, घाँटीमा रुमाल, एक हातमा टेपरेकर्ड झुन्ड्याएर, जुल्फी कट कपाल, जिउ ज्यान खाइलाग्दो, लिभाइजको जिन्स पाइन्ट, बुटजुत्ता, पिठ्युँमा झोला भिरेर बडो ठाँटका साथ आएको देखेर आकर्षित थिए । छिमेकीहरू पनि आफ्ना सन्तानलाई शहर पठाउन सके यस्तै प्रगति देख्न पाइन्थ्यो भन्ने मनमनै सपना देख्थे । कतिले चिनाजानको आधारमा भनसुन गरेर तिनका साथ लगाएर शहर पठाइदिन्थे । कतिपयले खान, बस्न र पढ्ने सुविधा दिनुपर्ने, त्यसबापत घरेलु काम गर्ने सर्तमा आफ्ना कलिला सन्तानलाई उज्ज्वल भविष्यको सपना देखेर शहर पठाउने गर्दथे । किनकि शहरमा राखेर तिनलाई शिक्षादीक्षा दिन सक्ने हैसियत जोकोहसँग हुँदैनथ्यो । शहर गएकामध्ये सबै भाग्यमानी हुँदैनथे । कतिपय घरेलु हिंसाका सिकार बन्थे कतिले यातना सहन नसकेर बसेको ठाउँ छाडेर भाग्ने गर्दथे । एकसरो कपडा, एक पेट खाना र सरकारी स्कुलको शिक्षा हासिल गर्न बँधुवा बालमजदुरको जिन्दगी जबर्जस्ती स्वीकार्न बाध्य थिए । बालश्रम शोषण र घरेलु हिंसाको चरम पराकाष्ठा थियो त्यो ।

त्यो समयको साक्षरता भनेको एउटा तमसुक, चिठीपत्र लेख्न या पढ्नुपरेमा, गाउँभरि खोजी गर्दा त्यस्ता व्यक्ति भेट्न मुस्किल पर्दथ्यो । पढेलेखेको वर्ग खासै थिएन । तर, समाजमा भाइचारा, सहिष्णुता, सामाजिक एकता, रीतिरिवाज, मान–मर्यादा, न्याय–निसाफमा अहिलेको पढेलेखेको वर्गभन्दा तिनको स्थान उचो थियो । जातभात, छुवाछूतको विषयमा समाजको धारणा केही सङ्कुचित भए पनि विकल्पको माध्यमले सामाजिक एकता बलियो थियो । प्राकृतिक सिद्धान्तको आधारमा मिलेर बसेको नमुना समाज थियो । अहिले सम्झँदा गर्वले छाती फुल्छ ।

हामी अध्ययन गर्ने स्कुलमा नियमित कक्षाबाहेक अतिरिक्त क्रियाकलाप हुने गर्दथ्यो । जस्तै, हाजिरीजवाफ प्रतियोगिता, खेलकुद, वनभोज, नाचगान, नाटक, वादविवाद प्रतियोगिता आदि । वनभोजबाहेक हुने अतिरिक्त क्रियाकलाप प्रायः निःशुल्क हुन्थ्यो । वनभोज जान भने शुल्क लाग्थ्यो । यस्ता अतिरिक्त क्रियाकलापको निम्ति लाग्ने शुल्कबाट प्रायः अभिभावकहरू तर्किन्थे । किन वनभोज जानुपऱ्यो भन्थे । तर, हामीलाई जसरी पनि जान पाउनुपर्ने ढिपी हुन्थ्यो । तर, कतिपयको विकल्पमा साथीभाइले सरसापट दिएर काम चलाइदिन्थे । कतिले पछि तिर्ने सर्तमा कतिले तिर्न नपर्ने सर्तमा । हाम्रो समूहमा एकै कक्षामा अध्ययन गर्ने विष्णुकुमार कर्माचार्य (हाल घ्याङलेख गाउँपालिका वडा नम्बर ५, सिन्धुलीको अध्यक्ष) त्यस्तो पात्र थियो साथीभाइको निम्ति गर्धन थाप्न सक्ने । सानोतिनो आर्थिक सरसहयोग गर्न सक्ने । ऊ पहिलेदेखि अति मिलनसार स्वभावको थियो । जहिले पनि साह्रो–गाह्रो पर्दा साथीभाइको सुखदुःखमा साथ दिन्थ्यो । हामीलाई धेरैपटक त्यस्तो गुण लगाएर ऋणी बनाएको छ । त्यो गुण कहिले बिर्सन सकिन्न ।

समय यस्तै अनेकन अनुभवका साथ बित्दै गयो । असार महिनाको अर्धवार्षिक परीक्षा सकेको भोलिपल्ट हामीसँगै अध्ययन गर्ने कान्छामान वाइबा, गंगाबहादुर वाइबा, रमेशकुमार कर्माचार्य र मसहितले काठमाडौं भाग्ने सल्लाह गऱ्यौं । परीक्षा सकिएपछि स्कुलमा वर्षे बिदा हुन्थ्यो । स्कुल बिदामा भागेर काठमाडौं र जाने त्यहाँ कतै काम खोजेर बस्ने निधो गऱ्यौं । त्यसको निम्ति आर्थिक जोहो गर्नु ठूलो चुनौतीको विषय थियो । हामीमध्ये छिटो पैसा जोहो गर्न सक्ने रमेश मात्र थियो । किनकि रमेशको बुबाको रामपुर बजारमा चल्तीको किराना पसल थियो । योजनाअनुसार रमेशले पसलमा सघाएको बहाना गरेर पैसा निकाल्ने, गंगाले घरमा चाबी हात पारेर सन्दुकमा भएको रकम निकाल्ने, कान्छामानले सकेको प्रयास गरेर पैसाको जोहो गर्ने, मेरो हकमा भने घर गएर जोहो गर्न सम्भव थिएन । घरबाट स्कुल टाढा पर्ने हुँदा बजारमा रमेशको बुबाको घरमा कोठा लिएर पढ्न बसेको थिएँ । मसँग छुट्टीमा घर जाँदा फी तिर्न भनेर तोरी बेचेर आएको रकम मध्ये ८० रुपैयाँ थियो । त्यो समय सस्तो थियो, थोरै पैसाले धेरै खर्च धान्न सकिन्थ्यो । (क्रमशः)

यसअघिको पढ्नुहोस्-

कोलम्विया यात्राको रोचक सम्झना
https://www.ghatanarabichar.com/137019