बालुवाटारमा ‘पूर्व पश्चिम रेल’ घन्किएपछि ओलीले भने, ‘आजै कुदाइदिने ?’

55 Shares

सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आज प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमा थियो ।

एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गरे । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारको माहोल सङ्गीतमय बन्न पुग्यो ।

‘सानी छोरीले गीत गाउँछिन् अब’, प्रधानमन्त्री ओलीको आग्रहमा पाँच कक्षामा अध्ययनरत ११ वर्षीय सोनी विकले जुरुक्क उठेर गीत गुनगुनाउन थालिन् ।

जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो ।

तररर.. ताली बज्यो । प्रधानमन्त्री ओलीले एक कविको रचना सुनाउँदै भने, ‘मान्छेहरुलेनै हो गलत काम गर्ने र गरीब बनाउने, विधिले आफ्ना सबै सन्तानलाई समान रुपले हेर्छ ।’ त्यसकारण विधिले होइन, तिमीलाई म अर्काे गीत लेखिदिन्छु, त्यो गाऊ । सोनीले मुन्टो हल्लाए ।

‘अब अर्काे गीत गाउन,’ उनको गायकी मन पराएर प्रधानमन्त्रीले फेरि आग्रह गरे ।

फेरी कहाँ आउँछ घुमेर
यो बालापनको उमेर…

गीत गाउनमा पोख्त सोनुको क्षमता असाधारण रहेको प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले कार्यालयका कर्मचारीलाई गीत रेकर्ड गर्न निर्देशन दिनुभयो । यो गीत रेकर्ड भएको जानकारी पाएपछि अर्काे रेकर्डको तयारीमा रहेको गीत सोनुले प्रधानमन्त्रीका सामु गाए ।

यही धरतीमा जन्में यही धरतीमा हुर्कें
तर म अटिन..
एक्लै छाडी काहाँ गयौ बाबा
तर मलाई लगिनौँ

प्रधानमन्त्रीलाई गीतसङ्गीत सुन्ने चाहना बढ्दै गयो । उनले बालबालिकालाई सङ्केत गर्दै भने, ‘अरू कसैले उनलाई च्यालेञ्ज गर्छ ।’ करण सुनार, हिमनाथ चन्द, रेणु थापा र लक्ष्मी रावलले ‘कान्छी हे कान्छी’ र ‘मोहनी लग्ला है’ गीत प्रस्तुत गरे ।

यतिबेलासम्म प्रधानमन्त्री निवासको सानो बैठक कक्ष सङ्गीतमय बनिसकेको थियो । उपस्थित आयोजक प्रतिनिधि, बालबालिका तथा विद्यालयका शिक्षक र संस्थापक बालबालिकालाई हौसला दिँदै ताली पड्काउन थाले । प्रधानमन्त्रीको हातबाट प्रमाणपत्र वितरणका लागि वल्र्ड बुक अफ रेकर्ड नेपालले आयोजना गरेको कार्यक्रममा गीतसङ्गीतको कुनै तयारी थिएन । तर प्रधानमन्त्रीले एक्कासि कार्यक्रमलाई सङ्गीतमय पारे ।

उनले बालबालिकासामु फेरि सोधे, ‘अनि नाच्नेमा च्यालेञ्ज गर्ने कोही छ ?’ गीत सङ्गीतमा पोख्त बालबालिकामध्ये ६ जना जुरुक्क उठे । बालबालिकासँग प्रधानमन्त्री पारिवारिक रुपमा प्रस्तुत भए । एक जनाले मोबाइलबाट चर्चित गीत ‘पूर्व पश्चिम रेल’ बजाउने बित्तिकै प्रधानमन्त्रीले फेरि ठट्यौलीमा भने, ‘मैले बनाउनै बाँकी छ, तिमीहरुले आज कुदाउने भयौ ।’ उक्त गीतमा बालबालिकाले समूहमा सुन्दर नृत्य प्रस्तुत गरे । प्रधानमन्त्रीकै आग्रहमा स्वस्तिका भण्डारी र मनिशा विकले पनि अर्काे नृत्य देखाए ।

बालबालिकाको प्रतिभालाई नजीकबाट हेरिरहेका प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यको मन मानेन । कार्यक्रमकै बीच शाक्यले घोषणा गरिन्, यो प्रमाणपत्रसँगै परिवारका तर्फबाट रु एक लाख अवार्डकै रुपमा प्रदान गर्न चाहन्छु ।


वल्र्ड बुक्स अफ रेकर्डको आयोजनामा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत भएको प्रमाणपत्र वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै राज्यले पनि सहयोग गर्ने बताए । स्वार्थबिना चुपचाप भएको कामको आज मूल्याङ्कन भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बिना स्वार्थ, बिना कुनै प्राप्ति, मानवीय भावनाबाट परोपकार गर्दै बिना दोष कसैलाई सजाय हुनुहुँदैन भनेर लागेको छ, जसको कुनै आकाङ्क्षा छैन, उसले पुरस्कार पाउँदा हामी खुशी छौँ ।’

‘उहाँहरुको ध्यान अहिले पनि पुरस्कारमा छैन, कैलालीमा रहेका त्यस्ता बालबालिकामा छ, उहाँहरुलाई बधाई तथा सफलताका लागि शुभकामना दिन्छु,’ प्रधानमन्त्रीले थपे । राज्यले खासै सहयोग गर्न नसके पनि ध्यान गएको बताउँदै उनले उक्त कामलाई असाधारण विशेषता र असाधारण कामको सङ्ज्ञा दिए ।

यी बालबालिकालाई अभिभावकत्व दिनु चानचुने कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बालबालिकासँग आफ्नो पनि भावनात्मक सम्बन्ध जोडिएकोे बताए । केही गरेँ भनेर धाक लगाउने अवस्था नभए पनि यस्ता बालबालिकालाई केही गर्ने सोच बनाएको र सरकारको ध्यान जाने आश्वासन दिँदै उनले सिङ्गै देशलाई शिक्षित बनाउने अभियानमा सरकार रहेको बताए ।

सदनका संस्थापक राजकुमार पुनले सम्मानपत्र पाउँदा सपना जस्तो लागेको बताउँदै कुनै पनि विद्यालयले भर्ना नलिएको अबोध बालबालिकालाई पठनपाठन र पालनपोषणका लागि नौ वर्षअघि पहिचानसहितको स्कूल स्थापना गरेको जानकारी दिए । सम्मानले आज महत्पूर्ण काम गरिएछ जस्तो महसुस भएको उनको भनाई थियो ।

योजनाबद्ध ढङ्गले स्कूल स्थापना नगरेको उल्लेख गर्दै उनले भने, ‘कैलालीमा मात्रै तीन सय यस्तै बालबालिका शिक्षाबाट वञ्चित छन्, आफन्त र निजी विद्यालयले निकालेका छन्, उनीहरुलाई पनि ल्याउनुछ ।’

राससका अनुसार कार्यक्रममा वल्र्ड बुक्स अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटवालले नेपालको महत्वपूर्ण क्षेत्र र सम्पदाहरुलाई विश्वसामु चिनाउने प्रयास गरेको बताउँदै अध्ययनमा यो विद्यालय विश्वमै पहिलो भएको दावी गरे । उनले विश्वका ३२ मुलुकमा संस्थाले सूचीकृत गर्ने काम गर्दै आएकामा यसअघि नेपालको पशुपतिनाथ र लुम्बिनीलाई सूचीकृत गरिसकेको जानकारी दिए ।

55 Shares

प्रतिक्रिया