सीताराम मास्के स्मृति सेपाकताक्रो तयारी गर्नुस् : विष्ट

सीताराम मास्के स्मृति सेपाकताक्रो तयारी गर्नुस् : विष्ट


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले सीताराम मास्के स्मृति राष्ट्रिय सेपाकताक्रो प्रतियोगिता आयोजनाका लागि नेपाल सेपाकताक्रो संघलाई तयारी गर्न निर्देशन दिएका छन् । राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) र सेपाकताक्रो संघको संयुक्त आयोजनामा फागुन ६ गते सोमबार सम्पन्न सेपाकताक्रोको राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कोर्समा सदस्यसचिव विष्टले प्रतियोगिताका लागि तयारीका निर्देशन दिएका हुन् ।

‘प्रत्येक वर्ष उहाँ (सीताराम मास्के) को स्मृतिमा प्रतियोगिता आयोजना गर्ने गरी तयारी थाल्नुस् । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदले सक्दो सहयोग गर्नेछ,’ सेपाकताक्रो संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका सदस्यसचिव विष्टले भने । स्व. मास्के सेपाकताक्रो संघका संस्थापक अध्यक्ष हुन् ।

६ दिने कोर्समा विभिन्न २० जिल्लाबाट २४ को सहभागिता रहेको थियो । त्यसमा संखुवासभाका मेघराज तोलंगी, नवलपुरका विजय महतो र सप्तरीकी कल्पनाकुमारी चौधरी क्रमशः शीर्ष तीन स्थानमा रहे । सहभागिलाई थाइल्यान्डका प्रशिक्षक सोकितले प्रशिक्षण दिएका थिए । सहभागीलाई सदस्यसचिव विष्टले एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरे ।