भेट्रान्स बास्केटबलको उपाधि ठमेल युनाइटेडलाई

भेट्रान्स बास्केटबलको उपाधि ठमेल युनाइटेडलाई


कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित ‘तेस्रो कुँवर ब्रदर्श एन्ड सन्स राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५को उपाधि काठमाडौंको ठमेल युनाइटेडले जितेको छ । फाइनल खेलमा ठमेल युनाइटेडले आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गर्दै उपाधि हासिल गरेको हो ।

उपाधिसँगै ठमेल युनाइटेडले नगद ५५ हजार ५ सय ५५ र उपविजेतामा बनेको कास्की जिल्ला बास्केटबल संघले नगद ३३ हजार ३ सय ३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा कास्कीका खेलाडी रविन शाही उत्कृष्ट खेलाडी घोषित भए भने ठमेल युनाइटेडका कर्मा गुरुङले सर्वाधिक स्कोरर घोषित हुँदै विशेष ट्रफी प्राप्त गरेका छन् ।

विजयी टिमका खेलाडीलाई एसएसपी नरोत्तमलाल प्रधान, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ, क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, डीएसपी गोविन्द पुरी, सोसल पब्लिकका संस्थापक खिम गुरुङलगायतले पुरस्कार प्रदान गरेका थिए । त्यस्तै समापन कार्यक्रममा नेपाल बास्केटबल संघका पूर्वउपाध्यक्ष एवं नेपाल सेभेन ए साइडका अध्यक्ष नवीन पुनलाई सम्मान गरिएको थियो ।

४० वर्षदेखि माथि उमेर समूहका खेलाडीको रहेको उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । जसमा काठमाडौंको ठमेल युनाइटेड, तनहुँ जिल्ला बास्केटबल संघ, एक्स अम्बर सिंहको ए र बी, लामाचौर भेट्रान्स तथा आयोजक कास्की जिल्ला बास्केटबल संघको टिमले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।