बेल्जियममा ठगी धन्दा मौलाउँदो, महिला महिलाबाटै पीडित !

बेल्जियममा ठगी धन्दा मौलाउँदो, महिला महिलाबाटै पीडित !


  • डिल्लीराम अम्माई, बेल्जियम

नियत आर्थिक सङ्कलन नै भए पनि अरूलाई गलत सूचनाको परिबन्दमा पारी दलाली तथा गैरकानुनी प्रक्रियाद्वारा आवश्यकभन्दा बढी आर्थिक, भौतिक रूपमा दोस्रो पक्षबाट बढी लाभ लिनुलाई ठगीका रूपमा लिइन्छ । त्यस्तै सामाजिक वा राज्यको अँध्यारो छिद्रबाट निजी तथा व्यक्तिगत फाइदाका लागि सार्वजनिक पद, हैसियत तथा अधिकारको दुरुपयोग गर्नु एवम् प्रचलित कानुनबमोजिम कसुर गरेको मानिने आर्थिक तथा गैरआर्थिक क्रियाकलाहरू सञ्चालन गरी लाभ गर्नुलाई भ्रष्टाचार भनिन्छ । इमानदारहरूको भन्दा बेइमानहरूको कदर हुने, बौद्धिक लगानीभन्दा भौतिक लगानीलाई सामाजिक मान्यता बढी हुने, पारिवारिक मोह बढी हुनु, सामूहिक हितको चिन्तन लोप हुँदै जानु र नैतिक चिन्तनको पराकाष्ठा हुनु यसका मूल कारकतत्व हुन् ।

१. ठगी :

देशमा मात्र नभएर प्रवासमा पनि ठगीले कुनै न कुनै रूपमा प्रश्रय पाउँदै गरेको उदाहरण देख्न पाइन्छ । सुदाम लम्साललगायत केही आफूलाई टाठाबाठा हौँ भन्ने कथित समाजसेवीको ठगीकाण्डले एकताका बेल्जियमको नेपाली समाज लाजले निहुरिनुपऱ्यो । त्यस्ता धेरै ठगीका उदाहरण डायस्पोराको विभिन्न स्रोतबाट प्राप्त भएका छन् । जसको फेहरिस्त कुनै दिन पुस्तककै रूपमा सार्वजनिक हुनेछ ।

ढुकुटीमा एकले अर्को नेपाली ठगेका उदाहरण हामीले खोज्दै हिँड्नुपर्दैन । बेल्जियममा सोझासाझा लुट्ने खेती बनेको छ केही ठगहरूले खेलाएका समूह र ढुकुटी ! अहिले पनि नक्कली ढुकुटीदाताको नाम राखी ढुकुटी खेलाउने, सबै खेल्नेहरूको नाम सार्वजनिक नगरी यति छन् भनेर झुक्याई ढुकुटी खेलाउने, परोपकारी अभियानलाई भनेर सहयोग उठाउने, तर केका लागि, कहाँ, कहिले र कति भनेर कहिल्यै सार्वजनिक गर्न नपर्ने, निरीह, सोझा र इमानदार विशेष गरेर महिलालाई निसाना बनाएर लुट्ने प्रथा बेल्जियममा मौलाएको छ । त्यसमा महिलाले महिलालाई नै समूह र ढुकुटीको नाममा ठगेका विभिन्न स्रोतबाट धेरै समाचार आएका छन् । ढुकुटी वा समूहहरू खेलाउनेहरूले एक–अर्कोसँग परिचय हुन नदिने, पैसा उठाउने र सकेसम्म कसेर ब्याज अरूलाई लगाउने, तर बोलेको व्यक्तिलाई नदिने वा प्रपञ्च रची नक्कली सहायक बनाएर थोरै बढी बोल्न लगाएर पैसा आफैंले लिने गरेको देखिएकोले त्यसको विरुद्ध आक्रोश आइरहेको छ । ठगी धन्दा अब विस्फोट हुने अवस्थामा छ । खेल्नेहरू भन्छन्, ‘खेल्ने मान्छेलाई कतिजना र को–को खेल्दै छौँ थाहा नै हुँदैन ।’

