गण्डकी प्रदेशलाई मेयर कप सिभिल च्याम्पियनसीपको उपाधि

गण्डकी प्रदेशलाई मेयर कप सिभिल च्याम्पियनसीपको उपाधि


गण्डकी प्रदेशले मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसीपको उपाधि जितेको छ । प्रतिकुल मौषमका कारण निर्धारित मितिभन्दा एक दिन ढिला माघ २७ गते आइतबार सम्पन्न फाइनल खेलमा गण्डकीले नमुनादीप युवा क्लबलाई २५–२२, २५–२१, र २५–१८ ले पराजित गऱ्यो । आइतबार नै नभएको तेस्रो स्थानको खेलमा शान्तिदीप युवा क्लबले प्रदेश १ लाई २५–२३, २०–२५, २५–१५, २३–२५, १६–१४, ले पराजित गऱ्यो ।

प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले २ लाख, तेस्रो हुने टोलीले एक लाख तथा चौथो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाए । यसैगरी, प्रतियोगितामा गण्डकी प्रदेशका कप्तान हरि पाण्डे उत्कृष्ट खेलाडी घोषित भए । पाण्डेले १५ हजार रुपैयाँ पुरस्कार पाए । नमुनादीपका कुलबहादुर थापा उत्कृष्ट स्पाइकर तथा शान्तिदीपका प्रताप खवास उत्कृष्ट सर्भर भए । अन्य चार व्यक्तिगत विधाका पुरस्कार गण्डकी प्रदेशनको नाममा रह्यो । राजकुमार गुरुङ उत्कृष्ट प्रशिक्षक, राजन दर्लामी उत्कृष्ट लिबरो, सुजन चोखाल उत्कृष्ट लिफ्टर र बलिराम चौधरी उत्कृष्ट ब्लकर भए ।

विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल र मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतलगायत अतिथिले पुरस्कार प्रदान गरे । रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिता २२ माघबाट सुरु भएको थियो । प्रतियोगितामा मन्थली नगरपालिका मुख्य प्रायोजक तथा मुख्य सहआयोजक रहेका थिए । यसैगरी, रामेछाप नगरपालिका, सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र दोरम्बा गाउँपालिका सहआयोजक रहेका थिए ।

कुल ७ लाख २५ हजार पुरस्कार राशि रहेको प्रतियोगितामा ६ प्रादेशिक टोलीसहित रामेछापका तीनसहित टोलीको सहभागिता रहेको थियो । रामेछापका नमुनादीप युवा क्लब, शान्तिदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको थियो । प्रायः सबै टोलीमा राष्ट्रियस्तरमा परिचित खेलाडी रहेका थिए । गत संस्करणमा सुदूरपश्चिमको टोलीले उपाधि जितेको थियो भने शान्तिदीप युवा क्लब उपविजयी भएको थियो ।