आर्थिक वृद्धिका लागि चीनको अल्पकालीन, दीर्घकालीन नीति

आर्थिक वृद्धिका लागि चीनको अल्पकालीन, दीर्घकालीन नीति


आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चीनद्वारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने नीति लिएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक, जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थ्विद झु हाइविनले बताएका छन् ।

विश्व अर्थतन्त्रमा देखिएको समस्याबीच चीनले अवलम्बन गरेको सहयोगी नीतिहरूका कारण आफ्नो मुलुकको आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न बेइजिङ सफल भएको उनले बताए ।

‘चीनले आफ्नो आर्थिक समस्यालाई चक्रीय–प्रतिरोधी आर्थिक तथा मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याई आर्थिक वृद्धिदरमा देखिएको दवावलाई अल्पकालका लागि सहयोग गर्ने तथा दीर्घकालका लागि संरचनागत सुधारलाई निरन्तरता दिनेछ,’ झुले भने ।

अमेरिका चीन–ब्यापार विवाद तथा अन्य बाह्य तनावका वावजुद सन् २०१८ मा चीनको अर्थतन्त्रमा अघिल्लो बर्षको तुलनामा मन्द विस्तार देखिने भएपनि ६.६ प्रतिशतको दीगो आर्थिक वृद्धिदर कायम रहने उनले बताए ।

‘चिनियाँ आर्थिक नीतिनिर्माताहरूले आर्थिक वृद्धिदरलाई स्थायित्व दिनका लागि चिनियाँ सामानमा कर तथा शुल्क कटौति गर्ने, उपयोग तथा लगानीमा वृद्धि गर्ने तथा रोजगारीका अवसरलाई थप प्रोत्साहन गर्नेजस्ता सहयोगात्मक उपायहरू अवलम्वन गरेका छन्, उनले भने ।’

सन् २०१९ का लागि मुलुकको कुल ग्राहस्थ उत्पादनको १.२ प्रतिशत बराबरको कर कटौति गरेरै भएपनि कुल ग्राहस्थ उत्पादन वृद्धिदरमा ०.४६ प्रतिशत अङ्कको सहयोगका लागि योगदान गर्ने अनुमान झुको रहेको छ ।

चीनको खपतमा सन्तुलन गुमेको अवस्था रहेका ‘भ्रामक’ तथ्यहरू बाहिर आउने गरेका भनी विश्व अर्थजगतमा चर्चा चलिरहेका समय उनको दृष्टिकोण आएको हो । चीनले गाडीको कारोबारमा देखिएको कमजोर अवस्थाका कारण गत बर्ष खपतमा मन्द वृद्धि देखिएको चीनको दावी छ ।

कार विक्री बाहेकका खर्चमा चीनको आर्थिक वृद्धिदर सन्तुलित नै देखाइएको छ । यस बर्ष पनि चीनले कर कटौति र सहयोगी नीतिका कारण आर्थिक वृद्धिदरलाई प्रोत्साहन गर्ने देखिएको उहाँको तर्क छ ।

चीनको स्थिर सम्पत्तिमा अघिल्लो बर्षको तुलनामा यस बर्ष ५.७ प्रतिशतको वृद्धि आउने झुको अनुमान रहेको छ । गत बर्ष ५.९ प्रतिशतको वृद्धिदर रहेकोमा यसमा सन् २०१९ मा ०.२ प्रतिशतको सामान्य कमी देखिएको छ । उनले तर चीनको संरचनागत लगानीमा पुनः वृद्धि हुने तर धितो बजार लगानीमा सामान्य अवस्था रहने उनले बताए । (रासस/सिन्ह्वा)