प्रचण्डद्वारा पुनः द्वन्द्व मच्चाउने धम्की !

प्रचण्डद्वारा पुनः द्वन्द्व मच्चाउने धम्की !


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा पुनः द्वन्द्व सुरु हुनसक्ने चेतावनी दिएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारप्रति आक्रोश व्यक्त गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनी आफैै दुई तिहाई मत प्राप्त सरकारको नेतृत्व गरिरहेको दलका अध्यक्ष हुन् । तर, उनी आफैंले यस्तो चेतावनी दिएपछि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको सम्बन्ध कसरी बिग्रिरहेको रहेछ भन्नेसमेत खुलासा भएको अनुभूति गरिएको छ ।

शुक्रबार राजधानीमा ‘स्थानीय तह सञ्चालन ऐनः न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तक विमोचन गर्दै संविधानमा उल्लेख गरिए अनुरुप कानुन निर्माण, सुरक्षा, बजेट सबै विषयमा सरकारले प्रदेश र स्थानीय तहको अधिकार संकुचन गरेको आरोपसमेत प्रचण्डले लगाएका छन् । सो कार्यक्रममा उनले शान्ति सम्झौता र संविधानको मर्मविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिए ।

शान्ति सम्झौतामा उल्लेख गरिएविपरित प्रहरीले द्वन्द्वकालीन मुद्दा भटाभट अगाडि बढाउन थालेको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे । अचम्मको कुरा त यो छ कि अहिले प्रहरी प्रशासनको नेतृत्व गर्ने गृहमन्त्री नै जनयुद्धका एक कमाण्डर एवं तत्कालीन माओवादी नेता रामबहादुर थापा छन् ।

यति मात्रै नभई प्रचण्डले ‘पछिल्लो समय पुरानो संरचनालाई बलियो पार्ने र नयाँ संरचनालाई कमजोर पार्नेगरी कतिपय कदमहरु अगाडि बढेको’ भन्दै सरकारको कामप्रति औंलासमेत ठड्याएका छन् ।