मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान

मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान


वार्षिक औसत मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने संशोधित अनुमान छ । आर्थिक क्रियाकलापमा भइरहेको विस्तारले आर्थिक वृद्धिको आशालाग्दो परिदृश्य देखाएको छ । कृषि उत्पादनमा भएको वृद्धि, उद्योगहरुको क्षमता उपयोगमा आएको सुधार, निर्माण कार्यमा देखिएको तीव्रता, पर्यटन क्षेत्रसँग सम्बन्धी गतिविधिमा आएको विस्तार तथा कर्जाको वढ्दो मागका कारण आर्थिक वृद्धिले गत दुई वर्षको औसत प्रवृत्तिलाई निरन्तरता दिने संकेत देखिएको छ ।

समष्टिगत आर्थिक स्थायित्वको पक्षतर्फ हेर्दा मुद्रास्फीति नियन्त्रित नै रहने देखिन्छ । बढ्दो आन्तरिक मागले मुद्रास्फीतिमा चाप पर्ने भएतापनि अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावट, छिमेकी मुलुकमा रहेको न्यून मुद्रास्फीति तथा आन्तरिक आपूर्ति व्यवस्थामा आएको सुधारका कारण वार्षिक औसत मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने संशोधित अनुमान छ ।

समष्टिगत आर्थिक स्थायित्वको अर्को निर्धारक वाह्य क्षेत्र व्यवस्थापनमा भने दवाव उत्पन्न भएको छ । विप्रेषण आप्रवाहमा देखिएको उल्लेख्य प्रगतिका वावजूद आयात वृद्धिको उच्च दर कायमै रहेमा चालु खाता र शोधनान्तर घाटामा थप चाप पर्ने देखिन्छ ।

निजी क्षेत्रतर्फको कर्जा तथा विस्तृत मुद्राप्रदायको विन्दुगत वृद्धिदर वार्षिक मौद्रिक नीतिले तय गरेको सीमाभन्दा केही माथि रहेको देखिन्छ । बैंकिङ्ग क्षेत्रबाट उच्च दरमा विस्तार भएको कर्जाका कारण समेत बाह्य क्षेत्र व्यवस्थापनमा दवाव परेको हो ।