‘लुट्न सके लुट’लाई जस्ताको तस्तै यूट्युबमा राख्न आग्रह

‘लुट्न सके लुट’लाई जस्ताको तस्तै यूट्युबमा राख्न आग्रह


बहुचर्चित गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’लाई जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गरिएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले संगीत विकास बोर्ड वा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारको ध्यानाकर्षण गराउँदै विवादमा तानिएको उक्त गीतलाई पुनः यूट्यूबमा राख्न आग्रह गरिएको हो ।

प्रतिष्ठानको आइतबार बसेको बैठकले गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार रहेको भन्दै यूट्यूबमा अपलोड गर्न शर्मालाई आग्रह गरेको हो । आधिकारिकरुपमा गीत हटाउन कहीँ–कतैबाट नभनिएकोले पुनः अपलोड गर्न आग्रह गरिएको प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले जानकारी दिए । शर्माले गीत फेरि राख्ने विषयमा सोचेर निर्णय लिने जनाएका छन् ।

प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका शर्माले बैठकमा राष्ट्रपतिको विषयमा किन यस्तो लेखेको भन्दै एक–दुई वटा फोन आएपछि आत्तिएर आफैंले यूट्युबबाट हटाएको बताए । शर्माले आफूले व्यक्ति विशेषको भन्दा प्रवृत्तिको विरोध गर्न खोजेको भन्दै केही कमजोरी भएकाले गीत हटाइएको जानकारी दिए ।

दबाबमा गीत हटाउन लगाइएको भन्दै सरकारको आलोचना सुरु भएको थियो । तर, शर्माले भने आफ्नै इच्छाले हटाएको बताए । सत्तारुढ नेकपाका कार्यकर्ताले ‘नियतबस’ भन्दै शर्माको आलोचना गर्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, विवेकशील साझा र विवेकशील नेपालीले उनको प्रतिरक्षा गर्न थालेका छन् ।