पाठक मञ्च

पाठक मञ्च


pathakmanch‘धूर्त युवतीको जालमा परेँ’
भारतको बिहार राज्यमा स्थायी घर भएको म अगरबत्तीसम्बन्धी व्यवसाय गर्दछु । ०६४ सालमा काठमाडौंको बाङ्गेमुढामा पसल खोलेको थिएँ । उक्त पसलमा सहयोगीको रूपमा काभ्रेतिरका एक युवतीलाई मैले भर्ती गरेको थिएँ । सुनिता त्रिपाठी नामकी ती युवती निकै चलाख हुनुका साथै चञ्चले तथा शङ्कास्पद व्यवहार गर्ने स्वभावकी परिछन् । उनको अनुचित व्यवहार देखिन थालेपछि म सतर्क भएँ । टेकुस्थित एभरेस्ट हार्डवेयरमा काम गर्ने उनका दाइले पनि तिनको चरित्रमाथि टीका–टिप्पणी गर्नुका साथै उनीसँग अलिक सजग रहन सुझाव दिए । आफ्नो स्टाफबारे उनकै आफन्तबाट समेत यस्तो कुरा आएपछि केही त बुझ्नैप-यो भन्ने ठानेर सुनितालाई मैले सोधपुछ गरेँ । यहीँबाट मेरो दुर्दशा सुरु भयो ।
उनले गुण्डाहरू लगाएर विभिन्न नम्बरका फोनबाट मलाई धम्की दिलाउन सुरु गरिन् । त्यसपछि उनलाई कामबाट निकाल्न म बाध्य भएँ । कारोबारको हिसाबकिताब माग्दा हिसाब दिनुको साटो तिनै गुण्डा लगाएर उल्टै ममाथि लुट मच्चाइन् । यस कार्यमा सुनितालाई तिनकी आमाले पनि साथ दिएको मेरो बुझाइ छ । हुँदाहुँदा जनसेवा प्रहरी कार्यालयका प्रहरीसमेत लगाएर उनीसँग आफ्नो हिसाब नै माग्न नपाउने उर्दी चलाइन् । प्रहरी निकायले मेरो केही सुनेन, सुनिताकै इसारामा मलाई हनुमानढोकाका तत्कालिक प्रहरी अधिकारीहरूले समेत दुव्र्यवहार गरे । यति मात्रै कहाँ हो र ? प्रहरी नै साधा भेषमा आएर दुई वर्षअघि मलाई बागबजारबाट अपहरणसमेत गरे । सो क्रममा मलाई एक महिनाजति हनुमानढोकामै बन्धक बनाइयो ।
मलाई आफ्नो कुरा राख्ने अवसर कतै दिइएन । जो–जसकहाँ मैले अन्याय परेको कुरा राखेँ, तिनीहरूले पनि पागल व्यक्तिलाई गर्नेजस्तो व्यवहार गरे । हनुमानढोकाका तत्कालिक एसएसपी जयबहादुर चन्द, एसएसपी सुवोध घिमिरे, डीएसपी अरुण बिसी, इन्स्पेक्टर मञ्जिल मुकुन्ददेखि मन्त्रिपरिषद्का तत्कालीन सचिव कृष्णहरि बासकोटा, गृहका सहसचिव एकमणि, डिल्लीराज पोखरेल, शंकर कोइरालालगायतका पदाधिकारीहरूसँग फिराद गरेको थिएँ, तर सबैबाट षड्यन्त्र मात्र भयो, न्याय मिलेन । भारतीय दूतावास पनि मैले नगुहारेको होइन, तर त्यहाँका तल्ला तहका कर्मचारीको घटिया व्यवहारका कारण उच्च तहका अधिकारीहरूसँग सम्पर्क हुनै सकेन ।
यसरी पराया देशमा म एक निहत्था व्यवसायीले घोर अन्याय सहनुपरेको छ । म हतास भइसकेको छु, तर न्यायको आश मारिसकेको छैन । मेरो आर्तनाद सुनिदिने कसले ? नेपाल सरकार एवम् सरोकारवाला समस्त निकायबाट जवाफ र न्यायको आश गरेको छु ।
– मनमोहन पाण्डेय
हाल : ज्ञानेश्वर ओह्रालो, काठमाडौं, सम्पर्क : ९८४३४५५५३४

बाटो, पेटी जोगाउन ध्यान दिने कि ?
समय–समयमा छिमेकीसँग बारी, साँध र सीमा मिचिएमा समेत घरायसी र छरछिमेकीहरू बोलाई छलफल गरेर आ–आफ्नो सीमा कायम गरी सुरक्षा दिने चलन छ । तर, हाम्रा गौरवशाली प्राध्यापकहरू र हुनेवाला डाक्टर, नेता र प्राध्यापक उत्पादन गर्ने तथा नेपालकै सुविधासम्पन्न त्रिवि शिक्षण अस्पतालमा उपचार गराउने बिरामीहरू एवम् बिरामीका कुरुवा र कर्मचारीसमेतलाई हिँड्न नमिल्ने गरी रातभरि अस्पतालको मूलगेटमा नै होटल तथा कपडा र चुरोट पसलहरू सञ्चालन भइरहेका छन् । तर, हामी अम्मलीहरूलाई त सुविधा नै छ, तर अन्य बिरामीका सेवकलाई त अदालतले नै निषेध गरेका वस्तुहरू बिक्री गर्दा पनि अस्पताल प्रशासन र कर्मचारीहरू मौन बस्नुलाई के भन्ने ? मुलुकको यति ठूलो अस्पतालको दुर्दशा देखिएको छ । यो दुःखद् विषय मात्रै होइन अस्पतालको सुरक्षा र व्यवस्थापनलाई समेत चुनौती र धावासमेत हो भन्दा अत्युक्ति नहोला । अस्पतालको भूमिमाथि हस्तक्षेप हुँदा सम्बन्धित निकाय चुप लागेर मूकदर्शक बनी बस्नुहुँदैन । समयमै तिनको निराकरणका लागि अस्पताल प्रशासन र अस्पतालभित्र विभिन्न पार्टीका झण्डा बोकी बसेका कर्मचारीहरू पनि लाग्नुपर्ने देखिन्छ ।
– रूपा लम्साल
तनहुँ, राईपुर गाविस–५
९८०६७३७१५६