…कोही माओवादी आज बाँकी रहेनन्

…कोही माओवादी आज बाँकी रहेनन्


  • जयप्रकाश आनन्द

प्रज्वल शम्सेर प्रधानसेनापति थिए । प्रधानमन्त्री कार्यालयको मिटिङ हल, जहाँ प्रायः प्रमले प्रतिनिधिमण्डलहरूबाट ज्ञापनपत्र आदि बुझ्ने काम गर्दथे । त्यसदिन मन्त्रीको रूपमा हामी केही बोलाइएका थियौँ ।

सेनापतिको ब्रिफिङ थियो । धेरै कुराहरू भनियो, बताइयो । क, ख, ग र घ गरी माओवादी प्रभाव विस्तारको चार क्षेत्र वारे विवरण दिईदैथ्यो । चार जिल्लाको ‘क’ क्षेत्रमा सिमीत पारिएको माओवादीको विस्तार दुई वर्ष पुरा नहुँदै पच्चीस जिल्लामा भैसकेको रोचक विवरण सेनाको तर्फबाट सचित्र बताइएको थियो । ‘आतंककारी’ सम्बोधन गरिएर यी सब भनिइँदै गर्दा प्रम गिरिजाबाबुको मौनता थियो ।

मैले सेनापतिलाई सोधेको थिए, आतंकको यत्रो तीव्र बिस्तारको अन्तरनिहीत प्रेरक तत्व के होला त ? मलाई लाग्यो– सेनापति त यसको जवाफ दिन पूर्वविचारित र तम्तयारै थिए । हत्केलाका औंलाहरूको रेखाको गिन्ती गर्दै उनले भने ‘सुशासन नहुनु, भ्रष्टाचार, राजनीतिक अस्थिरता आदि त हो नि यसका कारण !’ सेनापतिसँगको प्रतिसम्वाद ठिक थिएन । मैले प्रम गिरिजाबाबुतिर लक्ष्य गरी कुरा राखेँ– ०४८ देखि ०५१ सम्म त यी माओवादीहरू संसदमै थिए । ०५२ को फागुण २ देखि यिनीहरू जनयुद्धको थालिनी नै गरे । के संसदीय कालको पहिलो तीन वर्षको शासनबाट सिर्जित अव्यवस्था नै माओवादी जनयुद्धको प्रेरक तत्व रहेको निष्कर्षमा हामी पुग्न सक्छौँ र ?

म प्रश्नको घेरामा परिसकेकोले भन्नै पऱ्यो– मध्यपश्चिमाञ्चलका चार जिल्लामा केन्द्रीत माओवादीको दुई वर्ष नबित्दै पच्चीस जिल्लामा विस्तारको कारण केही सामाजिक र अर्थ–राजनीतिका मुद्दाहरू हुन् जसले वृहद् संख्याका मानिसलाई हतियार उठाउन हौस्याएको छ । यसको पनि खोजी गर्ने हो कि ? मिटिङ सकियो । कारणको खोजी र त्यसको निदान त्यस बैठकको उद्देश्य थिएन, ब्रिफिङ बैठक थियो त्यो ।

केही दिनपछि म सञ्चारमन्त्रीबाट अन्तै पुऱ्याइएँ । यो कथा कुनैदिन भनुँला । सञ्चारमन्त्री नरहेपछि सुरक्षासँग सम्बन्धित बैठकहरूबाट मेरो किनारा भैसकेको थियो । तर, माओवादी जनयुद्द भनौँ वा जे भनौँ, यसमा व्यापक जनसहभागिताको उत्प्रेरक तत्व गम्भीर र विचारणीय रहेकोमा म प्रतिवद्ध नै थिएँ । आज पनि मेरो मान्यता रहेको छ– चन्द्रशम्सेरले इस्तिहार जारी गरेर बिश्वयुद्धताका नेपाली युवाहरूलाई अनिवार्य रूपमा बेलायती सेनामा भर्ना हुन लगाएको जस्तो उर्दी यसको अन्तरनिहीत कारण होइन ।

पहिलो संविधानसभाको कक्ष भित्र देखिएको वैचारिक, सामुदायिक, जातीय, क्षेत्रीय, भाषिक, पहिचानको आकांक्षा आदिको सशक्त उपस्थिति यसको अकाट्य उदाहरण थियो । माओवादी र मधेसीले समेत यसलाई प्राणवायु दिन सकेन ।

मलाई लाग्दछ, जनयुद्धपश्चात यसका परिणामहरूलाई संस्थागत गराउन नसकेकोले नै आजको दिनसम्म आइपुग्दा यत्रो ठूलो अभियान अतीतको अपराधीकरणमा कार्यमा रूपान्तरित हुन गयो ।

आज माओवादी जनयुद्ध युरोपियनहरूको इसाइकरणको वाहक, राजाको षडयन्त्र, वौद्धिकताविहीन कर्म, फगत हिंसात्मक उद्यम, लुटपाटको प्रवृत्ति, नेपालको लागि भारतको भूराजनीतिक षड्यन्त्रको बल र तत्कालीन अक्षम शासन व्यवस्थाको परिणाम र केही चतुरहरूको धुर्तकर्म आदि जे भनिए पनि यो पूर्ण सत्य भने होइन । यी सब त स्वयम् माओवादीले नै त्यस जनयुद्धको स्वामित्व परित्याग गरेपछिको स्वतः उत्पन्न हुने प्रतिकृयाहरू हुन् । यस अवस्था यसो हुनु स्वभाविक नै हो ।

जे होस्, यति ठूलो अभ्यास एवं परिणामको यति छिटो स्वस्खलनको अर्को उदाहरण बिरलै भेटिएला । तर, दुर्भाग्य नै हो यो कि यसको मूल्याङ्कन गर्नसम्म कोही माओवादी आज बाँकी रहेनन् ।

(पूर्वमन्त्री आनन्दको फेसबुकबाट)