ढुकुटीका धेरै ठगी स्क्यान्डल बेल्जियममा हुँदै आएका हुन् । तैपनि इमानदार हुस्सु बन्दै केको मोहमा हो कुन्नि खेलिरहन्छन् । फोन, म्यासेजबाट ढुकुटी बोल्न लगाइन्छ । जति बोले पनि ‘फुर्साले आफूलाई कुभिन्डो’ भनेझैँ अञ्जान व्यक्तिले ढुकुटी खाइदिन्छ । ‘कसले खायो’ उसको फोन र वतन सार्वजनिक गरिन्न । ‘समूहमा खेल्नेले पहिलो पालो डबल तिर्नुपर्ने, लिँदा सिंगल, दिँदा मासिक बोल्दा किस्ताबन्दी, बैठक सुनको उपहारसहित पालो बाँधेर दिनुपर्ने, अनि खेलाउनेले ब्याज लगाउँछ त्यो पनि मनोमानी, महिनामा एक दिन ढिला भयो भने पूरै महिनाको ब्याज लिन्छन् । यसरी महिलाले महिला नै ठग्दै छन् बेल्जियममा,’ एक पीडितको आवाज हो यो ।

उनीहरूले खेलाएको व्यक्तिलाई सोधखोज हुँदा उक्त व्यक्ति ‘ढुकुटी नखेलेको र उभिदेउन भनेको भरमा नक्कली खेलाडी बनेर उभिएको’ नाम नबताउने सर्तमा पीडितले बताइन् । केही समयपछि पीडितहरूको आरोप र आरोपीहरूको विवरणसहित सबै सार्वजनिक गर्ने उनले बताएकी छिन् । त्यो ठगी स्क्यान्डलको प्रमाण पु¥याएर भण्डाफोर हुनु आवश्यक पनि छ । जसको लागि आवश्यक निकायमा कानुनी परामर्श भइरहेको जनाइन्छ । भनिन्छ– यस्तो ठगीबाट समेत धेरै पीडित छन् । केहीले व्यवहार बिग्रेकोले ढुकुटी तिर्न छोडे भने सुदाम लम्सालझैँ घोपा भाग्नुपर्ने स्थिति जन्मँदै छ बेल्जियममा । केही इमानदार भए पनि यस्ता गैरकानुनी आर्थिक क्रियाकलापको भुक्तानीको कानुनी आधार हुँदैन । एउटा बिग्रियो भने वा एउटाले बेइमान गऱ्यो भने खेला खत्तम ! ढुकुटी ढुस हुन्छ अनि किन खेलेँ छु भनेर आफैँलाई सराप्नुबाहेक विकल्प हुदैन । तैपनि विश्वासकै आधारमा खेल्छन् र फलानाले खाइदियो भनेर रुँदै पत्रकार गुहार्छन् । हामीले नखेल भन्नेबाहेक के पो गर्नु ? खेल्ने बेलामा सोधे पो सजग गराउन पाइन्थ्यो । साथीहरू ज्ञाम सकिएपछि बिन्ती बिसाउन आउँछन् । के गर्नु !

त्यस्तै महाभूकम्पमा व्यक्ति वा संस्थाहरूमार्फत उठाइएको राहत रकमको पारदर्शितामाथि प्रश्नहरू उठिरहेका छन् मुलुक तथा प्रवासमा । कहिलेकाहीँ राम्रो जागिरको प्रलोभनमा प्रवासी महिलाको शरीर लुटिएका खबर मिडियामार्फत बाहिर आउँछन् । अर्को विकृतिको रूपमा सामाजिक सङ्घको नाममा राष्ट्रिय झन्डामुनि नक्कली व्यापारी वा कलाकार भित्र्याई ठगी भएको भन्दै बेलाबेलामा आवाज उठ्ने गरेको छ । यी सबै विभिन्न रूप र रङमा गरिएका ठगीका उदाहरण हुन् । ठगी भ्रष्टाचारको आत्मा हो । छोटकरीमा भन्दा पदीय हैसियतभन्दा बाहिरबाट गरिने, गैरकानुनी, कुनै कागजात मिलाउनुनपर्ने गरी आर्थिक, नैतिक र भौतिक रूपमा बाध्यकारी लेनदेन परिबन्दको जालो ठगी हो । यसको समयमै भण्डाफोर हुन जरुरी छ ।

