ने मुनीको नेपाल यात्रा

ने मुनीको नेपाल यात्रा


  • अर्जुनराज पन्त 

एक दिन ने मुनीलाई आफूले खडा गरेको नेपाल नामक देश हेर्न निक्कै न्यास्रो लागेछ र उनी स्वर्गबाट सीधै विमानमार्फत गौचरण विमान स्थलमा ओर्लिए । खोइ कुनचाहिँ नेता औषधोपचार गर्न विदेश जान लागेका रहेछन् कुन्नि ! विमानस्थल व्यस्त थियो, सबै कर्मचारी फूलमालाका साथ उभिएका थिए, देख्दै रण जितेर आएका सिपाहीजस्ता देखिने ती नेता झट्ट हेर्दा बिरामीजस्ता त कतैबाट पनि देखिन्नथे, तर उपचार गराउन विदेश जान लागेका रहेछन् ।

लामो समयको पर्खाइपछि मुनीको सुरक्षाजाँच सबै सकियो, उनी आफ्नो पोको कतिखेर आइपुग्छ भनी कुरेर बसे । पोको त आयो, तर सबै लथालिंग खोलिएको आवस्थामा, यसो हेरे आफ्नै पोकोजस्तो छ, तर पहिलाभन्दा निकै सानो छ । खोलेर हेरे उनकै झोला रहेछ, तर पित्तले कमण्डलु र दुई जोर लुगाफाटोबाहेक केही पनि अरू सामान छैन, सोधी–खोजी गरे, हारगुहार गरे, कसैले सुनेनन् । सबै कर्मचारीहरू नेताकै स्वागतमा व्यस्त थिए । कसैले त उल्टै यस्ता फुस्राले केको सामान बोकेर हिँड्नु भन्दै उल्टै उनलाई हपारे पनि ।

विमानस्थलमा अर्काको झोला खोल्न र सामान चोर्न बानी परिसकेका कर्मचारीले उनको झोला खोलेर गतिला–गतिला सामान र धन–पैसा सबै चोरिसकेका रहेछन् । झलक्क हेर्दा सुनजस्तो देखिने उनको पित्तले कमण्डलु भने कुनै नेताको सुन हुन सक्छ, योचाहिँ जसरी पनि पास गराउनुपर्छ । ‘छुन हुन्न सुन’ भन्ने स्थापित मान्यताअनुसार चोरी भएको रहेनछ, उनले आफू बेखर्ची भएको र सबै चोरी भएको भनेर भन्दा कसैले उनको गुनासो सुनेनन्, उल्टै उनलाई गौशाला जाने बसमा राखेर पशुपतितिर पठाउनू भन्ने आदेश भयो ।

गौशालासम्म त बसले छोडिदियो, त्यसपछि कहाँ जाने, कता जाने अलमल्ल परे । साथमा फुटेको कौडी छैन, धनपैसा सबै चोरी भो, साथमा कमण्डलु र दुई जोर कपडाबाहेक केही छैन । अब कसरी घुम्ने हो त भन्दै यताउता भौँतारिँदै थिए । एक्कासि उनको अगाडि एक रिक्सावाला देखियो । उनले आफ्नो सबै वृत्तान्त बताए । आफ्नो परिचय खुलाए, आफू ने मुनी भएको, यो शहरको स्थापना आफैंले गरेको, यहाँका सबै जनताको पालनपोषण, रेखदेख आफैँले गरेको, मैले नै पालित गरेका मान्छेहरूले कालान्तरमा यो देशको नाम नै मेरै नामबाट नेपाल भनेर राखेको, धेरै वर्षपछि यो आफूले खडा गरेको मुलुक हेर्न मन लगेर फर्केर आउँदा विमानस्थलमा आफ्नो यो हालत भएको, आफूसँग यो कमण्डलुबाहेक केही पनि नभएको र जसरी भए पनि यो देश आफूलाई घुम्नुपर्ने भएकोले उनलाई सहयोग गर्न आग्रह गरे । यसबापत बरु मञ्जुश्रीले चोभारको गल्छी काट्दा प्रयोग गरेको खड्ग त्यही चोभारको वनमा लुकाएर राखिएको र त्यो ठाउँ म देखाइदिउँला भन्ने सर्तमा अन्त्यमा रिक्सावालालाई राजी बनाए र उसैसँग काठमाडौं शहर घुम्न हिँडे ।

