दिदीबहिनी महोत्सवमा ‘राष्ट्रिय भलिबल’ हुँदै

दिदीबहिनी महोत्सवमा ‘राष्ट्रिय भलिबल’ हुँदै


बृहत् एघारौँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियो दिदीबहिनीको नवौँ वार्षिकोत्सवका अवसरमा सञ्चालन हुने दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल माघ अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । आयोजक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जकी अध्यक्ष कल्पना चापागाईंले उक्त कुराको जानकारी गराएकी हुन् । पर्वतको सदरमुकाम कुश्मा बजारमा माघ २५ देखि फागुन ५ सम्म सञ्चालन हुने बृहत् एघारौँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवका दौरान माघ २८ देखि फागुन १ सम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

कम्तीमा ६ टोलीबीच हुने प्रतियोगिताको विजेताले २ लाख, दोस्रो टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीले १० हजार, विधागत ६ उत्कृष्टले जनही ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लबसहित न्यु डायमन्ड एकेडेमी, पश्चिमाञ्चलको टिम, आयोजक दिदीबहिनी क्लबको सहभागिता रहने लगभग निश्चित भएको अध्यक्ष चापागाईंले बताएकी छिन् । खेलको माध्यम र प्रतिस्पर्धामार्फत राष्ट्रको गौरव बढाउने, कला र संस्कृतिको संरक्षण र घरेलु वस्तुको प्रवद्र्धन गर्दै महिलाको क्षमता अभिवृद्धि तथा समानताको आवाज बुलन्दित गर्न चेतना अभिवृद्धि गर्ने महोत्सवको उद्देश्य रहेको अध्यक्ष चापागाईंको भनाइ छ ।

महोत्सवका दौरान सञ्चालन गरिने खुला दौड प्रतियोगिताको विजेताले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दौडमा महिला–पुरुषले एकैपटक दौडने छन् । भलिबल प्रतियोगिताको उद्घाटन माघ २८ गते दौड आयोजना गर्ने योजना रहेको छ । यस वर्ष महिला भलिबल, दौडसहित प्रथम दिदीबहिनी डान्स आइडल, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट ¥याली तथा झाँकी प्रदर्शन महोत्सवका आकर्षक हुन् ।

पर्वतका सातवटै पालिकामा निःशुल्क स्वास्थ्य शिविर, विभिन्न राष्ट्रियस्तरका लोकगायकगायिकाको साङ्गीतिक प्रस्तुति, हास्यव्यङ्ग्य प्रस्तुति, जनचेतनामूलक कार्यक्रम प्रस्तुति र ज्येष्ठ नागरिक, अनाथ बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।