पशुपति शर्माले युट्युबबाट किन हटाए ‘लुट्न सके लुट’ ?

पशुपति शर्माले युट्युबबाट किन हटाए ‘लुट्न सके लुट’ ?


चर्चित गायक पशुपति शर्माले भर्खर मात्रै गाएको नयाँ गीत ‘लुट्न सके लुट कान्छा’ लाई सरकारले रोक लगाएको छ । सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर निर्माण गरिएको ‘लुट्न सके लुट कान्छा’बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको हो ।

गीतलाई दर्शकहरुले निकै मन पराएपछि चर्चा पनि पाएको थियो । गीतको चर्चा बढि भएपछि नेकपा निकट कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्माको चर्को बिरोध पनि गरेका छन् । युवासंघ नेपाल नामको फेसबुक पेजमार्फत गायक शर्मालाई बहिस्कार अभियान समेत चलाएका छन् भने शर्माबिरुद्ध धम्कीपूर्ण बक्तब्य नै जारी गरिएको छ ।

गीतले बालुवाटारमा समेत हल्लीखल्ली मच्चाएको बुझिएको छ । सरकारको रवैया, मुलुकभित्रको बेथितिबिरुद्ध गीतमार्फत कडा रुपमा उत्रिएका शर्मालाई ‘लुट्न सके लुट कान्छा’ युट्युबबाट हटाउन निर्देशन नै दिइएको थियो । ब्यापक मन पराइएको शर्माको गीतप्रति सरकार र नेकपाका कार्यकर्ताहरूको आक्रोशपछि गायक शर्माले शनिवार साँझ गीतमा प्रयोग भएका केही शब्दमा बिबाद भएको भन्दै युट्युव पेजबाट गीत हटाएका हुन् । उनले गीतमा प्रयोग भएका केही शब्द परिमार्जन गर्ने प्रतिबद्धता जनाएका छन् । शर्माले फेसबुकमाफत आफूले कुनै राजनीतिक आग्रह र पूर्वाग्रह राखेर गीत नबनाएको भन्दै मुलुकमा सुशासन कायम होस् भन्नेमात्र चाहेको बताएका छन् ।

यस्तो छ गायक पशुपति शर्माको फेसबुक स्टाटस
आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तकज्यूहरुमा सादर नमस्कार ! हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु ।

सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहन्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु ।


सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनस् प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुनस् लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु । र अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताबिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्‍याउन चाहन्छु । धन्यवाद । पशुपति शर्मा