रोडरेसमा गजेन्द्र र विश्वरूपालाई उपाधि

रोडरेसमा गजेन्द्र र विश्वरूपालाई उपाधि


पाँचौँ ओपन रोडरेसमा विभगाीय त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरूपा बुढाले उपाधि जितेकी छन् । रोडरेसमा आर्मीका गजेन्द्रले निर्धारित ५ किलोमिटर दूरी १५ मिनेट २७ दशमलव २५ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारे । आर्मीकै हरिकुमार रिमाल दोस्रो तथा आर्मीकै टीकाराज कटुवालले तेस्रो स्थान हात पारे । हरिले निर्धारित दूरी १५ मिनेट ३५ सेकेन्डमा पूरा गर्दा टीकाराजले १५ मिनेट ३५ दशमलवब ५० सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हात पारे ।

महिला खुलातर्फ आर्मीकी विश्वरूपा बुढाले निर्धारित ५ किलोमिटर दूरी १८ मिनेट १ दशमलव ६६ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनिन् । दोस्रो भएकी धादिङकी सन्तोषी श्रेष्ठले १८ मिनेट २० दशमलव २९ सेकेन्डमा दूरी पूरा गरिन् । विभागी नेपाल पुलिस क्लबकी राजपुरा पचहाईले १८ मिनेट ३२ दशमलव २० सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हात पारिन् । खुल्लातर्फको पुरुष र महिलातर्फको विजेताले समान २५ हजार रुपैयाँ हात पारे । दोस्रो भएकाले १५ हजार रुपैयाँ तथा तेस्रो भएकाले समान १०–१० हजार रुपैयाँ पाए ।

छात्र ओपनमा सन्तोषनाथ योगी पहिलो, नवीन कार्की दोस्रो र आलोक थापाले तेस्रो स्थान हात पारे । छात्रा ओपनमा विनिता स्याङतेनले पहिलो, विलाक्षी गौतमले दोस्रो र एलिना केसी तेस्रो स्थानमा रहे । विजेताले १० हजार रुपैयाँ, दोस्रोले ५ हजार तथा तेस्रो भएकाले २ हजार ५ सय रुपैयाँ पाए ।

अल्मुनाईतर्फ पुरुषमा पेम्वा शेर्पा र महिलामा रविना श्रेष्ठ च्याम्पियन बने । उनीहरूले समान १०–१० हजार रुपैयाँ पाए । इन हाउस अभिभावकतर्फको महिलामा राष्ट्रिय कराते खेलाडी अनु अधिकारीले पहिलो स्थान हात पारिन् । सुनिता राई दोस्रो तथा करातेकी नै तारा गुरुङले तेस्रो स्थान हात पारिन् । पुरुषतर्फ भेगबहादुर पहारी, किरण राई र निमा दोर्जे लामा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

विजयी खेलाडीलाई प्रदेश नम्बर ३ का सरकार अनुराधा कोइराला, पूर्वसभासद गीता राणा, स्कुलकी प्रिन्सिपल बिना बानु र स्कुलका प्रबन्ध निर्देशक साकिर उद्धिनले पुरस्कृत गरेको मन्डेकाजी श्रेष्ठले जानकारी गराए ।

सो अवसरमा विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालाई स्वर्ण दिलाएका महेश्वर महर्जनलाई २५ हजार रुपैयाँसहित विशेष सम्मान गरिएको मन्डेकाजी श्रेष्ठले जानकारी गराए । करिब १ हजारजना धावकले प्रतिस्पर्धा गरेको म्याराथन प्यारागन स्कुल प्रांगण तिलगंगाबाट शुरु भए र गौशला, बत्तीसपुतली, पुरानो बानेश्वर, सिनामंगल, एयरपोर्ट हुँदै स्कुल प्रांगणमा आएर टुंगिएको थियो ।