एउटै पुस्ताले देखेका र भोगेका अनौठा लाग्ने केही अनुभव

(के थियो पहिले के भयो अहिले–२)




  • दामोदर पौडेल

पचास–साठी वर्ष पहिलादेखिका अनुभवलाई नियाल्दा अड्डा–अदालतहरूको अवस्था पनि धेरै फरक थियो । कर्मचारीहरू विशेषतः मैले थाहा पाएको समयमा जिल्लास्तरमा काम गर्ने हाकिमहरूका पनि फोमवाला कुर्ची हुँदैनथे । साधारणतः कुर्सीमा चिल्लोपन, हात राख्ने भए–नभएको र पछाडि शरीर अड्याउने भाग अग्लो र होचो भएको आधारमा ठूला मानिस र साना मानिस बस्ने भन्ने हुन्थ्यो । यदाकदा बुट्टाको आधारमा पनि कुर्सीको हैसियत फरक हुने गर्थ्यो ।

कर्मचारीको टेबल प्रायः खोल्न मिल्ने सानो प्रकारको हुन्थ्यो । एउटा टेबलमा दुईजना कर्मचारी बस्ने गर्थे । अदालतमा त पछिसम्म पनि त्यस्तै थियो । सानैमा मैले फोमभन्दा नरिवलको जटाको फोमजस्तो बनाएको देखेको छु । तर, प्रायः विवादहरू बस्तीका जिमुवाल मुखिया आदिले मिलाउँथे । उनीहरूका निजी स्वार्थ भएमा बाहेक उनीहरूले न्याय पार्थे । त्यतिबेला कम्बल गाईले खायो भनेर घुसको उदाहरण सुनिए पनि स्थानीय तहमा घुस खाएको थाहा छैन । राणाहरूका बेइमानीका तरिका फरक हुन्थे, तर उनीहरू घुस त्यति लिँदैनथे जस्तो लाग्दछ । राज्यको माथि र स्थानीय तहबाहेक अरू तहमा घुस चल्थ्यो ।

प्रहरीमा हरेक सात दिनमा एकपटक जस्तो लाग्दछ राइफल सफा गर्ने चलन थियो । राइफलसँगै भरुवा बन्दुकको अधिकता थियो । मेरा सानाबा प्रहरी सेवामा हुनुभएकोले मैले त्यस्तो देख्ने अवसर पाएको थिएँ । जिल्लाको सदरमुकामबाहेक अन्यत्र प्रहरी कार्यालय भएको मलाई किशोर हुँदासम्म पनि याद छैन । ठानेदार जिल्लाको प्रहरी प्रमुख हुन्थे । कतै कतै इन्स्पेक्टर पनि हुन्छन् भन्नुहुन्थ्यो मेरो ठूलाबाको छोरा, दाज्यूले ।

आमाबाबु भएको बेलामा कसै गरेर डराइडराई घरमा बसे पनि अरू बेलामा काला कपडा लाएका सिपाही आएका छन् भने पछि बच्चा हुँदा अरू बच्चाहरूको जस्तै मेरो पनि सातो जान्थ्यो । हामी घर छोडेर बारीमा जाथ्यौँ । सिपाही आए पनि नआए पनि हामीहरूलाई सातो लिनु परेमा सिपाही र काला कपडा भनेपछि जिउ काँप्थ्यो । सायद ०१५/२० सालतिर प्रहरीले काला कपडा लाउँथे । बन्दुक बोकेकाहरूले गोली हानेमा मरिन्छ भन्ने डर भएकोले सानाबा प्रहरी कार्यालयमा काम गर्दा बन्दुक आफैँ पड्कन्छ कि भन्ने डरले बन्दुक धेरै भएको ठाउँमा म धेरैबेर बस्न सक्दिनथेँ ।