आफूले छाडेर गएको त्यति सफा, शान्त र समृद्ध शहर आज उनलाई पत्याउनै गाह्रो भयो जताततै धुलो फोहोर, खाल्डा खुल्डी, भिड, कोलाहल, अराजकता, मान्छेको पहिरन पनि त्यस्तै, व्यवहार पनि त्यस्तै, एक ठाउँ छिचोलेर अर्को ठाउँ पुग्न पनि हम्मेहम्मे, कतिपय ठाउँमा त रिक्सा चल्न नसकेर धकेल्दै पनि हिँडे । रक्सावालाले आफूले भ्याएजति वस्तुस्थिति अवलोकन गराउँदै आफ्नै सुरमा रिक्सा चलाउँदै थियो । रिक्सा एक्कासि सडक पेटीमा ठोक्किएर पल्टियो, मुनी पनि सडकमा पल्टिए । आफ्नो चोटपटकको पर्वाह नगरीकन चालकले उनलाई उठायो । अरू घरहरूभन्दा अस्वाभाविक ढंगले सडकसम्मै पेटी विस्तार गरेर बनाइएको, उक्त नेताको घरको पेटीमा पल्टिँदा निधारमा गहिरो चोट लागेर मुनीको रगत बगिरहेको थियो, आफूले लगाएको कछाड च्यातेर निधारमा बाँधे, रगत थमियो ।

चालक एकछिन आत्तियो, पछि मुनीले तिम्रो केही दोष छैन नडराऊ, यो त घरको पेटीले गर्दा भएको हो भने । यति सुनेपछि चालकले भन्यो– यहाँ यस्तै हो, नेताहरू नियम–कानुनभन्दा माथि हुन्छन्, यिनले जे गरे पनि हुन्छ, यो पेटी बनाउनै नपाइने हो यसरी, तर यहाँ यस्तै हो । नेताले जे गरे पनि हुन्छ, न्यायालय, पुलिस सबै यिनीहरूकै कब्जामा छन्, केही उजुरी गर्न ठानामा जानुपऱ्यो भने पनि पहिला नेताको सिफारिस चाहिन्छ नत्र मुद्दा नि दर्ता हुँदैन । हत्या–बलात्कारजस्तो जघन्य घटना घट्यो, कुनै आपत प¥र्या भने पनि पहिला नेतालाई फोन गर्ने हो, आफूले चिनेको नेता सत्तामा नभए न्याय खोज्न नहिँडे पनि हुन्छ, ढोकाअगाडि धेरैबेर बस्दा रिसाउलान्, फेरि बरु रगत थमिएन, अस्पतालतिर जाऊँ भन्दै चालकले अस्पतालतिर लग्यो ।

नजिकैको निजी भव्य अस्पतालमा त पुगे, तर उनको रक्तश्रावको कसैले वास्ता गरेनन् । पैसा नतिरेसम्म उनको सामान्य प्राथमिक उपचार पनि भएन, सबैसँग अनुनयविनय गर्दा पनि कसैले सुनेनन् । उनले मान्छेहरूको मानवतालाई पनि धिक्कारे । अन्त्यमा आफूसँग भएको पित्तले कमण्डलु बन्धक राखेर उनको काटेको निधारमा टाँका लगाउने काम भयो । टाँका लगाइनसक्दै आफैँमा निक्कै उदास देखिने ती परिचारिकाले लौन बाबा यति हस्तरेखा हेर्दिनुस् न मेरो भन्दै आफ्नो हात तेर्स्याइन् । मुनीले भने– म कुनै हस्तरेखा हेर्ने बाबा होइन । म त एक साधु–सन्त हुँ, नानीले यत्रो भरोसा राखेर मप्रति विश्वास गऱ्यौ, बरु मलाई सानो सहयोग गरिदेउन भन्दै आफ्नो कथा–व्यथा सुनाए ।
मुनीको कुरा सुनेर ती परिचारिकाले भनिन्– हो यो अस्पताल हजुरले विमानस्थलमा भेटेका नेताहरूकै हो र म आफैँसमेत पछि जागिर पाइने आसमा ६ महिनाका लागि अवैतनिक रूपमा काम गर्दै छु । मुनी छक्क पर्छन् । यहीँ आफ्नै यति ठूला अस्पताल हुँदाहुँदै किन विदेश जानुपऱ्यो त । फेरि अनि मलाई सेवा दिएर आखिर तिमीले केही पनि पाउँदिरहिनछौ त । आखिर किन राख्नुपऱ्यो त मजस्ता साधुको कमण्डलु बन्धकी !

