‘शताब्दी पुरुष’को जन्म शतवार्षिकी विशेष रुपमा मनाइने

‘शताब्दी पुरुष’को जन्म शतवार्षिकी विशेष रुपमा मनाइने


वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको शतवार्षिकी भव्यताका साथ मनाइने भएको छ । संस्कृतिविद् जोशीको सयौँ वार्षिकोत्सव मनाउन गठित समितिको पहिलो बैठक शुक्रबार ललितपुरमा सम्पन्न भएको छ । वाङ्मय शतादी पुरुष जोशी २०७६ साल वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्नु हुनेछ ।

ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले शताब्दी पुरुष जोशीको शतवार्षिकी मनाउन महानगरका प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा १११ सदस्यीय समिति गठन गरेको छ । समितिमा राष्ट्रियसभाका सांसद, प्रतिनिधिसभाका सांसद, छिमेकी नगरपालिकाका प्रमुखलगायत सदस्य हुनुहुन्छ ।

महानगरपालिका–३ का अध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा १५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ । महानगरले जोशीको १०० औँ जन्मोत्सवलाई वर्षभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ ।

यस अवसरमा महानगरले नेपाल राष्ट्र बैकसँग अनुमति लिएर स्वर्ण मुद्रा प्रकाशन गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, सत्यमोहन जोशी पार्क निर्माण गर्ने र महानगरपालिकासँग जोडिने कुनै एक सडकको नाम सत्यमोहन जोशी मार्ग नामाकरण गर्नेलगायतका कार्यक्रम तय गरेको छ ।

बैठकलाई सम्बोधन गर्नुहँुदै प्रमुख महर्जनले इतिहास बोकेको र नेपाललाई महत्वपूर्ण योगदान दिएको व्यक्तिलाई जीवितै रहँदा सम्मान गर्न महानगरले विभिन्न योजना बनाएको बताउनुभयो ।

‘कला, संस्कृति संरक्षणमा उहाँको महत्वपूर्ण योगदान छ । उहाँको सम्मान जीवन कालमा नै गर्न सक्यो भने त्यसको महसुस उहाँले गर्न सक्नुहुन्छ भन्ने हो’, प्रमुख महर्जनले भन्नुभयो ।

उपप्रमुख गीता सत्यालले समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान दिनुभएका व्यक्तिको जन्म शतवार्षिकी समारोह भव्यताका साथ मनाएर सम्मान गर्न पाउनु महानगरकै गर्वको विषय भएको बताउनुभयो । जोशीले मूर्त तथा अमूर्त सम्पदाको संरक्षण गर्दैै कला संस्कृतिको पहिचान विदेशसम्म पु¥याउन सफल हुनुभएको उहाँले सुनाउनुभयो ।

यस अवसरमा वर्षभरि नै सांस्कृतिक महोत्सव, खेलकूद, कला प्रदर्शनी विभिन्न प्रतियोगिता आयोजना गर्ने तयारीसमेत महानगरले गरेको छ । जोशीको नाममा प्रतिष्ठान स्थापना गर्न जग्गाको खोजीसमेत भइरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले यसअघि नै नगरसभाबाट निर्णय गरी जोशीलाई सवारी साधान, सुरक्षा गार्ड र मोबाइल फोनको सेवा उपलब्ध गराइरहेको छ ।