भेनेजुएलाद्वारा पाँच युरोपेली सांसद देश निकाला

भेनेजुएलाद्वारा पाँच युरोपेली सांसद देश निकाला


भेनेजुएला सरकारले भेनेजुएला भ्रमणमा रहेका पाँचजना युरोपेली सांसदलाई देश निकाला गरेको छ । विपक्षी नेता हुँवा गुएइदोले सरकारको उक्त कदम ‘अविवेकी’ रहेको बताएका छन् । युरोपेली संसदका सदस्यलाई देश निकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुएला सरकारले नखुलाएको टोलीनेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद एस्टब्यान गोन्जालेज पोन्सले बताए ।

सांसद पोन्सले भने, ‘हामीलाई भेनेजुएला छाड्न भनिएको छ । हाम्रो पासपोर्ट खोसिएको छ । देश निकाला गर्नुपर्ने कारणबारे सरकारले हामीलाई केही बताएको छैन ।’ यो पछिल्लो घटनाले राष्ट्रपति निकोलास मादुरो र अन्तर्राष्ट्रिय समुदायबीचको तनाब अझ बढाएको छ । गत महिना राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका विपक्षी नेता हुँवा गुएइदोले मुलुकको अन्तरिम राष्ट्रपति आफू रहेको घोषणा गरेयता शक्ति–संघर्ष चरम अवस्थामा पुगेको छ ।

गुएइदोलाई ५० भन्दा बढी देशले समर्थन गरेका छन् । तीमध्ये युरोपका ३० वटा देश रहेका छन् । देश छाड्न आदेश दिइएका अरू सांसदहरूमा जोजे इग्नासियो सालाफ्रान्का, ग्याब्रिएल माटो आद्रोभर, एस्थर डी लान्गे र पाउलो रान्जेल रहेका छन् । उनीहरू सबै युरोपेली पिपुल्स पार्टीका सदस्य हुन् ।

विपक्षी नेता गुएइदोले भेनेजुएलाका निम्ति मित्रराष्ट्रले पठाएको आतकालीन मानवीय राहत सामग्री देशभित्र ल्याउन आमनागरिकसमक्ष अपिल गरेका छन् । भेनेजुएलासँग सीमा जोडिएको कोलम्बियाको कुकुटामा खाद्यान्न, सरसरफाइका सामान तथा पोषणयुक्त खाद्य आइपुगेको छ । तर, त्यसलाई भेनेजुएला प्रवेश गर्न सरकारले अनुमति दिएको छैन । ब्राजिल र भेनेजुएलासँगै सीमा जोडिएको कुराकाओमा पनि सामग्री भण्डारहरू स्थापना गर्ने तयारी थालिएको छ ।

‘हाम्रो मुख्य लक्ष्य नै फेब्रुअरी २३ सम्ममा दश लाख स्वयंसेवी परिचालन गर्ने भन्ने हो,’ गुएइदोले बताए । करिब ६ लाख भेनेजुएलावासीले सीमामा रोकिएको सहायता देशभित्र ल्याउन हस्ताक्षर गरिसकेका छन् । विपक्षी नेता गुएइदोले सबै स्वयंसेवीलाई सीमामा गई सामग्री देशभित्र ल्याउन आह्वान गरेका छन् ।

अमेरिकी सिनेटर मार्को रुबियो सहायताकार्यको प्रत्यक्ष अवलोकनका लागि आइतबार कुकुटा पुगेका छन् । उनले कोलम्बिया र भेनेजुएला जोड्ने सिमोन बोलिभार अन्तर्राष्ट्रिय पुलको पनि निरीक्षण गरेका छन् । तीनवटा अमेरिकी सैनिक कार्गो विमानले दर्जनौँ टन खाद्य सामग्री कुकुटा ल्याएका छन् ।