सुन्दर माल्टामा एनआरएनएको जन्म

सुन्दर माल्टामा एनआरएनएको जन्म


  • डिल्लीराम अम्माई, माल्टा

माल्टावासी नेपालीबीच फेब्रुअरी १२ आशावादी रह्यो । उनीहरूले व्यापक छलफल र चर्काचर्की बहसबीच एनआरएनए माल्टाको तदर्थ समिति गठन गरेका छन् । यो भेला माल्टावासी नेपालीबीच आफ्ना पीडा पोख्ने दिन मात्र बनेन, एक सम्झनलायक ऐतिहासिक दिनसमेत बन्यो । नेपालीले पीडा पोख्ने पहिलो साझा प्लेटफर्म निर्माण गरे ।
उनीहरूले सोही दिन भेलामार्फत आफ्ना आक्रोशलाई एनआरएनएका नेताबीच खन्याए ।

भेला आयोजक संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कुमार पन्तले भेलामा प्रमुख अतिथिको आशनबाट बोल्दै ‘माल्टाको तदर्थ समितिले ८० राष्ट्रको गणपूरक प्रतिनिधित्व मात्र नगर्ने बताउँदै समितिले काम गरेर देखाउनेछ’ भनेर आशा व्यक्त गरे ।

सहकोषाध्यक्ष सोम सापकोटाले सञ्चालन गरेको भेलामा उनले बिनाछलफल अध्यक्ष र उपाध्यक्षको नाम लिन थालेपछि भेलाद्वारा छलफलको माग गर्दै प्रस्तावित नामको विरोध भएपछि उनी पछि हट्न बाध्य भएका थिए । भेलाले युरोप संयोजक शिव बरुवाल, आईसीसी पदम गुरुङ हुँदाहुँदै केन्द्रले पदाधिकारी चयन र पद विभाजनमा हस्तक्षेप गर्न नहुनेसमेत मत राखेको थियो ।

उनीहरू भन्दै थिए, ‘कम्ती दुःखपूर्ण छैन माल्टाका नेपालीको पीडा ! के माल्टाको एनआरएनए सहारा बन्न सक्ला ती पीडित नेपालीको ?’ त्यसको उत्तर दिनु कसैको लागि त्यति सहज छैन, प्रतीक्षा गर्नैपर्छ केही समय, हेर्नैपर्छ समितिको आगामी पहलकदमी ।

तीव्र छलफल र बहसको बीचबाट भेलाले तेजबहादुर लिम्बूको अध्यक्षतामा संघको २५ सदस्यीय गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति माल्टाको तदर्थ समिति गठन गरेको हो ।

त्यस्तै, अन्य पदाधिकारीमा उपाध्यक्ष रेमलाल खनाल, कृष्ण थापा, महासचिव सन्देश केसी, सचिव शंकर पोखरेल, कोषाध्यक्ष सदिन पोखरेल, सहकोषाध्यक्ष सरिता राई चयन भए । भेलाले महिला संयोजक सुष्मा राई, युवा संयोजक रोशन गिरी आमसहमतिमा चयन ग¥यो भने सदस्यहरूमा क्रमशः सुशील अधिकारी, वासुदेव अधिकारी, राजीव दाहाल, शंकर खत्री, कुशकुमारी गुरुङ, महेश्वर श्रेष्ठ, शंकर गुरुङ, मनिता सेढाईं, नीरज ढकाल, प्रदीप काफ्ले, शिवशंकर राय, अर्जुन पौडेल, दीपक खनाल, वीरेन्द्र घिमिरे, मनीष अर्याल, अर्बिन पौडेल चयन गरेको छ ।

अन्तिम सत्रमा नेपालको पर्यटन प्रवद्र्धनको लागि एनआरएनए पर्यटन प्रवद्र्धन समितिले तयार पारेको भिजिट ट्वान्टीको पर्यटन लोगो र प्रचार–पुस्तिका माल्टाको समितिलाई हस्तान्तरण गरिएको थियो । उक्त भेलामा बेलायतका पर्यटनदूत पशुपति भण्डारी, लगानी बोर्डका अन्य सदस्यहरू, बेल्जियमका व्यवसायी संघका निवर्तमान आध्यक्ष सीपी भट्ट, अभियन्ता पारस गौतम,न ेपाल पत्रकार महासंघ केन्द्रबाट ओम शर्मालगायतको उपस्थिति रहेको थियो ।

स्मरण रहोस्, माल्टामा आएका केही नेपाली नेपाली दलालकै कारण बिचल्लीमा परेको व्यापक गुनासो सुनियो । उक्त गुनासोबारे आवश्यक अनुसन्धान र भण्डाफोर हुनुपर्ने भन्दै केही नेपालीले पत्रकारलगायत अभियन्ताहरूसँग गुनासो राखेका छन् । जसबारे अनुसन्धान गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याउनुपर्ने जरुरी देखिएको छ ।