प्रजातन्त्र दिवस भब्य तुल्याउन यस्ता छन् कार्यक्रम

प्रजातन्त्र दिवस भब्य तुल्याउन यस्ता छन् कार्यक्रम


६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने सरकारले तय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी भब्य रुपमा दिवस मनाउने निर्णय गरेको हो ।

दिवसका अवसरमा फागुन ६ गते दिपावलीसँगै उपत्यकाका महानगर र नगरपालिकाले आआफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानरसहित नगरको सरसफाइ र सजावट गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै फागुन ७ गते मुख्य दिन राष्ट्रपतिको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरिने समितिले जनाएको छ ।

सोही दिन बिहान सेनाले बिगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि र बेलुन उडाउने तथा शहीदको आत्माको चिरशान्तिको कामनाका साथ पूजापाठ र प्रार्थनाको कार्यक्रम गरिनेछ । कार्यक्रममा उपराष्ट्रपति मूल समारोहमा समितिका अध्यक्ष एवं प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, संवैधानिक आयोगका अध्यक्ष र सदस्य, मन्त्रीलगायतको उपस्थिति रहनेछ ।

उपत्यका बाहिर प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा तथा जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा दिवस मूल समारोह समिति बनाइ विभिन्न कार्यक्रम गरिनेछ । काठमाडौँमा दिवस मनाउनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमिति र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा व्यायाम व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

जिल्ला सदरमुकामबाहेकका स्थानीय तहमा सम्बन्धित स्थानीय तहको प्रमुख तथा अध्यक्षको संयोजकत्वमा समिति गठन गरी प्रभातफेरी, प्रवचन, गोष्ठी, सांस्कृतिक कार्यक्रम तथा सरसफाइ कार्यक्रम गरिनेछ । यस्तै फागुन ६ देखि ८ गते तीन दिन साँझ दिपावलीसमेत गरिने मूल समारोह समितिले जनाएको छ । आज बसेको समितिको बैठकले विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्य दुतावासमा विभिन्न कार्यक्रमसहित तीनै दिन साँझ दिपावली गर्ने समितिले निर्णय गरेको छ ।