कांग्रेस भनी चिनिए राजमोको कुटाई भेटिन्थ्यो : चित्र केसी

कांग्रेस भनी चिनिए राजमोको कुटाई भेटिन्थ्यो : चित्र केसी


बाग्लुङको विकट गाउँ सल्यान गाविस, हालको बरेङ गाउँपालिका– ४ मा किसान परिवारमा मेरो जन्म भएको हो । बुबा पूर्णबहादुर केसी र माता देउरूपा केसीका हामी दशजना सन्तानमा १० जना सन्तानमा पाँच छोरा र पाँच छोरी थियौँ । जसमा एक छोराको २ वर्षको उमेरमै निधन भएको थियो । हामी चार दाजुभाइ नै पढ्नमा स्कुल तहमा प्रथम हुने गथ्र्यौँ । बहिनी पनि प्रथम, द्वितीय हुने गर्थिन्, तर चार दिदीहरूले भने त्यसबेलाको समय र गाउँमा खेती–किसानी गर्नुपर्ने बाध्यताले पढ्न पाउनुभएन ।

बुबाआमा किसान हुनुहुन्थ्यो । राजनीति गर्ने भन्ने त सोचाइभन्दा परको विषय भए पनि चारैजना भाइको राजनीतिमा अत्यन्तै रुचि भने थियो । चार दाजुभाइ नै आफ्नो समयअनुसार शिक्षक पनि भयौँ । ठूलो दाइले ०४० सालमा गुल्मीको शान्तिपुर स्कुलमा लगभग ७ महिना र ०४३ सालमा काठमाडौं महेन्द्र भवन कन्या स्कुलमा २ वर्ष पढाउनुभयो भने माहिलो दाइ अहिले पनि स्थायी शिक्षक हुनुहुन्छ । साहिँलो दाइ (मनोजकुमार केसी) ले गाउँकै सल्यान माविमा पढाउनुभयो दुई वर्षजति ।

मैले गुल्मीको हर्राचौर माध्यमिक विद्यालयमा १९ महिना अध्यापन पनि गरेँ । बहिनीले पनि सोही स्कुलमा पढाउने गर्थिन् । मैले ०६१ सालमा काठमाडौंको सतुङ्गलमा रहेको एसआर ड्रग्स ल्याबोरोटरिज भन्ने औषधि कम्पनीमा प्रशासन प्रमुख भएर लगभग ११ महिनाजति काम गर्ने मौका पाएको थिएँ । उक्त कम्पनीको म्यानेजिङ डाइरेक्टर फोरमबाट समानुपातिक सभासद् मधुसुदन अग्रवाल थिए ।

मलगायत हाम्रो परिवारको राजनीतिक गुरुको रूपमा आदरणीय व्यक्तित्व तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य कुलराज शर्मा र हाम्रो गाउँको काका थानेश्वर शर्मा हुनुहुन्थ्यो ।
बाग्लुङ काङ्ग्रेसको पार्टी सङ्गठन विस्तारमा कुलराज काकाको महत्वपूर्ण भूमिका थियो । उहाँ ०३८ र ०४३ मा पार्टीकै निर्देशनअनुसार राष्ट्रिय पञ्चायत सदस्यमा जानुभएको थियो । पछिल्लो समयमा उहाँ काङ्ग्रेसमा निष्क्रिय देखिनुभयो ।

नेपाली काङ्ग्रेसले ३० वर्षे पञ्चायती व्यवस्था हटाउन देशैभरि भूमिगत रूपमा सङ्गठन गर्ने भनेर आन्दोलन पनि गरिराखेको थियो । ०४३ मा मेरो आफ्नै गाउँ सल्यानमा नेविसङ्घको जिल्ला अधिवेशन भयो । जगदीशचन्द्र उपाध्याय अध्यक्ष र मेरो माहिलो दाइ जिल्ला सदस्य चयन हुनुभयो ।

ठूलो दाइ आईएस्सी अध्ययन गर्न राजधानी जानुभएको थियो । त्यस समयमा म कक्षा ५ मा पढ्थेँ । ०४६ मा नेपाली काङ्ग्रेसले पञ्चायती व्यवस्था हटाउन निर्णायक आन्दोलन गर्ने घोषणा गरेको थियो । म कक्षा ८ मा पढ्थेँ । नेपाल बन्द भन्ने पहिलोपटक त्यही बेला सुनेको हुँ ।

माहिलो दाइ नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य भएको हुँदा प्रहरीले उहाँको खोजतलास गर्न आउने सुइँको पाएपछि प्रहरी आउनु अगावै उहाँलाई एकजना फुपूको गोठमा लगेर लुकाइयो । मैले पनि त्यही दिन स्कुलबाट घर आउने समयमा पुलमा बाटोभरि ‘पञ्चायती व्यवस्था मुर्दावाद’ भन्दै जतासुकै लेख्दै आएको थिएँ । घर आइपुग्दा प्रहरी देखेपछि असाध्य डर लागेको थियो ।

