‘एडभान्स कलेज अफ हेल्थ’का साथ सिड्नीमा जम्दै किशोर

‘एडभान्स कलेज अफ हेल्थ’का साथ सिड्नीमा जम्दै किशोर


  • राजन घिमिरे, सिड्नी

नेपाल छँदा के थिएन यिनीसँग ? नाम, दाम, प्रतिष्ठा, प्रशंसा र सुखी परिवार । कतिपयले त नेपालको यस्तो उच्चकोटीको जीवन छाडेर किन अष्ट्रेलिया भासिएको भन्दै जिज्ञासाका साथ आश्चर्य पनि प्रकट गरेका थिए । वास्तवमा यो कुरा किशोरराज अर्यालले पनि नसोचेका होइनन् शुरूमा, तर सोचेजस्तो या चाहेजस्तो कहाँ हुँदोरहेछ र जीवनमा ?

शुरूमा पढ्नका लागि अष्ट्रेलिया आउँदा उनी आफैंले पनि यतै घरजम गरेर बसिएला भन्ने सोचेका थिएनन् । रहँदै–बस्दै जाँदा परिस्थिति फरक भइदियो । ‘यहाँ उपलब्ध सुविधा र अवसरलाई प्रयोग गरौँ भन्ने सोचमा अघि बढ्दाबढ्दै यतै बसिएछ । नेपालमा आफूले पढे–पढाएको विषय र गरेको कर्म यता पनि मेल खाएपछि सोच परिवर्तन भयो’, किशोरले प्रष्ट्याए ।

नेपालमा मार्केटिङ कम्युनिकेशन बि.बि.एस. र बि.बि.ए.का विद्यार्थीहरूलाई पढाउँदै स्वास्थ्य मन्त्रालयअन्तर्गत वीर अस्पताल र भक्तपुर अस्पतालमा काम गरेको गतिलै अनुभव सँगालेर अष्ट्रेलिया हानिएका किशोरले अष्ट्रेलियामा डिमोन्सिया विषयमा मास्टर्स सकाएका हुन् । अष्ट्रेलियाको नर्सिङ इण्डष्ट्रिजमा नौ वर्ष काम गरेको अनुभव बोकेका किशोर यतिबेला भने एडभान्स कलेज अफ हेल्थका सञ्चालक हुन् ।

७५ प्रतिशत नेपाली विद्यार्थी पढ्ने यो कलेज किशोर र इश्वर दाहाल मिलेर सन् २०१३ देखि सञ्चालनमा ल्याएका हुन् । सिड्नीको बरूउड भन्ने स्थानमा रहेको यो कलेजको सञ्चालनसँगै किशोरको समूहले यतिबेला आफ्नो उपस्थिति गतिलै बनाइरहेको छ । ‘अष्ट्रेलियामा विगत ४० वर्षदेखि पढाइरहेका शिक्षकहरू पनि हुनुहुन्छ हामीकहाँ । हामी कसरी राम्रा विद्यार्थी उत्पादन गर्ने भन्ने विषयमा पनि चिन्तित छौँ । त्यहीअनुसार नै कलेजको शिक्षालाई अघिबढाएका छौँ’– किशोरले भने ।

काठमाडौंको दक्षिणकालीमा जन्मिएका किशोर सन् २००८ मा अष्ट्रेलिया प्रवेश गरेका हुन् । पारिवारिक माहोल पनि शिक्षा क्षेत्रमा नै समर्पित भएकाले उनले पनि शिक्षा बाहेक अरू केही बुझेनन् र त्यहाँ शिक्षा, आफ्नो ज्ञान तथा सीपसँग मेल खाने स्वास्थ्यसम्बन्धी कलेज ‘एडभान्स कलेज अफ हेल्थ’ सञ्चालनमा ल्याउन सफल भए ।

‘म खुशी छु, किनकि अष्ट्रेलिया जस्तो मुलुकमा रहेर मैले आफूले जानेको विषयमा काम गर्न पाएको छु । नेपाली विद्यार्थीसँग अनुभव साट्न पाउँदा मन आनन्दित भएर आउँछ । कहिलेकाहीँ त माहोल नेपालकै कलेज जस्तो पनि लाग्छ’, किशोर एकछिन भावुक बन्छन् । आफ्नो कलेजमा पढेका विद्यार्थीहरूप्रति चिन्तित देखिन्छन् उनी र भन्छन्– ‘हाम्रा विद्यार्थीले पाउने काम र उनीहरूको प्रगति नै हाम्रो सफलता हो । हामी हाम्रा विद्यार्थीको भावी योजना र सोचप्रति पनि जागरूक छौँ । त्यसकारण पनि एडभान्स कलेज अफ हेल्थले विद्यार्थीहरूको मन जितेको छ ।’

किशोर अष्ट्रेलियामा आएर मात्र जमेका होइनन्, नेपालमा पनि शान नै थियो उनको । १८ वर्षको उमेरदेखि काम गरेर आफ्नै खुट्टामा उभिएका उनले नेपालको विज्ञापन क्षेत्रमा पनि धेरै काम गरे । नेपालको इको एडभरटाइजिङमा काम गरेर अगाडि बढेका थिए उनी ।

अष्ट्रेलियामा श्रीमती, एक–एक छोरा र छोरीका साथ आफ्नो जीवन अगाडि बढाइरहेका किशोरको कलेजले सिड्नीमा हुने सामाजिक होस् या मनोरन्जनात्मक कार्यक्रम, सबैतिर सहभागिता या उपस्थिति जनाउँदै आएको छ ।

किशोरको बुझाईमा कलेज सञ्चालनलाई ब्यवसायको रूपमा मात्र लिनु हुँदैन, यो ज्ञान बाँड्ने मन्दिर र सेवा पनि हो । ‘विद्याथीहरूको आत्मबल बढाउने माहोल सिर्जना गर्नु र गर्न सक्नु हाम्रो कर्तव्य अनि सफलता पनि हो’, उनले भने ।