नेपाली-स्वामित्वको कलेजमा कम्बोडियन विद्यार्थी

नेपाली-स्वामित्वको कलेजमा कम्बोडियन विद्यार्थी


  • राजन घिमिरे, अष्ट्र्लिया

छोटो अवधिमा नै विद्यार्थीहरूको विश्वास जित्न सफल सिड्नीको पारामाटामा रहेको सिड्नी सिटी कलेजले कम्बोडियाको बेल्टेइ ग्रुपअन्तर्गत बेल्टेइ इन्टरनेशनल स्कुलका एघार जना विद्यार्थी दुई साता लामो शैक्षिक भ्रमणका लागि मंगलबार सिड्नी ल्याएको छ ।

नेपालीको स्वामित्वमा रहेको सिड्नी सिटी कलेजले विद्यार्थी आदान–प्रदान कार्यक्रमअन्तर्गत कम्बोडियामा रहेको बेल्टेइ इन्टरनेशनलसँग एक वर्षअगाडि आपसी सम्बन्ध गाँसेको थियो । सम्बन्ध गाँसेको एक वर्षपछि एघार सदस्यीय कम्बोडियन विद्यार्थी टोली डेढ हप्ताको अध्ययन भ्रमणका लागि अस्ट्रेलिया आइपुगेको जानकारी कलेजकी कार्यकारी प्रमुख रन्जु थापाले दिएकी छिन् ।

रञ्जुका अनुसार कम्बाडियाबाट आएका दश विद्यार्थी र एक ब्यवस्थापकले कलेजमा करिब आठ दिन नेतृत्व विकाससम्बन्धी कक्षामा सामेल हुनेछन् । ‘यहाँको प्राविधिक शिक्षा र भेट कोर्षको महत्व अनि यसले विद्यार्थी जीवनमा पार्ने सकरात्मक प्रभावलाई हामीले कम्बोडियासँग जोड्ने प्रयास गरेका हौँ । पहिलो प्रयासमा हामी सफल भएका छौँ, आगामी दिनमा हामी नेपालकै दश जोड दुई कलेजहरूबाट समेत शैक्षिक भ्रमणमा विद्यार्थी ल्याउने योजनामा छौँ’– थापाले भनिन् ।

कार्यक्रममा कम्बोडियन बेल्टेइ कलेजकी शैक्षिक उप ब्यवस्थापक सोकोम लीले पहिलोपटक कम्बोडियाका विद्यार्थी शैक्षिक भ्रमणमा अस्ट्रेलिया आएको बताउँदै यसमा सामेल भएर यहाँको शैक्षिक गतिविधि नियाल्न पाउनु गर्वको विषय भएको प्रतिक्रिया दिइन् ।

कलेजका प्राचार्य नरेश थापाले कम्बोडियन विद्यार्थीलाई कलेजको लोगोअंकीत भेष्ट, टोपी, कलमलगायतका सामाग्री उपहारस्वरूप प्रदान गरेका थिए । शैक्षिक भ्रमणमा सहभागी कम्बोडियाका विद्यार्थीहरूले अस्ट्रेलिया भ्रमणबाट आफूहरूले धेरै कुरा सिक्ने अवसर प्राप्त हुने बताए ।