प्रहरीहरू बस्तीहरूमा मानिस नै मरेमा मात्र आउँथे । डाँका कम हुन्थे । मानिस मार्ने कार्य यदाकदा पतिले पत्नीलाई, पानी खेतमा लगाउने निहुँमा, मेला लाग्दा रक्सी खाएर हुन्थ्यो । सायद मेलामा युवतीको विषयलाई लिएर झगडा बढी हुने गर्थ्यो । युवाहरू अरूकी छोरी–बहिनीलाई जिस्क्याउने, गफ गर्ने आदि मेला (हाटबजार)मा गर्थे । तर, आफ्ना दिदीबहिनी अरूसँग कुरा गरेको रुचाउँदैनथे । त्यसैले एक टोलका युवाहरूको अर्को टोलका युवाहरूसँग झगडा हुन्थ्यो । तर, यदाकदा झगडाले ज्यानसमेत जाने र अर्कोतिर केटीलाई भने केटाले भगाउने हुथ्यो । बाहुन, क्षेत्री, ठकुरी, सन्न्यासीहरूमा यस्तो कम हुन्थ्यो । अरू जातका पनि धनीहरू र पुराना खानदानीहरूले यस्तोलाई राम्रो मान्दैनथे ।

छोरीले आफैंले केटा खोजेर जानुलाई साह्रै नै नराम्रो मान्नेहरू पनि थिए । अब यो अवस्थाको अन्त्य नै हुन थालेको छ । छोरीले आफैं केटा रुचाएर विवाह गरेमा बाबुआमालाई दोष दिन्न भन्ने विचारले राम्रै जरा गाड्न थालेको छ । समयअनुसारको सत्य ।

बाबुआमाको लागि छोरी दिन केटाको खान पुग्ने सम्पत्ति हुनुपर्ने पहिलो आवश्यकता थियो । यो सोचले अब त विश्राम नै पाएको छ । केही जातहरूमा मूल थर एउटै भएपछि पनि तल्लो जात र उपल्लो जात भन्ने थियो । मामा र फुपूका छोराछोरीमा विवाह गर्ने अधिकार नै लाग्ने चलन थियो । केटीलाई अरूले विवाह गरेर लगेर बच्चा नै पाएको भए पनि अधिकार लाग्नेले विवाह गर्न पाउने गरी समाजले निर्णय गरेर पहिलाको विवाहको अन्त्य गरेर हकलाग्नेसँग विवाह गराएको र बच्चा भने पहिलाकै बाबुको हुने गरिएको पनि मलाई याद छ । नेपाल भरमा सबैभन्दा अगाडि जातीय छुवाछुत अन्त्य गर्ने बस्तीमा लमजुङको दुराडाँडा पर्दछ । बाहुनले हलो पनि पहिला यहीँ जोतेका थिए । ऋषितुल्य पण्डित तोयानाथ अधिकारीले यसको नेतृत्व गरेका थिए । वास्तवमा यो विचारको सर्जक नै उनी थिए । उनी अच्येल्यानीका थिए । २००६ सालतिरै यस्तो ठूलो र मानवीय कार्यको अभियान नै चलाउने तोयानाथ नेपालका त विभूति नै हुन् । तर, किन त्यो सत्यलाई सरकारले ध्यान दिन सकेन कुन्नि । तिनै तोयानाथको प्रेरणास्थलको संस्कृति सदन विद्यायलमा मेरा पिता कमला कान्त पौडेलले पनि पढाउनुभएको थियो ।

अहिलेसम्म दलित र अरूको पानीको धारा नै अलग हुने कतिपय ठाउँहरू भएको अवस्थामा मैले मेरो बस्तीमा त्यस्तो अनुभूति गरिन् । तर, केही भेदभाव भने थियो ।
त्यसमा केही कारणहरूले पनि काम गरेका थिए । एउटा उदाहरणमा उनीहरूको घरमा सुँगुर आँगनमा नै वा आँगनको मुनि पालिन्थ्यो । दिसा पनि त्यहीँ नै गरिएको मैले देखेको छु । घर दुर्गन्धित हुन्थ्यो । झनै सार्कीबस्तीमा त मरेका वस्तुको मासु खाने र छालाको जुत्ता बनाउने हुँदा कुनै याममा त गनाएर बस्नै मुस्किल हुन्थ्यो ।

पढाइप्रतिको सजगता र जातीय सद्भावले गर्दा अहिले कथित दलित बस्तीहरू कत्ति पनि फोहोर छैनन् । कुन बाहुनक्षेत्री बस्ती कुन दलित बस्ती भन्ने देखेर थाहा हुँदैन । बरु आम्दानीको आधारमा कुन घर व्यवस्थित र सफा कुन कम सफा भन्न सकिन्छ । दलित र अन्य जातबीचको प्रेमविवाह पनि अचाक्ली विवादको विषय बन्ने गरेको छैन । केही विमति भने हुने गर्दछ । विवाह नै अस्वीकार गर्ने चलन छैन । क्रमशः सामान्य बन्ने गरेको छ ।

