नेपाललाई अन्धकार राख्ने षडयन्त्र जारी रहेको प्रधानमन्त्रीको दाबी

नेपाललाई अन्धकार राख्ने षडयन्त्र जारी रहेको प्रधानमन्त्रीको दाबी


विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग रहन प्रधानमनत्रीले सुझाव दिएका छन् । गृह मन्त्रालयमा आज आयोजित ६९औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उनले यो सरकार नभए अर्को सरकार बनाउने र अहिलेको व्यवस्था नभए व्यवस्था बदल्ने बाटो हुँदाहुँदै, संविधान संशोधन गर्ने व्यवस्था हुँदाहुँदै जनतामा फेरि अन्योल सिर्जना गर्ने काम भइरहेको भन्दै चिन्ता प्रकट गरे ।

जनताले छानेको संविधान र प्रणालीअन्तर्गत जनताले छानेको संसद् रहेको र न्यायाधीश पनि जनताको प्रतिनिधिको अनुमोदनबाट मात्रै हुन सक्ने भएकाले लोकतन्त्रमा जनता नै सर्वोपरि हुने तर्क गर्दै प्रधानमन्त्री ओलीले विगतको उपलब्धिलाई रक्षा र वास्तविक सदुपयोग गर्दै सुशासन र विकासको बाटामा देशलाई अगाडि लैजाने अभिभारा देशको सामु आएको बताए । विगतको भन्दा उन्नत र फराकिलो लोकतन्त्रमा आएको उनको भनाइ थियो ।

अहिले ल्याएको लोकतन्त्रले नयाँ बाटो खोजेर नयाँ युगमा नेपाललाई प्रवेश गराएकाले अहिले लोकतान्त्रिक अभ्यासअनुसार देश अगाडि बढ्न थालेको दाबी पनि प्रधानमन्त्रीले गरे ।

अहिले पनि धेरै चुनौती रहेको उल्लेख गर्दै उनले भने, ‘केही दिन अघि मात्रै अरुण तेस्रोको मेशिन जलाउने र कार्यालयमा क्षति पुऱ्याउने काम भयो, यो एउटा आयोजनाको मेशिन जलाइएको र तोडफोड गरिएको मात्रै होइन, नेपाललाई बिजुलीकरण गर्नु हुनुहुँदैन, ऊर्जा उत्पादन गर्नु हुँदैन, वैदेशिक लगानी आउनुहुँदैन र विकास गर्न हुँदैन भन्ने उद्देश्यअन्तर्गत नेपाललाई अन्धकार युगमा राख्ने उद्देश्यले गरिएको आपराधिक क्रियाकलाप हो, यसलाई राजनीतिसँग जोड्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले प्रजातन्त्र दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

pic: rss