बिचरा परिचारिका एकछिन अमूक हुन्छे र भन्छे– यहाँ यस्तै हो । यो नेताहरूको व्यवसाय मात्र हो, न त यहाँको सेवाप्रति उनीहरूको विश्वास छ, न त सुधार गर्ने कुनै सोच नै । नेताको मात्र के कुरा, यहाँका कतिपय नवधनाढ्यहरू पनि यस्तै छन् । आफ्ना सन्तान डाक्टर बनाउँछन्, तर उसले दिएको औषधि खान सक्दैनन् ! बरु आफूलाई ठूलो भाग्यमानी ठान्नुस् धन्न अरू धेरै उपचार गराउनुपरेन । यहाँ त टाउको दुखेर आए बंगारा फुकालेर पनि पठाइदिन्छन् र मान्छे मरिसकेपछि पनि उपचार गर्दै छौँ भन्दै रकम असुल्नसमेत लाज मान्दैनन । दाहिने हात भाँच्चिएर आउनेको देब्रे हात प्लास्टर गर्ने कुरा त सामान्य भइसक्यो । अब त बिरामी पर्दा डाक्टरकोमा भन्दा पनि धामीझाँक्रीकोमा जानु ठीक, कमसेकम मन्तरेको बेसारपानीले ज्यान नै त जान्न नि । धन्न नक्कली डाक्टरको फेला पर्नुभएन । कुरो बुझ्दा कतैबाट पनि कमण्डलु फिर्ता पाउने आशा देखेनन् । ती परिचारिकालाई कमण्डलु माग्न पठाउँदा झन् बल्लबल्ल पाउन लागेको उनको जागिर पनि धरापमा पर्ने देखे छि मुनी र चालक खाली हात अस्पतालबाट फर्किए ।

भारी मन लिएर रिक्सावाल र मुनी अस्पताल बाट फर्किंदै थिए । एक्कासि प्रहरीको भ्यान आयो र सडकको छेउछाउमा माग्दै हिँडेका ती सडकबालबालिका र अपांग भिखारीहरूको झुन्डलाई लछारपछार पार्दै गाडीमा राख्यो । तर, पागलहरूलाई त्यहीँ छाडिदियो । मुनीले यो के गरेको भनेर सोधे । चालकले भन्यो– यो नयाँ कानुन हो रे । मागेर हिँड्न पाइँदैन, तर यी किन माग्दै हिँड्नुपऱ्यो । धनी र गरिबबीचको खाडल दिन प्रतिदिन किन यति फराकिलो हँुदै छ । यिनको कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ सरकारको केही पनि सोच छैन । यस्ता मानिसका लागि भनेर बनाउन लागेको आवास पनि नेताहरूले आफ्नै निवासको रूपमा प्रयोग गरे । तर, पागलहरूप्रति यिनीहरू उदार पो छन् केही पनि गर्दैनन्, माया गर्छन्, कहिलेकाहीँ आफ्ना नेताहरूका आफन्त हत्या–बलात्कारजस्तो जघन्य घटनामा मुछिए वा अपराधी पत्ता लगाउन सकिएन भने यस्ता पागलहरूलाई यही हो अपराधी भन्दै ठड्याउँछन् पनि । यो देशमा गरिबहरूप्रति कसैको वास्ता छैन, यस्तै हो खिन्न मन नगर्नुस् ।

यत्तिकैमा ट्राफिकले सिट्ठी बजाउँदै रिक्सालाई अगाडी जान दिँदैन । अब केही घन्टामा यही बाटो भएर राष्ट्रपतिको सवारी हुँदै छ भन्ने बुझियो । एकैछिनमा सवारीसाधनहरूको निकै ठूलो लाम लाग्यो । रिक्साको नजिकैको एम्बुलेन्सबाट प्रसव बेथाले ग्रस्त एक महिलाको चिच्यावटजस्तो बिरामीको आवाज आइरहेको थियो । न त त्यो गाडी अगाडि बढ्न वा पछाडि फर्केर जान सक्ने अवस्था नै थियो, न त त्यो पीडाले कसैको मन नै छोएको थियो । केही समयको पर्खाइपछि त्यो आवाज क्रमशः सानो हुँदै गयो र अन्त्यमा हरायो पनि । रिक्सावालाले रिक्साको आडमै रहेको बत्तीको पोलमा सिक्री लगाएर रिक्सामा चाबी लगायो र दुवैजना विपरीत दिशातर्फ लागे ।

