अष्ट्रेलियामा विस्तार हुँदै इन्द्रेणी

अष्ट्रेलियामा विस्तार हुँदै इन्द्रेणी


  • राजन घिमिरे, अष्ट्रेलिया

१२ वर्ष अगाडि चितवनबाट अष्ट्रेलिया हानिएका थिए लक्ष्मण सापकोटा । विद्यार्थी जीवनका हरेक दुःखसुख तथा उतारचढाव पार गर्दै अगाडि बढेका लक्ष्मण यतिबेला अष्ट्रेलियाको सिड्नीमा स्थापित ब्यवसायिका रूपमा चिनिन्छन् ।

नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नीको रगडेलस्थित इन्द्रेणी फङ्सन सेन्टर सन्चञ्लन गरेर आफ्नो ब्यवसाय अगाडि बढाएका थिए उनले ।

दुई वर्षअगाडि सञ्चालनमा आएको इन्द्रेणी फङ्सन अहिले सिड्नीमा कुनै पनि कार्यक्रम गर्ने आयोजकहरूको पहिलो छनौटमा पर्ने गरेको छ । हरेक किसिमका कार्यक्रम आयोजना गर्न उपयुक्त मानिएको इन्द्रेणीलाई लक्ष्मण अन्य शहरहरूमा पनि लैजाने तयारीमा जुटेका छन् ।

‘अन्य शहरमा रहनुभएका नेपालीहरूकै सल्लाह र मागअनुरूप नै इन्द्रेणी फङ्सनलाई बाहिर पनि लैजाने योजनामा छु,’ लक्ष्मणले भने । उनले ब्यवसायसँगै आफ्नो संस्था इन्द्रेणी इन्टरटेनमेन्ट मार्फत वर्षेनी १५-२० जना कलाकार नेपालबाट अष्ट्रेलिया ल्याई प्रवासमा नेपाली कला र संगीतको क्षेत्रलाई विस्तार गर्ने काम पनि गरिरहेका छन् ।

सपरिवार सिड्नीमा बस्दै आएका लक्ष्मण आफू सधैं केही नयाँ गरौँ भन्ने सोचमा रहने बताउँछन्।

यसैबीच उनले नेपालीहरुको बाक्लो बस्ती रहेता पनि विदेशी ग्राहकको रोजाईलाई मध्यनजर गरेर सिड्नीको कोग्रामा क्याफे पनि सञ्चालनमा ल्याउन लागेका छन् । इन्द्रेणी नामलाई ब्राण्डको रूपमा स्थापित गर्ने लक्ष्य बोकेका लक्ष्मणले यो क्याफेको नाम ‘क्याफे इन्द्रेणी ‘ राखेका छन् ।

अबको दुई सातापछि सञ्चालनमा आउने क्याफे इन्द्रेणीलाई लक्ष्मणले विस्तार गर्दै नेपाल पनि पुऱ्याउने लक्ष्य लिएका छन् । करिव २० जना नेपालीलाई रोज़गारी दिएका लक्ष्मणले आफू यो ब्यवसायमा अगाडि बढ्न आफ्नी धर्मपत्नी, परिवार र अष्ट्रेलियामा रहेका नेपाली समुदायको साथ र सहयोग कहिले नभुल्ने बताउँछन्।

विशेष गरेर नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरूमा लक्ष्मणको सहयोग र साथको पनि चर्चा हुने गरेको छ ।