वरिष्ठ तेक्वान्दो प्रशिक्षक गुरुङलाई उपनिर्देशकको जिम्मेवारी

वरिष्ठ तेक्वान्दो प्रशिक्षक गुरुङलाई उपनिर्देशकको जिम्मेवारी


राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ तेक्वान्दोे प्रशिक्षक ध्रुवबहादुर गुरुङलाई राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय टिम तयारीको उपनिर्देशकको जिम्मेवारी दिएको छ । राखेपको फागुन ५ गतेको निर्णयअनुसार राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको उपनिर्देशकको जिम्मेवारी गुरुङलाई दिइएको हो ।

यसअघि गुरुङ राष्ट्रिय खेलकुद परिषदअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको नायव वरिष्ठ तेक्वान्दो प्रशिक्षकको रूपमा कार्यरत थिए । जिम्मेवारीसँगै गुरुङलाई सम्बन्धित सबैसँग समन्वय गरी परिषदको ऐन, नियम र नियमावलीबमोजिम कामकाज गर्न निर्देशनसमेत दिइएको छ ।

त्यस्तै, राखेपले प्रशासन विभाग, तालिम तथा प्रशिक्षण विभाग, आर्थिक प्रशासन शाखा, कर्मचारी प्रशासन शाखा र राष्ट्रिय टिम तयारी सातदोबाटोलाई यसको बोधार्थ पठाएको छ ।

गुरुङ यसअघि नेपाल तेक्वान्दो संघका मुख्य प्रशिक्षक थिए । राष्ट्रिय तेक्वान्दो टिमलाई लामो समयसम्म प्रशिक्षण दिएर गुरुङले नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउन अहं भूमिका निभाएका थिए । मुख्य प्रशिक्षकको कार्यकाल सकिएपछि तालिम तथा प्रशिक्षण विभागमा कार्यरत गुरुङ अहिले राष्ट्रिय तेक्वान्दो संघ नेपालको वरिष्ठ उपाध्यक्ष भएर तेक्वान्दो खेलको विकास र विस्तारमा अहोरात्र खटेर लागेका छन् ।