सरकारले बुझेन- ‘इतिहासमा बोली होइन कर्म लेखिन्छ’

सरकारले बुझेन- ‘इतिहासमा बोली होइन कर्म लेखिन्छ’


सरकारले आफ्नो वर्षदिनको काम देश र जनताको हितमा सार्थक रहेको दाबी गरिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार थर्ड डिभिजनमा पनि पास हुन नसकेको टिप्पणी गरेको छ । सहज राजनीतिक वातावरण र दुई तिहाइको बहुमतका बाबजुद एक वर्षको सुनौला दिनलाई सरकारले व्यर्थमा खेर फालेको आरोप काङ्ग्रेसले लगाएको हो ।

वर्तमान सरकार गठन भएको वर्ष दिन पुगेको सम्बन्धमा काङ्ग्रेसले आइतबार आफ्ना धारणा सार्वजनिक गर्दै सरकारले नागरिकको अपेक्षाअनुसार शान्ति सुरक्षा, सुलभ बजार मूल्य र भरोसा कायम गर्न नसकेको आरोप लगायो ।

केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ओली सरकारले एक वर्षमा मधेशका माग सम्बोधन गर्न संविधान संशोधनमा कुनै प्रक्रिया अघि नबढाएको उल्लेख गर्दै डा. गोविन्द केसीसँग प्रधानमन्त्रीकै अग्रसरतामा भएको सम्झौता सत्ता पक्षले उल्लङ्घन गरेको भन्दै आलोचना गरे ।

प्रवक्ता शर्माले बूढीगण्डकी जलविद्युत् आयोजना नेपालको आफ्नै लगानीमा निर्माण गर्ने गरी रकम सङ्कलन भइरहेका अवस्थामा परियोजना एकाएक विदेशी कम्पनीलाई सुम्पिनु विश्वासघात भएको दाबी गरे । बितेको वर्ष कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी पत्ता लगाइ कारवाही गर्न सरकार असफल भएकोप्रति पनि उनले कडा टिप्पणी गरे ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष निर्माणको ऐन काङ्ग्रेसको नेतृत्वको तत्कालीन सरकारले सम्पादन गरेको जानकारी गराउँदै नेता शर्माले वर्तमान सरकारले तामझामका साथ भड्किलो ढङ्गले प्रचार गरेर जस लिन खोजेको टिप्पणी गरे । प्रेस स्वतन्त्रतामा अङ्कुश लाग्ने फौजदारी संहिताको केही प्रावधान सच्याउने दिशामा कुनै पहल नगरिएको पनि उनले बताए ।

सरकारले प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद्को बैठक बसी केही निर्णय गरेर संवैधानिक परिषद्मै संविधान मिचेको जनाउँदै संसद्मा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थासमेत पालना नभएको आरोप काङ्ग्रेसले लगाएको छ । साथै चिकित्सा शिक्षा विधेयक पारित गर्दा प्रतिनिधिसभामा सरकार र सभामुखद्वारा बहुमतका बलमा विवेक कुल्चिएर व्यवहार गरिएको प्रवक्ता शर्माले उल्लेख गरे ।

इतिहासमै सबैभन्दा सहज राजनीतिक वातावरण भएर पनि प्रधानमन्त्रीले बितेको एक वर्षमा कुशल शासकीय क्षमता प्रदर्शित गर्न नसकेका काङ्ग्रेसको मूल्याङ्कन छ । आफ्नो विशिष्ट अन्दाजमा प्रवक्ता शर्माले भने– ‘इतिहासमा बोली होइन कर्म लेखिन्छ भन्ने शास्वत सत्य बुझ्न नसक्दा बितेको एक वर्षमा व्यावहारिक गम्भीरता र शासकीय योग्यताको विकासतर्फ प्रधानमन्त्रीको क्षमता देखिएन, त्यसले आगामी चार वर्षका लागि पनि चुनौतीको सङ्केत गरेको छ ।’

भेनेजुयला प्रकरणमा सत्तापक्षले कूटनीतिक मामिलामा अपरिपक्वता प्रस्तुत गरेको दाबी गर्दै उनले कूटनीतिक प्रश्नमा अलमल, द्विविधाग्रस्त टिप्पणी या जरुरी नै नभएको वक्तव्यवाजीले मुलुकको हित नगर्ने स्पष्ट पारे । यस्तै, वाइडबडी जहाज खरीदमा भएको अर्बौं रुपैयाँको घोटाला सम्बन्धमा काङ्ग्रेसले दोषीलाई कारवाही गर्न ‘तथ्यको जगमा सत्यको खोजी गर्न’ आग्रह गर्दै आएको पनि शर्माले बताए ।

यस्तै, वर्तमान सरकार बनेपछि मेलम्ची परियोजनाको भविष्य अन्योलमा परेको र अब समय थप लाग्ने एवं लगानी बढ्ने स्थिति उत्पन्न भएको उनले बताए ।

प्रवक्ता शर्माले भने, ‘बलियो सरकार भएका बेला मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने, लगानीका अवसर बढ्ने, बाह्य लगानीकर्ता आकर्षित हुने, शान्तिसुरक्षा भरपर्दो ढङ्गले कायम भई लगानीकर्ता लगानीका लागि ढुक्कले आउने पूर्वानुमान र आम अपेक्षा यो वर्ष दिनमा खण्डीत भएको छ ।’

काङ्ग्रेसले दुई तिहाइ बहुमतको बलियो सरकार गठन भए पनि विगतको तुलनामा पूँजीगत खर्च बढ्न नसकेको, विदेशी लगानी कम भित्रिएको, व्यापार घाटा बढेको, बजार भाउ वृद्धि भएको, शोधानान्तर घाटा बढेको र शेयर बजार धाराशयी भएको जनाएको छ । प्रवक्ता शर्माले काङ्ग्रेसको नेतृत्वको सरकारले स्पाइनल इन्जुरी भएका, क्यान्सर, मुटु र मिर्गाैलाका अशक्त बिरामीलाई जीविकोपार्जन भत्ता मासिक रु पाँच हजार दिने निर्णय गरेको जानकारी दिँदै वर्तमान सरकारले त्यसलाई खारेज गरेको भन्दै दुःख व्यक्त गरे ।