महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै

महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै


चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पछिल्ला वर्षमा नयाँ अनुमति नदिइएको भए पनि पुरानाको नवीकरण भइरहेको छ । तीमध्ये भरतपुर महानगरपालिकाका मात्रै ६८ जना रहेका छन् ।

यसैगरी खैरहनी नगरपालिकाका आठ जना, रत्ननगर नगरपालिकाका चार जना र माडी नगरपालिकाका एक जना रहेका छन् । अन्य जिल्लामा घर भएर निकुञ्ज हुँदै बग्ने नदीमा माछा मार्नका लागि करीब ३०० जनाले अनुमति लिएको उनले बताए ।

हाते जाल प्रयोग गरी माछा मार्नका लागि अनुमति लिने अधिकांश बोटे समुदायका रहेका छन् । उनीहरुको परम्परागत पेशा माछा मार्ने हो । अनुमति पत्र लिनेहरुले महाजाल, विष प्रयोग गर्न पाउँदैनन् । यद्यपि यस आर्थिक वर्षमा महाजालमा परेर तीन वटा गोही राप्ती नदीमा मरेका छन् । गत वर्ष नारायणी नदीमा एउटा भाले गोही महाजालमा परेर मरेको थियो । लुकीछिपी महाजाल प्रयोग भइरहेको छ ।

नदीमा जाल प्रयोग गरेर माछा मार्नेहरुले राम्रो आम्दानी गर्न सकेको पाइँदैन । यद्यपि यसबाट जलचरमा प्रभाव परेको संरक्षणकर्मीहरुले बताउँदै आएका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदीमा आश्रितलाई वैकल्पिक रोजगारीको व्यवस्था गरेर नदीप्रतिको निर्भरता घटाउनेतर्फ लाग्नुपर्ने बताए । यही पेशाबाट जीवनस्तर उकास्न सम्भव नहुने भएकाले राज्यले वैकल्पिक व्यवस्था गर्नुपर्ने दाहाल बताइन् ।

विश्वबाटै लोप हुँदै गएको घडियाल गोहीको मुख्य बासस्थान नारायणी र राप्ती नदी हो । घडियाल गोहीले माछा मात्रै खाने गर्दछ । मानिसले माछा मार्दा घडियालको आहारा कम हुने हुँदा गोही संरक्षणमा समस्या पर्दै आएको छ ।