तनहुँ जलविद्युतको विद्युत् गृह र ट्रान्समिसन लाइन निर्माण सुरु

तनहुँ जलविद्युतको विद्युत् गृह र ट्रान्समिसन लाइन निर्माण सुरु


एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण प्रक्रिया शुरु भएको छ ।

आयोजनाको दोस्रो प्याकेजअन्तर्गत सम्झौता भएबमोजिम चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पोरेशन लिमिटेडले विद्युत् गृह निर्माणको प्रक्रिया शुरु गरेको हो । कम्पनीले हाल कार्यालय स्थापनालगायतको काम गरिरहेको आयोजनाका साइट इञ्चार्ज विदुर अधिकारीले जानकारी दिए ।

उनले भने, ‘ठेक्का सम्झौता भएबमोजिम काम शुरु गर्नका लागि कम्पनीका कामदार परिचालन भएका छन् ।’ आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेजका लागि सिनो हाइड्रोसँग तीन अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि कर बाहेक)मा सम्झौता भएको थियो ।

अधिकारीका अनुसार आयोजनाको ट्रान्समिसन लाइन निर्माणका लागिसमेत ठेकेदार कम्पनीले काम शुरु गरिसकेको छ। उनका अनुसार ट्रान्समिसन लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीले जिम्मा पाएको छ ।

नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि भने केही अन्यौल सिर्जना भएको छ । मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले नै पहिलो प्याकेजको संरचना निर्माणका लागि सम्झौता गरेको थियो। सरकारले मेलम्चीमा सिएमसीसँगको ठेक्का तोडिसकेको छ ।

काममा फर्कने भन्दै स्वदेश फर्किएका कम्पनीका ठेकेदार हालसम्म फर्किएका छैनन् । उक्त कम्पनीलाई आगामी फागुन ६ गतेसम्मको समय दिइएकाले उक्त समयसम्म कुर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ । ‘उनिहरुलाई दिएको समयावधि बाँकी छ, त्यसबेलासम्म कुर्छौं, त्यसपछि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ’, अधिकारीले भने ।

पहिलो प्याकेजको संरचना निर्माणका लागि सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करसहित) रुपैयाँ मा खरिद सम्झौता भएको थियो।

थप जग्गाका लागि साढे सात करोड मुआब्जा

आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाका लागि रु सात करोड ५० लाख मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ । प्रभावित ६२ घरपरिवारमध्ये ४३ ले मुआब्जाबापतको रकम बुझेका छन् । आयोजनाले ५० रोपनी जग्गा अधिग्रहणका लागि आठ करोड विनियोजन गरेको छ ।

आयोजनाको ड्याममा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिएको हो । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरीद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ। तनहुँको रिसिङ गाउँपालिका–१ मा कार्यालय तथा कर्मचारी आवासगृह निर्माण सम्पन्न भइसकेको छ ।

आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ। यसमध्ये एशियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (इआइबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकाररनेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् ।