‘क्रिकेट रंगशाला’ले जुरायो मलेसियामा धुर्मुस-सुन्तली साँझ

‘क्रिकेट रंगशाला’ले जुरायो मलेसियामा धुर्मुस-सुन्तली साँझ


चितवनको भरतपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन हास्य कलाकर सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) मलेसियाको विभिन्न सहर पुगेका छन् ।

धुर्मुस–सुन्तली साँझको आयोजना गर्दै उनीहरु मलेसिया पुगेका हुन् । झन्डै तीन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ सहयोग पाउने विश्वास धुर्मुस-सुन्तलीले व्यक्त गरेका छन् ।

‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ नाम दिइएको सो कार्यक्रममा धुर्मस-सुन्तलीसँगै चर्चित लोकगायक बद्री पंगेनी, चर्चित गायिका मेलिना राई, चर्चित लोकगायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ्गको सहभागिता थियो ।

सिटी एक्सप्रेसले रंगशाला निर्माणाको सहयोगका लागि मलेसियाका तीन शहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’को आयोजना गरेको हो । क्वालालम्पुर र पेनाङपश्चात आज जोहरबारुमा अन्तिम कार्यक्रम हुने आयोजकले जनाएको छ ।