बीपीको नाम मेटाउन लागेको भन्दै कांग्रेसले दियो कडा चेतावनी

बीपीको नाम मेटाउन लागेको भन्दै कांग्रेसले दियो कडा चेतावनी


बीपी कोइरालाको नाममा वीरगञ्जमा रहेको उद्यानको नाम परिवर्तन गर्न खोजिएको भन्दै नेपाली काङ्ग्रेसले आपत्ति प्रकट गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी सो सम्बन्धी पूर्वनिर्णयलाई तत्काल यथास्थितिमै कायम राख्न र यथाशिघ्र बीपी उद्यान निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित पक्षसँग माग गरेको छ ।

पार्टीका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको नाममा वीरगञ्जमा गर्ने निश्चित भएको बीपी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथ प्रदेश नं २ सरकारका मुख्यमन्त्रीले शिलान्यास कार्यक्रम गरेको भन्दै काङ्ग्रेसले ध्यानाकर्षण भएको जनाएको हो ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही माघ २४ गते बसेको बैठकले सो सम्बन्धमा गरेको निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न बीपीको नामको मात्र नभई नियत र निषेधको राजनीतिको हो भनी टिप्पणी गरे । बीपीको नाममा उद्यान निर्माण गर्न १० विगाह जग्गा खरीद भइसकेको र प्रक्रिया अघि बढेको तथ्य नजरअन्दाज गरेर प्रदेश नं २ ले अर्कै नाममा पार्क निर्माण गर्न गत माघ १६ गते शिलान्यास गर्नु दुःखद हो भन्ने धारणा प्रवक्ता शर्माले राखे ।

बताइएअनुसार नेपाल यातायात संस्थान र वीरगञ्ज उपमहानगरपालिकाबीच रु १० करोडमा सो जग्गा खरीद बिक्री सम्झौता भई उपमहानगरपालिकाको नाममा जग्गा पास भएको थियो । विसं २०६० पुुस २४ गते जारी जग्गा धनीपूर्जामा मन्त्रिपरिषद्को २०६० कार्तिक २७ को निर्णय बमोजिम उपमहानगरपालिकाले बेचबिखन एवं हक हस्तान्तरण गर्न नपाउने र बीपी उद्यानबाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपाउने उल्लेख छ ।

तत्कालीन श्रम तथा यातायातमन्त्री डा. प्रकाशचन्द्र लोहनीले एक समारोहका बीच वीरगञ्जमा बीपी उद्यानको शिलान्याससमेत गरेका थिए । बीपीका नाममा उद्यान निर्माण गर्ने उद्देश्यका साथ जग्गा प्रबन्ध भई बीपी उद्यानकै नाममा शिलान्यास समेत भइसकेको लगायत तथ्य नजर अन्दाज गरेर अघि बढ्ने प्रयास गरिएको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको प्रवक्ता शर्माले बताए । उक्त कार्यलाई तत्काल सच्याउन आग्रह गर्दै अन्यथा संसददेखि सडकसम्म कडा दबाबको सामना गर्नुपर्ने चेतावनी उनले दिए ।