कसैको विरौटे खेत वा गोरु जुधाउने टारवारी होइन संसद

कसैको विरौटे खेत वा गोरु जुधाउने टारवारी होइन संसद


  • स्वयम्भूनाथ कार्की

संसद हाटबजार जस्तै भयो, सबै आ–आफ्नो राग फलाक्दै रहे । कसैले कसैको कुरा सुनेन, गर्नेले गर्दै रह्यो कराउने कराउँदै रह्यो । जति ठूलो स्वरले विरोध भयो त्यति हतारले विधेयक पास गर्ने परम्परा नेपालको मात्र नभई धेरै मुलुकका संसदमा देख्न पाइन्छ । अनि संसदमा विपक्षीको उपस्थिति जति झिनो भयो उनीहरू त्यति नै चर्का हुने गर्छन् । आजको सत्ताधारीले उहिले बहुमत र जनमत फरक हुन्छ भनेर कुर्लेको थियो । आजको विपक्षीले त्यो कुराको हाँसो उडाएको थियो । यसपटक विपक्षी सत्ताले बहुमतको दम्भमा जनमत कुल्चेको गर्जन गर्दैछ, सत्ता भने बहुमतले पारित नगरेर के संसदमा अल्पमतले पारित गर्छ भनेर ओठे जवाफ फर्काउँदैछ ।

संसदमा हुने गरेका यस्ता घटना, शारीरिक बल प्रयोग आदि जताततै सुनिन्छ । सायद विश्वमा यस्ता संसद अपवाद नै होलान् जहाँका सांसदले कुनै न कुनै बेला यस्तो मुडेबल नदेखाएका होउन् । तर यसपटकको स्वास्थ्य शिक्षा विधेयक कि चिकित्साशास्त्र शिक्षा विधेयक पारित भइसकेपछिको वातावरण केही फरक छ । अब यसले उहिलेदेखि हामीले देखेको अखिल नेविसंघ झगडा जस्तै रुप लिएको छ ।

एक पक्ष आफुसँग निहुँ खेज्ने सबै समाप्त भएको हुङ्कार दिँदैछ भने अर्कोतर्फ लड्ने नै हो भने फलाना फलाना क्याम्पसमा आइज भनेर चुनौती दिँदैछ । अनि मेरा देशवाशीहरू यो स्तरका कुरा गर्ने नेतृत्वले आफुलाई उज्वल भविष्यतर्फ लैजाला भनेर विश्वास गर्छन् ।

वर्णाश्रमभित्रका चार जात मात्र हैन आफुलाई अहिन्दु भन्ने छत्तिस वर्णको पनि साझा हो । दोक्चा लगाउने लामाको मात्र हैन, घोती लगाउने मधेश वा तराईमा बस्नेको पनि उत्ति नै हक लाग्ने हो । कांग्रेस कम्युनिष्ट देश बनाउन रचनात्मक लड्छौँ भने लड तर तिमीहरूको विरौटे खेत हैन, गोरु जुधाउने टारवारी हैन ।

यत्रो संघर्ष भइरहेको छ भने यो महत्वपुर्ण विधेयक होला । तर जब यो विधेयक वैधानिक नामसम्म पनि धेरैलाई थाहा छैन भने त्योभित्र के छ भन्ने कसरी थाहा होला ? अनि त्यसका प्रावधानहरू आफ्नो हितमा होलान् भनेर कसरी भन्ने ? के यो विधेयकले हाम्रो दैनिक जीवनमा कुनै असर गर्ला ? तैपनि हामी यसको निमित्त टाउको फोडाफोड गर्न तयार छौँ । यो सबै प्राथमिक विद्यालयदेखि नै अखिल वा नेविसंघको साँचोमा जबर्जस्ती ढालिएको दिमागको असर हो । अहिले त्यो साँचोमा ढाल्नेहरू त कालको अँगालोमा पुगिहाले साँचोमा ढालिनेहरू अनियन्त्रित भए । त्यसैले जताततै अखिल र नेविसङ्घको संघर्षको मैदान हुनुपरेको छ नेपालले ।

विभिन्न माध्यममा आउने छलफल नामका झगडामा प्रयोग हुने तर्क तथा तथ्य आफ्नो मान्छेको राम्रो र पराईको नराम्रो लाग्छ । हिजो आफ्नोले के तर्क दिएको थियो र आज के दिँदैछ त्यो सोच्ने क्षमता गुमाइसकेका छौँ हामीले । तर यो कसले बोल्यो भनेर नजानी सुन्ने हो भने कति मुर्खतापुर्ण कुराहरू बोल्दा रहेछन् हाम्रा मनिएका बुद्धिजीवी भनेर शरम लाग्ने छ । किनभने, लाग्छ नेपालमा कि अखिल छ, कि नेविसंघ छ, यहाँ कुनै डाक्टर छैन, इन्जिनियर छैन, लेखक छैन कलाकार छैन । छन् त कोही कम्युनिष्ट वा कांग्रेस या यस्तै अनेक दलका छातामुनि छन् । डा. गोविन्द केसीको महत्व छ किनभने उनलाई कहिले कसैले कम्यूनिष्ट हतियार बनाउँछ कि काङ्ग्रेस हतियार बनाउछ । नत्र १६औँ अनसनको कुरै हुँदैन थियो उनी पनि कुनै न कुनै चेम्वरमा नन्दप्रसाद अधिकारीसँगै हुने थिए ।

अति भो अब संसद नेपालीले आफ्नो हित गर्ने भनेर चुनेको प्रतिनिधिको स्थान हो अखिल र नेविसंघको रणभूमि हैन । यो मुलुक एकले अर्कालाई हिजो तैँले गरेको थिइस् आज मेरो पालो भनेर लड्ने काङ्ग्रेस र कम्युनिष्टको खेल मैदान हैन । यो नेपालीको आफ्ना पुर्खाको रगत पसिनाले अर्जित मुलेक हो । वर्णाश्रमभित्रका चार जात मात्र हैन आफुलाई अहिन्दु भन्ने छत्तिस वर्णको पनि साझा हो । दोक्चा लगाउने लामाको मात्र हैन, घोती लगाउने मधेश वा तराईमा बस्नेको पनि उत्ति नै हक लाग्ने हो । कांग्रेस कम्युनिष्ट देश बनाउन रचनात्मक लड्छौँ भने लड तर तिमीहरूको विरौटे खेत हैन, गोरु जुधाउने टारवारी हैन ।