टेनिस डबल्सको उपाधि जापानी टोलीलाई

टेनिस डबल्सको उपाधि जापानी टोलीलाई


अन्तराष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको संयोजनमा पोखरामा जारी १८ वर्षमुनिको आइटिएफ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधि जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले हात पारेको छ ।

पोखरा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा हङकङकका केल लोक इन ताङ र इन्डोनेशियाका जेराल यासिनको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै जापानिज जोडीले सो उपाधि रक्षा गरेको हो । महिला डबल्सतर्फ चाइनाका ले यु लियु र इटोङ्ग झाङको जोडी प्रथम भएको छन् । चाइनाकै जुछुआन लुओ र जियु झाङको जोडीले वाकओभर दिएपछि लियु र झाङ जोडीले प्रथम भएका हुन् ।

गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रतियोगिताले पोखराको प्रचारप्रसारमा सहयोग पुगेको उल्लेख गर्दै टेनिस खेलका लागि आवश्यक भौतिक संरचना तयार गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । पुरुष एकलतर्पm जापानका गेनी इनोक र भारतका उदयवीर सिंह फाइनलमा प्रवेश गरेका छन् । गेनीले भारतका इशान सेठ्ठीलाई ६–४, ७–६ ले तथा सिंहले भारतकै सार्थक सुदेनलाई ६–०, ६–३ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् ।

महिला एकलतर्फ चाइनाका ले यु लियु र भारतका रेन्नी सिंग्ला फाइनलमा पुगेका छन् । लियुले बुल्गेरियाका भिक्टोरिया भेलेभालाई ६–०, ७–५ ले तथा सिंग्लाले भारतका रिया बोभेजालाई ६–०, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा पुगेका हुन् । एकलतर्पmको फाइनल खेल आज हुने टेनिस सङ्घ कास्कीका महासचिव नवीन चालिसेले जानकारी दिए ।