भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुईपटक बैठक

भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुईपटक बैठक


भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुईपटक बैठक भइसकेको पुष्टि गरेका छन् ।

दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुईवटा बैठक भइसकेको उनले शनिबार जानकारी दिएका हुन् । ‘हामीले दुईवटा बैठक सम्पन्न गरिसकेको साँचो हो, तर त्यसबारे मैले सबै विवरण दिन सक्दिनँ, मैले गोपनीयताको ख्याल गर्नुपर्दछ,’ उनले भने ।

भेनेजुएलाको राज्यद्वारा सञ्चालित टेलिभिजनमा बोल्दै उनले एक–अर्कालाई राम्रोसँग चिन्ने गरी र विषयवस्तुलाई बुझ्ने गरी छलफल गरेको बताए । उनले थपे, ‘बैठकमा विवादका कुराहरू भए, अरू गहिरो मतभिन्नताका कुरा भए, सँगसँगै आपसी चासोबारे पनि एक–अर्कालाई बतायौँ ।’

उनले यी बैठकबाट सकारात्मक नतिजा आउने विश्वास गरिएको पनि जानकारी दिए । भेनेजुएला र अमेरिकाको विषयमा हुने छलफललाई निरन्तरता दिन र संस्थागत गर्न एउटा साझा निकाय बनाउनेबारे पनि छलफल भएको भेनेजुएलाका विदेशमन्त्रीले उल्लेख गरे ।

अमेरिकी उच्चस्तरीय प्रतिनिधि र भेनेजुएलाका प्रतिनिधिको दुईपक्षीय बैठकबारे भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पूरै जानकारी भएको पनि विदेश मन्त्रीले बताए ।