भद्रकाली कपमा भ्याली पब्लिकलाई दोहोरो उपाधि

भद्रकाली कपमा भ्याली पब्लिकलाई दोहोरो उपाधि


भ्याली पब्लिकले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । भ्याली पब्लिक सिनियर छात्र र सिनियर छात्रा दुवैतर्फ उपाधि जित्दै च्याम्पियन बनेको हो । हात्तीगौंडास्थित आयोजक भद्रकाली स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा भ्याली पब्लिकले बीएनएलाई २३–१७ ले पराजित गऱ्यो । भ्याली पब्लिकका साजन गुरुङले १५ अंक जोडेका थिए । छात्राको उपाधि भिडन्तमा भ्याली पब्लिकले टीआईएलाई २३–१८ ले हरायो । भ्याली पब्लिककी सुजु गुरुङले ९ अंक जोडेकी थिइन् ।

छात्रमा सुमन चापागाईं तथा छात्रामा सुजु गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै भ्याली पब्लिकका हुन् । भ्यालीका द्वय साजन गुरुङ छात्र तथा सुमिना तामाङ छात्रामा उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । छात्रमा बीएनएका सिसम अधिकारी तथा छात्रामा भ्याली पब्लिककी कञ्चन मगर प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सिसमले ७५ तथा कञ्चनले ४२ अंक जोडेका थिए ।

विजेतालाई नेपालका बास्केटबल संघका महासचिव नरेन्द्र थापा, भद्रकालीका निर्देशक अच्युत केसीलगायतले पुरस्कृत गरे । माघ २१ गतेदेखि शुरु प्रतियोगिताको छात्रमा १६ तथा छात्रामा ८ टिम सहभागी थिए ।

त्यस्तै सो अवसरमा भद्रकालीका बास्केटबल प्रशिक्षक किशोर थपलिया २० हजार नगदसहित सम्मानित भएका थिए । किशोरलाई उनको कामको मूल्यांकन गर्दै भद्रकालीका संस्थापक निर्देशक कृष्णप्रसाद अधिकारीले स्कुलको तर्फबाट १० हजार नगद प्रदान गरे । त्यस्तै, भद्रकालीकी को–फाउन्डर सुनिता अधिकारी तथा प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले व्यक्तिगत रूपमा नगद समान ५–५ हजार रुपैयाँ किशोरलाई प्रदान गरेका थिए ।