प्रजनन केन्द्र हुर्काइएका पन्ध्र गोही राप्तीमा छोडियो

प्रजनन केन्द्र हुर्काइएका पन्ध्र गोही राप्तीमा छोडियो


घडियाल प्रजनन केन्द्र कसरामा हुर्काइएका १५ गोहीलाई विशिष्ट अतिथिको उपस्थितिमा शनिबार राप्ती नदीमा छाडिएको छ ।

नेपालका लागि बेलायती राजदूत रिचर्ड मेरिस, जेडएसएल लन्डनका महानिर्देशक डोमिन जर्मसी, राष्ट्रिय प्रतिनिधि हेमसागर बराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक सरिता ज्ञवाली, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका सहायक रथी होमनाथ दवाडीलगायतको उपस्थितिमा गोही नदीमा छाडिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार यस वर्ष सयको हाराहारीमा गोही छाड्ने कार्यक्रम रहेको छ । कसरामा हुर्काएर हालसम्म देशका विभिन्न नदीमा एक हजार ३ सय ८० गोही छाडिएको उनले बताए । पाँच वर्ष उमेरका गोहीलाई नदीमा छाड्ने गरिन्छ । प्रजनन केन्द्रमा हाल ५०० भन्दा बढी गोही रहेका छन् ।

घडियाल प्रजनन केन्द्र कसरामा हुर्काएर हालसम्म देशका विभिन्न नदीमा एक हजार ३ सय ८० गोही छाडिएको छ

प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार हाल छाडिएका गोहीमध्ये एउटा भाले हो भने अन्य पोथी हुन् । नदीबाट अण्डा संकलन गरी प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्काउने गरिन्छ ।

पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।

राप्तीमा प्रजनन केन्द्रमा हुर्काएर हालसम्म ७०० गोही छाडिसकिएका छन् भने नारायणीमा ३९९ गोही छाडिएका छन् । हालसम्म कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छोडिसकिएका छन् । नेपालका नदीमा छाडिएका गोही पानीसँगै भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् ।