शहरका यस्ता उदेकलाग्दा मानवताहीन दृश्यबाट दिक्क भएका मुनीले रिक्सावाललाई भने– पुग्यो यहाँभन्दा अरू र केही हेर्नुछैन म जान्छु बरु गाउँतिर भन्दै ऊसँग बिदा माग्दै थिए । उसले भन्यो– गाउँ पनि यस्तै हो । जताततै नेतैनेता, मन्त्री नै मन्त्री, सांसद नै सांसद । अब त यतिसम्म भयो कि आकाशबाट कुनै चराले बिस्ट्यायो भने पनि कुनै न कुनै मन्त्री वा सांसदको टाउकोमा पर्ने दिन आयो । मुनीले जसरी पनि जाने निर्णय गरेपछि ऊ फर्कियो र मुनी लागे गाउँतर्फ । जाँदाजाँदा वल्लो गाउँबाट पल्लो गाउँ जान खोलाको पुल तर्नुपर्ने भो । पुलको मुखमा एक चेक पोस्ट थियो । मान्छेहरू पैसा तिर्दै पुल तर्दै गर्दारहेछन् । पैसा तिर्न नसक्नेहरू कि त खोलाबाट जानुपर्दोरछ कि त एक कोसमाथिको तुइनबाट ज्यानको आस मारेर खोला तर्नुपर्दो ररेछ । मुनीले आफू पैसा नभएको फिरन्ते जोगी भएको र फर्केर आउँदा म तिरुँला बरु मलाई जान दिनुस् भन्दै बिन्ती गरे । तर, उनको कुरा कसैले सुनेनन् । उल्टै पैसा तिर्न सक्ने भए पुलबाट जा नत्र खोलाबाट जा, तँ जोगीलाई खोलाले लगे पो के फरक पर्छ र भन्दै आफ्नो कुरा सक्यो । यसो हेरे, साउने त्यो भेल अनि पानी पार्न नहुने आफ्नो टाउकोको आलो घाउ, पार लागिएलाजस्तो लागेन । नजिकैको ढुंगामाथि बसेर खोला हेरिरहे । त्यत्तिकैमा साँझ पर्न लाग्यो, नजिकैको भट्टीपसलबाट एकजना भलाद्मीजस्तो मान्छे खुट्टा टेक्नै नसक्नेगरी निस्क्यो । त्यहाँ बसेका मान्छेहरूले कुर्सीबाट उठेर नमस्ते गरे । ऊ वडाध्यक्ष रहेछ । मुनीले ऊसँग अनुरोध गरे । अन्त्यमा आफूसँग भएको बुट्टे लौरो बन्धक राखेर फर्किंदा पैसा तिर्ने सर्तमा पुल तर्न दिइयो ।

यसरी पुल तर्न पाएका मुनी पुलको बीचमा पुगेर यताउति हेर्दै थिए, आफूले बन्धक राखेको लौरो टेक्दै खुट्टा टेक्नै नसक्ने अवस्थाको वडाध्यक्ष उनकै आडबाटै ढुनमुनिँदै बाटो लाग्यो न त उनलाई आफ्नो लौरो माग्ने हिम्मत आयो न त केही बोल्न, यसो कुनातिर तर्केर अलि धेरै बाटो छाडदिए । गाउँमा पुगे । सबै वस्तुस्थिति हेरे, कानमा लगाउने गहना बन्धक राखेर बच्चाबच्चीको जन्मदर्ता गरेको पनि देखे, नेताहरूले जुनसुकै शीर्षकमा पनि मनपरी कर उठाएको र उठेको रकम विकास निर्माणभन्दा पनि स्थानीयदेखि केन्द्रसम्मका नेताहरूकै सेवा–सुविधाका लागि मात्र खर्च भएको र अलिअलि बचेखुचे पनि सेवासुविधा नै नचाहिनेस्तरका भूपू नेताहरूको लागि आजीवन खर्चिएको भेटे, नेताहरूको जीवनशैली देखे । एकपटक वडास्तरको नेता भएको मान्छेले समेत जिन्दगीभरि नेतागिरी गरेर खाएको, गाउँघरमा मर्दापर्दासमेत उठाउने युवासमेत नरहेको, उनीहरूले विदेशबाट पठाउने रेमिट्यान्सबाट गाउँलेले छाक र नेताहरूको मोजमस्ती चलेको पनि देखे । अब पुग्यो गाउँशहर सबै देखेँ, यहाँभन्दा धेरै हेर्नु छैन भन्दै फर्किंदै थिए । होइन आएको बेलामा पशुपतिको दर्शन नगरी कसरी फर्कनु र भन्दै लागे पशुपतितर्फ । बागमतीको पानी हेरे, हातले त के काठले समेत छुने हिम्मत आएन । नजिकैको श्लेषमान्तक वन हेरे मृगमृगिनीका रूपमा शिवपार्वतीले विहार गर्ने वनमा अहिले मृगमृगिनीको रूप नै धारण गर्नुपर्दो रहेनछ ।