यसै क्रममा २६ चैत ०४६ मा बहुदल घोषणा भयो । त्यसपछि म गाउँ इकाइको नेपाल विद्यार्थी सङ्घको इकाइ अध्यक्ष भएँ ०४७ देखि ०५५ सम्म । पछि उदय माध्यमिक विद्यालय शान्तिपुरमा ०४७ मा इकाइ सचिव र ०४८ मा निर्वाचित इकाइ अध्यक्ष बनेको थिएँ । सम्भवतः स्कुल तहमा त्यो समयमा पनि प्रतिस्पर्धा गरेर निर्वाचित हुने पहिलो घटना हुन सक्छ त्यो । यति कडा राजनीति लागेको थियो कि गुल्मी क्षेत्र नम्बर १ का लगभग सम्पूर्ण गाविसमा कार्यक्रम गर्न पुगेँ । बाग्लुङ त आफनै जिल्ला भएको हुँदा अधिकांश गाउँ पुगेको छु । फेरि हाम्रो क्षेत्रमा राष्ट्रिय जनमोर्चाको दबाब थियो । उनीहरूको क्षेत्रमा दिउँसै हिँडडुल गर्न पनि गाह्रो थियो । काङ्ग्रेस हो भन्ने थाहा पाए कुटाइ खानुको विकल्प थिएन । पार्टी–पार्टीबीचको लडाइँ र सङ्घर्षमा कम्तीमा ७–८ चोटि टाउको फुटाउनेदेखि गम्भीर मुद्दा लाग्नेसम्मको घटनामा परेँ । जहाँ गयो त्यही लडाइँ र कुटपिट हुने । चरम राजनीतिक तनाव र प्रतिस्पर्धा हुने गर्थ्यो पार्टी–पार्टीबीच । बोलचाल पनि हुँदैनथ्यो ।

०५० मा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, तानसेनमा आईए अध्ययन गर्न आएँ । त्यो कलेज अखिलको गढ थियो । नेविसङ्घलाई चुनाव जित्न एकदम गाह्रो । स्ववियु निर्वाचनमा नेविसङ्घबाट जम्मा एकजना अजय कर्मचार्यले मात्र चुनाव जिते । अहिले उनी पाल्पा काङ्ग्रेसको सचिव छन् भन्ने सुनेको छु । ०५२ पछि उनीसँग भेट भएको छैन ।

पाल्पा बहुमुखी कलेजमा अध्ययन गर्दा म धौलागिरि समन्यव समितिको अध्यक्ष र कलेजको इकाइ सचिव थिएँ । ०५१ मा जाडो बिदामा गाउँ जाँदा राजनीतिक लडाइँमा मुछिन पुगेँ । मलगायत हामी ३ भाइलाई सार्वजनिक मुद्दा लगाइयो । केस दर्ता भइसकेपछि भतिज भक्तसहित तराईको विभिन्न क्षेत्रमा सुरक्षित तरिकाले हिँडियो । ३५ दिनसम्म बाग्लुङ जिल्ला प्रहरीले वारेन्ट जारी गऱ्यो । पछि मुद्दा त जितियो ।

त्यसबेला बाग्लुङमा प्रमुख जिल्ला अधिकारी दोलखबहादुर गुरुङ हुनुहुन्थ्यो । यो मुद्दालाई बलबहादुर केसी दाइले पनि सहयोग गर्नुभएको थियो । दाइ (डा. मनबहादुर केसी) चीनमा मेडिकल पढ्न जानुभएको थियो ।

०५३ सालमा बीए अध्ययन गर्न त्रिचन्द्र कलेजमा भर्ना भएँ । ०५३ देखि २०५८ सम्म त्रिचन्द्रमा अध्ययन गरेँ । त्यतिखेर गगन थापा पनि त्यहीँ बीएस्सी अध्ययन गर्थे । ०५५ मा गगन थापालाई स्ववियु सभापति जिताउन सहयोग गरेँ । हुन त त्यतिखेर त्रिचन्द्र कलेज नेविसङ्घको गढ मानिन्थ्यो । नेविसङ्घको ४ प्यानलबीच प्रतिस्पर्धा हुँदा पनि जित नेविसङ्घकै हुन्थ्यो । अखिलको मत निकै कम थियो ।

०५५ मै नेपाल विद्यार्थी सङ्घ बाग्लुङ क्षेत्र नम्बर २ को क्षेत्रीय अध्यक्ष भएँ । यसका साथै नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमितिको आमन्त्रित सदस्य पनि थिएँ । जिल्ला अध्यक्ष गंगाधर गौतम थिए । एकपटक गलकोटमा नेविसङ्घको जिल्ला अधिवेशन हुँदै गर्दा म र गंगाधर अध्यक्षको प्रत्याशी थियौँ । मलाई केन्द्रीय प्रतिनिधिले सहमति गरेर जान दबाब दिएपछि आफ्नो उम्मेदवारी फिर्ता लिएको थिएँ । केन्द्रीय प्रतिनिधिमा किशोरसिंह राठौर, राजेन्द्र केसी र मिलन बस्नेत गएका थिए । अधिवेशनको समयमा पनि नेविसङ्घ र मसालको राति लडाइँ भएको थियो ।

(नेपाली जनसम्पर्क युएईको संस्थापक सभापति केसी कांग्रेस महासमिति सदस्य हुन्।)