२. भ्रष्टाचार :

निजी तथा व्यक्तिगत फाइदाका लागि सार्वजनिक पद, हैसियत तथा अधिकारको दुरुपयोग गर्नु एवम् प्रचलित कानुनबमोजिम कसुर गरेको मानिने आर्थिक तथा गैरआर्थिक क्रियाकलापहरू सञ्चालन गरी लाभ गर्नुलाई भ्रष्टाचार भनिन्छ । भ्रष्टाचार भनेको सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारी वा खराब नियत भएका मुलीहरूले आफूलाई सुम्पिएको अख्तियारको दुरुपयोग गरी कुनै व्यक्ति तथा सम्बन्धित व्यक्तिहरूको निजी फाइदाको प्रयोग गर्ने गैरकानुनी व्यवहार हो । भ्रष्टाचारमा रकम तथा दैदस्तुरको लेनदेन हुन्छ भने अनुचित कार्यमा भनसुन, मोलाहिजा, नातावाद, कृपावाद, आफ्नो मान्छे, अरूको मान्छे भन्नेजस्ता तत्वहरू रहेका हुन्छन् । भ्रष्टाचारको प्रकृति, यसले प्रभाव पार्ने क्षेत्र तथा यसको वर्तमान अवस्थालाई हेर्ने हो भने नेपाललगायतका अल्पविकसित देशहरूमा भ्रष्टाचार फैलिँदो अवस्थामा छ र यसले सबै क्षेत्र र सबै स्थानमा आफ्नो सञ्जाल बढाउँदै छ भन्न सकिन्छ ।

ठगी र भ्रष्टाचारका कारणहरू :

सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूले ठगी वा भ्रष्टाचार गर्नुमा धेरै कारण छन् । सबैभन्दा महत्वपूर्ण कारण भनेको नै व्यक्तिगत तथा मनोगत कारण हो । मानिस जब आफ्नो अन्तरमनदेखि नै भ्रष्टाचार नगर्न प्रतिबद्ध रहन्छ र उसले सदाचारको मन्त्र लिएर काम गर्न थाल्छ, तब भ्रष्टाचार रोकिँदै जान्छ । भ्रष्टाचार धनमा लोभिएका मानिसबाट हुने एउटा महारोग हो । यसको रोकथाम पनि मानिसबाटै हुन सम्भव छ । भ्रष्टाचार एउटै कारणले मात्र हुँदैन । मानिसको मनोवैज्ञानिक पक्ष, आर्थिक पक्ष, व्यक्तिगत मनोवृत्ति, सामाजिक पक्ष, राजनीतिक पक्ष तथा व्यक्तिगत सोचाइले नै ठगी वा भ्रष्टाचार हुने गर्दछ । व्यक्तिको धारणा, इच्छा, व्यक्तित्व, सामाजिक प्रतिष्ठा, सङ्गठनको अवस्था, अवसर तथा विद्यमान परिस्थिति आदिले भ्रष्टाचारलाई प्रभाव पारिरहेको हुन्छ ।

कसैले थोरै तलबभत्ता वा आम्दानी हुँदा परिवार पाल्नको लागि भ्रष्टाचार गरेको हुन्छ भने कसैले समाजमा अरूभन्दा आफू धनी हुने मनसायले भ्रष्टाचार गर्छन् । कुनै बेला आफ्ना नातागोतालाई जागिर दिन तथा चिनेजानेका मान्छेको काम सफल पार्ने प्रयोजनको लागि अनुचित क्रियाकलापहरू गरी भ्रष्टाचार गर्ने गर्छन् । कुनै बेला भने आफ्ना भावी सन्ततीलाई भविष्यको लागि धन थुपार्न भ्रष्टाचार गर्ने गर्छन् । कसैले समाजमा रवाफ र हैकम देखाएर बस्नका लागि भ्रष्टाचार गर्ने गर्छन् ।