विशेष गरेर दशैँमा कथित दलित र अरू जातहरूबीच टीका लगाउने चलन सामान्य नै छ । हामीहरूकहाँ तिर १ दिन दशैँ मान्ने पनि धेरै छन् । त्यहाँ नातेदारहरूबीच मात्र र दाजुभाइबीच मात्र टीका लगाउने चलन छैन । मर्दा मलामी र विवाहमा जन्त जानेहरूबीच अनिवार्य टीका हुन्छ र यसले वर्षभरको मनमुटाव अन्त्य पनि गर्न सहयोग गर्दछ ।

अहिले कथित दलितहरूलाई उनीहरूको परम्परागत पेसालाई राज्यले आर्थिक सहयोग गरेर आधुनिकीकरण गराउन आवश्यक छ ।

आजभन्दा ५०–६० वर्ष पहिला अरूको जग्गामा वा काममा केही अपवाद छोडेर पैसा लिएर काम गर्नु साह्रै तल्लो काम मानिन्थ्यो । त्यो ज्यालादारीलाई निवेक भनिन्थ्यो । आर्थिक रूपमा साह्रै विपन्नबाहेक अरूलाई पैसा आदि दिन खोज्दा अपमानको महसुस भएको मैले बुझेको छु । बरु कतिपय अवस्थामा खेती लगाउन सहयोग भने गरिन्थ्यो ।

कतिसम्म सहयोगी भावना थियो भने कुनै घरमा नुनतेल लिन भोट (तिब्बत) वा ठोरी जान सक्ने मानिस घरमा नभए छिमेकीहरू मिलेर ल्याइदिन्थे ।
विवाह खर्चिलो थिएन । यद्यपि त्यस समयमा समयगत कठिनाइ भने थिए । विवाह दुई दिनको हुनेमा जन्ती गएको दिनमा दलभात तरकारीमा घ्यू मिसाएर केटी पक्षले दिन्थे । अर्को दिन जन्तेबाख्रो भन्ने हुन्थ्यो । केटी पक्षले चामल आदि दिएपछि खसीबोका आदिको मासु केटा पक्षले नै लग्नुपथ्र्यो । जन्तेबाख्रोमा टपरीमा खाना दिइने हुँदा मासुको झोल प्रायः खाने ठाँउमा नै चुहिन्थ्यो ।

अन्त्यमा, मेरी अन्टी ९ वर्ष र अङ्कल १० वर्षको हुँदा विवाह भएको रहेछ । अङ्कल दुब्लो–पातलो र अन्टी मोटी बलिई । अङ्कल र अन्टी खेल्ने । त्यस समयमा उहाँहरूबीच खेल्ने वा काम गर्ने गर्दा अङ्कलले आन्टीलाई बेलाबेलामा पिट्नुहुँदो रहेछ । आन्टी नकराई बस्ने । अङ्कलले भन्नुभएछ कि तँ मोटी भएर के भयो त ? म तँलाई पिट्छु, तँ मलाई केही गर्न सक्दिनस् । आन्टीले भन्नुभएछ कि मेरा बाबुआमाले पति देवता हो केही गर्नुहुन्न भनेकोले केही नगरेकी हुँ, नत्रभने तपाईंलाई क¥याककुरुक पारिदिने थिएँ, म मेरा बाबु आमालार्ई सोधौँ ? उहाँले पिट्नुहुन्छ भन्नुभयो भने म पनि बाँकी राख्दिनँ । त्यसपछि अङ्कलले आन्टीलाई कहिल्यै पिट्नुभएनछ । संस्कृति वा धर्मको कति नकारात्मक प्रभाव । त्यतिबेला विवाहपछि केटा–केटी असल साथी र पछि मात्र पति–पत्नीको रूपमा भावनात्मक रूपमा विकसित हुन्थे । भोगाइका सकारात्मक पाटाहरू केलाएर जुन अबव हुनैपर्छ त्यसमा विमति नराख्ने कार्य हुन सकेमा समाज सुरक्षित र गतिशील तथा छिटो विकसित पनि हुन्छ ।

यो पनि हेर्नुहोस्-

एक लोकतन्त्रवादीको अनुभवको बकपत्र–१
http://www.ghatanarabichar.com/133966

प्रतिक्रिया