नेपालीको प्रमुख गन्तब्य बन्दै पर्यटकीय टापु माल्टा

नेपालीको प्रमुख गन्तब्य बन्दै पर्यटकीय टापु माल्टा


  • डिल्लीराम अम्माई, युरोप

गैरआवासीय नेपाली संघले आफ्नो ८०औँ शाखाको रुपमा माल्टा राष्ट्रिय समन्वय परिषदको गठन गर्दै छ । आगामी १२ फेबूअरीको बेलुका १७ः३० बजे माल्टाको सान्गाल्जान सहरस्थित अन्नपुर्ण रेस्टुरेन्ट हलमा हुने एक भेलाले गैरआवासीय संघ अन्तर्राष्ट्रिय परिषदका वरिष्ठ उपाध्यक्ष कुमार पन्तको प्रमुख अतिथ्यतामा एनआरएनए माल्टाको विधिवत स्थापना गर्ने छ । जसमा एनआरएनए युरोप संयोजक शिव बरुवाललगायत अभियन्ताको उपस्थिति रहने जनाइएको छ ।

उक्त दिन समस्त माल्टावासी गैरआवासीय नेपालीहरूलाई भेलामा उपस्थित हुनको लागि आयोजकले विशेष आह्वान गरेका छन् । उपस्थितिको लागि पूरा ठेगाना Annapurna Restaurant,Triq Santu Wistin San Giljan Malta, San Giljan, Malta सूचित गरिएको छ ।

युरोपको एक अति विकसित पर्यटकीय देश हो माल्टा । यो भूमध्यरेखीय प्रदेशमा र भूमध्य सागरको बीचमा रहेको टापु देश भएकोले यहाँको हावापानी अत्यन्त राम्रो मानिन्छ । न्यानो हावापानी भएका टापुहरूको देश माल्टामा लगभग ४–५ हजारको हाराहारीमा नेपालीहरू बसोबास गरेको अनुमान छ । त्यो देशलाई बेलायतको नेपाली दुतावासले हेर्ने गरेको छ ।

माल्टा सिसिली र उत्तर अफ्रिकी तटबीच भूमध्यसागरको एक द्वीप समुह हो । यो राष्ट्र रोमन, मोर्स, सेन्ट जोन, फ्रान्स र ब्रिटिससहित धेरै राजाहरूले पटक–पटक गरेर सासन गरेको इतिहासमा उल्लेख छ । यो देशमा नहेरी नहुने धेरै पौराणिक किल्लाहरू, प्राग ऐतिहासिक मन्दिरहरू र सफलीनी हाइपोजियम हल लगायत लगभग चार हजार बीसी पुरानो चिहान कक्षहरूको एक जटिल परिसर पनि छ । दलालहरूले विभिन्न प्रलोभन देखाएर विद्यार्थी एवम् कामदार भिषामा नेपालीहरू माल्टा पुऱ्याइरहेको र केही नेपाली बिचल्लीमा परेका खबरहरू समेत मिडियामा आउने गरेका छन् ।