जताततै शिवजीको प्रसादमा झुम्म परेका मान्छेमा केही भए पनि आफ्नै किसिमको शिवभक्ति देखे, अन्त्यमा मूल भट्ट पुजारीलाई भेटी कसैलाई नभन्ने सर्तमा आफ्नो वास्तविक पहिचान खोले र मन्दिरभित्र नै प्रवेश गरी पूजा आराधना गरे । यत्तिकैमा कसले नरेन्द्र मोदी जोगीको भेष धारण गरेर पशुपति मन्दिरभित्र पूजा गर्दै छन् भन्ने हल्ला गर्दिएछन् । हेर्ने मान्छेको भिड लाग्यो । शुरुमा कसैले विश्वास गरेनन् पनि यी मोदी होइनन्, मोदी भए खोइ त भारतीय कमान्डोहरू वरिपरि हुनुपर्ने हो त समेत भने । जब एक योगी पशुपति मन्दिरभित्रै पसेर यसरी पूजा गरेको देखे, मान्छेहरू सशंकित बने । झट्ट हेर्दा मोदीको जस्तो कद, आधा अनुहार निधारको चोटको कारण छोपिएको र महिनौँसम्म सफापानीमा स्नान गर्न नपाएका उनका दाह्रीजुँगा कताकता नक्कलीजस्ता देखिन्थे पनि । यी सबै संयोगले गर्दा मान्छेले यी मोदी नै हुन् भन्ने निष्कर्ष निकाले । यो हल्ला एक कान दुई कान हुँदै प्रधानमन्त्री कार्यालयसम्म फैलियो । केही घन्टामै ठूलो दलबलसहित प्रधानमन्त्री पशुपति पुगे । उनलाई स्वागत गर्न नेताहरूको ठूलो लर्को नै लाग्यो । सकी–नसकी सबैले हिन्दीमा आफ्नो परिचय खुलाउँदै मोदीजीको स्वागत गरे र संसद्को दुवै सदनलाई समेत सम्बोधन गर्ने चाँजोपाँजो मिलाई सीधै संसद् भवन लगियो ।

अघिपछि कुकुरबिरालाको शैलीमा झगडा गर्ने, विदेशीले किनिदिएका कुर्ची–माइकसमेत भाँचेर हानाहान गर्ने, संसद्भवनमै सुर्ती खाएर त्यहीँ थुक्ने, कुर्चीमै बिरालो निदाएझैँ घुर्दै सुत्ने त्यो जमात शान्त र शालीन देखिन्थ्यो । मुनीलाई पहिला त आफूलाई सम्बोधन गर्न लगाएको कुराप्रति रिस नउठेको त कहाँ हो र ? तर, आफूलाई सम्हाल्दै आफ्नो भनाइ राख्ने उपयुक्त समय आएको ठानी आफ्नो प्रवचन शुरु गरे– न त म तपाईंहरूले ठानेको मोदी हुँँ, न त म हिन्दी नै बुझ्छु, न त कुनै कोली भैया भन्दै आफ्नो परिचय गराउनेको दाइसाहेब नै हुँँ । उनलाई मात्र होइन खाली कागतमा हस्ताक्षर गरेर आफ्नो हस्ताक्षर कहाँ कसले कसरी प्रयोग गर्छ त्यति पनि हेक्का नहुने यो बथानका न कसैलाई चिन्छु । वास्तवमा म ने मुनी हुँँ । परापूर्वकालमा यो बस्तीका सबै बासिन्दाको लालनपालन, रेखदेख सबै म आफैँले गर्थेँ । कालान्तरमा मेरै नामसँग जोडेर यस बस्तीको नाम नेपाल रखिएछ ।

आज धेरै समयपछि यो मुलुकको रूपरेखा हेर्न आउँदा मैले विमानस्थलदेखि देखे–भोगेका कुरा दयनीय देखिए । देशका जनता सबै विदेशीले पालिदिएको र बल्लबल्ल हातमुख जोर्न पाएका जनताले आजीवन नेता पाल्नुपर्ने विवश मुलुकसँग नाम जोडेको पाएँ । अब मलाई यसभन्दा बढी उपहासको पात्र नबनाऊ । यति धेरै बहुमत भएको आजको यस सभाबाट नेपाल नाम परिवर्तन गरी नेतापाल बनाऊ । त्यसपछि सधैँलाई ढुक्क हुन्छ । यति सार्थक नामको विरुद्ध कोही पनि अनशन बसे त्यो जिम्मा मेरो भो । बरु मलाई मेरो बन्धक राखेको कमन्डलु पनि चाहिएन । हालसम्म मेरो नामसँग जोडेर आफ्नो मुलुकको नाम राखेकोमा धन्यवाद ।