तिलोत्तमा गोल्डकप : च्यासल काठमाडौँ क्वार्टर फाइलनमा

तिलोत्तमा गोल्डकप : च्यासल काठमाडौँ क्वार्टर फाइलनमा


च्यासल युथ क्लब, काठमाडौँ २१औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा च्यासलले सिएमजी सङ्कटा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । च्यासलको जीतमा दुवै गोल दोस्रो हाफमा भए । पहिलो हाफ गोलरहित बराबरी खेलेको च्यासलले दोस्रो हाफ शुरु भएलगत्तै गोल गर्न सफल भएको थियो । च्यासलका लागि पहिलो गोल ४९औँ मिनेटमा अफ्रिकी खेलाडी अर्मण्डले गरे ।

पहिलो गोल गरेको पाँच मिनेट बित्न नपाउँदै ५३औँ मिनेटमा सजिन थापा मगरले च्यासलका लागि दोस्रो गोल गरे । खेलमा च्यासलका लागि पहिलो गोल गरेका अर्मण्ड ‘म्यान अफ दी म्याच’ समेत घोषित भए । यो जीतसँगै क्वार्टर फाइनलमा प्रवेश गरेको च्यासलले फागुन ९ गते लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगिताअन्तर्गत मङ्गलबारकोे खेल विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली दार्जि्लिङ युनाइटेड, भारतबीच हुने आयोजकले जनाएको छ ।