स्ववियु निर्वाचनको माग गर्दै कुलपतिको कार्यालय घेराउ गरिने

स्ववियु निर्वाचनको माग गर्दै कुलपतिको कार्यालय घेराउ गरिने


प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव करिव दश वर्षयता नियमित हुन सकेको छैन । यही फागुन दोस्रो साता हुने भनिए पनि यस वर्षको चुनाव अन्योलमै परेको छ । नेपाली कांग्रेसको भातृ संगठन नेवि संघले सत्ताधारी नेकपासम्बद्ध अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन छल्न खोजेको आरोप लगाउँदै आएको छ ।

यसैबीच अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने माग अघिसारेका छन् ।

अनेरास्ववियुका अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक गर्न विश्वविद्यालयसँग माग गरेका हुन् ।

दुवै सङ्गठनले कार्यतालिका सार्वजनिक गर्न दबाब दिन सोमबार विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा प्रदर्शनसहित घेराउ गर्ने जनाएका छन् ।

मङ्गलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शनसहित घेराउ गरिने अनेरास्ववियुका अध्यक्ष लामाले बताएकी छिन् ।

त्रिविले आफैँले तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिक आइसक्दा पनि अहिलेसम्म निर्वाचनको कार्यतालिका सार्वजनिक नगरिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाई छ । यसअघि दुवै सङ्गठनले स्ववियु निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक गर्न त्रिवि पदाधिकारीसँग माग गरेका थिए ।

प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा २०६५ सालयता राम्रोसँग हुन सकेको छैन ।