बर्नी स्यान्डर्स पनि अमेरिकी राष्ट्रपतिको चुनावी अभियानमा

बर्नी स्यान्डर्स पनि अमेरिकी राष्ट्रपतिको चुनावी अभियानमा


अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने तयारी शुरु गरेका छन् । अमेरिकी अखबार पोलिटिकोका अनुसार स्यान्डर्सले आफू उम्मेदवार हुन चाहेको भन्दै एउटा भिडियो सन्देश रेकर्ड गराएका छन् ।

अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन डेमोक्रेटिक पार्टीका तर्फबाट प्रभावशाली व्यक्तिहरूले उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् । त, उक्त भिडियो कहिले सार्वजनिक गरिनेछ भन्ने स्पष्ट भएको छैन । ७७ वर्षीय स्यान्डर्सले सन् २०१६ मा समेत पार्टीको प्राथमिक चुनावमा प्रतिस्पर्धा गरेका थिए, तर उनी नेतृ हिलारी क्लिन्टनसँग पराजित भएका थिए । निकै राम्रो अवस्थामा रहे पनि अन्ततः क्लिन्टन डोनाल्ड ट्रम्पसँग पराजित भएका थिए ।

ट्रम्पझैँ स्यान्डर्स पनि पार्टीभत्रका उम्मेदवार होइनन् । चुनावी अभियान थालनी गर्दा स्वतन्त्र हैसियतमा रहेका स्यान्डर्स पछि डेमोक्र्याटिक पार्टीको प्राथमिक चुनावमा होमिएका थिए ।

सिनेटर स्यान्डर्सले युवा उदारवादी अमेरिकीहरूबाट व्यापक समर्थन प्राप्त गरेका थिए । उनले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने, न्यूनतम ज्याला १५ डलर बनाउनुपर्ने तथा सरकारी विश्वविद्यालयको शिक्षा निःशुल्क उपलब्ध गराउनुपर्ने चुनावी एजेन्डा अगाडि सारेका थिए ।

स्यान्डर्सले सन् २००६ सम्म अमेरिकी तल्लो सदनमा सेवा गरेका थिए भने त्यसपछि उनी अमेरिकी माथिल्लो सदन सिनेटमा सदस्य चुनिएका थिए । सन् २०१२ र २०१८ मा उनी सिनेटरमा पुनः निर्वाचित बनेका छन् ।

धेरै डेमोक्र्याटबीच उनी निकै लोकप्रिय भए पनि पार्टीका केही सदस्यले भने स्यान्डर्स झन्डै ७० वर्ष भएको र गोरा समुदायका भएकाले परिवर्तन आवश्यक रहेको बताएका छन् ।