ट्रम्प-किम बैठकको संघारमा उत्तर कोरियाली अधिकारी चीनमा

ट्रम्प-किम बैठकको संघारमा उत्तर कोरियाली अधिकारी चीनमा


अमेरिका र उत्तर कोरियाको दोस्रो शिखर बैठकको तयारी भइरहेका बेला उत्तर कोरियाका उच्च सरकारी अधिकारीहरु चीन पुगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा गर्ने तय भएको छ ।

शिखर बैठक तय भई तयारी चलिरहेकै बेला ११ सदस्यीय उत्तर कोरियाली उच्च अधिकारीहरुद्वारा गरिएको चीन भ्रमणलाई निकै महत्व र चासोका साथ हेरिएको छ । शिखर बैठकको तयारीका लागि भियतनाम जाने क्रममा सो टोली चीन पुगेको दक्षिण कोरियाको समाचार संस्था योन्हापले जनाएको छ ।

श्रोत नखुलाई लेखिएको सो समाचारमा उत्तर कोरियाली टोलीले चिनियाँ उच्च अधिकारीहरुसँग शिखर बैठककै बारेमा परामर्श गरेको उल्लेख गरिएको छ ।

अमेरिका र उत्तर कोरियाको शिखर बैठकलाई दक्षिण कोरिया र चीनले नजिकबाट नियाल्दै र कतिपय सहजिकरण पनि गरिदिँदै आएका छन् ।
ट्रम्प र किम बीच यसअघि पहिलो शिखर बैठक गत बर्षको जुन महिनामा सिंगापुरमा भएको थियो ।

पहिलो शिखर बैठकमा उत्तर कोरियाले पूर्ण रूपमा निःशस्त्र हुने घोषणा गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुनेमा कतिपयले अझै पनि आशंका गरिहेका छन् ।

अब हुन लागेको दोस्रो शिखर बैठकमा ट्रम्पले यो आशंकालाई न्युनीकरण गर्दै थप विश्वास र सहकार्यको वातावरण बनाउने अपेक्षा गरिएको छ ।