भ्रष्टाचार हुने प्रमुख कारणमा आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक, प्रशासनिक, कानुनी, संस्थागत आदि पर्दछन् । राज्यमा बढ्दो महँगीको सामना गर्न, परिवार पाल्न गर्नुपर्ने अत्यधिक खर्चको जोहो गर्न, आधारभूत आवश्यकता पूरा गर्नका लागि गरिने खर्चसमेत पुग्ने गरी तलब, पारिश्रमिक तथा अन्य सुविधाको व्यवस्था नभएको आदि जस्ता कारणले भ्रष्टाचारले प्रश्रय पाइरहेको हुन्छ ।

त्यसैगरी सम्पत्ति आर्जनका लागि लोभिनु, व्यक्तिको असीमित आवश्यकता तथा सीमित आय हुनु, चाँडै धनी हुन खोज्नु, आर्थिक प्रतिस्पर्धा गर्नु आदि जस्ता कारणले समाज वा राज्यमा भ्रष्टाचार हुने गर्दछ । अस्वस्थ राजनीतिक प्रतिस्पर्धा, अस्थिर राजनीतिक प्रणाली, कर्मचारीहरूका सङ्गठनलाई राजनीतीकरण गर्नु, कर्मचारीबाट सहयोग नपाइने डर, दलगत स्वार्थ, भ्रष्टाचारीलाई राजनीतिक संरक्षण, राजनीतिमा नाजायज चलखेल हुनु, स्थायी सरकारको अभाव, चुनावमा हारिने डर, धनी तथा उद्योगपतिबाट सहयोग पाइने लालसा, चन्दाआतङ्क आदि जस्ता कारणले गर्दा यत्रतत्र भ्रष्टाचार हुने गरेको छ ।

राज्यको भ्रष्टाचार निवारणसँग सम्बन्धित प्रमुख संस्थाहरूले आफ्नो काम छिटो, छरितो तथा प्रभावकारी रूपले सम्पादन गर्न नसक्नु, भ्रष्टाचार निवारणसँग सम्बन्धित संस्थाहरू आधुनिक प्राविधिक उपकरणयुक्त हुन नसक्नु, नेतृत्वमा बारम्बार परिवर्तन तथा हेरफेर भइरहनु, नेतृत्व चयनमा ढिलाइ हुनु, मनोनीत नेतृत्वमा दलगत स्वार्थ रहनु, अनुसन्धानमा निष्पक्षता, स्पष्टता तथा प्रभावकारिता नहुनु, उपयुक्त कार्यशैलीको अभाव, सम्बन्धित संस्थाको आफ्नो छुट्टै कर्मचारी नहुनु, आमनागरिकमा विश्वासको सङ्कट, अनुसन्धानमा राजनीतिक प्रभाव, पदाधिकारीहरू तथा कर्मचारीको फेरबदल भइरहनु आदि जस्ता कारणले पनि भ्रष्टाचार भइरहेको बुझिन्छ ।

भ्रष्टाचारका यही नै कारण हुन्छन् भन्ने छैन । मानिसको मनोवृत्ति, अनुशासन, सोच, घरायसी समस्या, घरपरिवारको सहयोग, साथीभाइको सङ्गत, व्यक्तिगत इच्छा आदिका कारण पनि भ्रष्टाचार हुने गर्छन् ।

कोही व्यक्ति आफैँ पनि भ्रष्टाचारी स्वभावको हुन्छ । त्यस्ता मानिस कताबाट कमाउन सकिन्छ, कसले कति कमायो, कति काम ग¥यो आदि कुरामा बढीभन्दा बढी ध्यान दिने गर्छन् । भ्रष्टाचारीले अरूलाई पनि भ्रष्टाचारीको रूपमा देख्ने गर्छन् । अनि बेनामी उजुर गरेर हुन्छ कि दुःख दिएर हुन्छ कि वा कार्यालयमै अनावश्यक टीका–टिप्पणी गरेर हुन्छ कि सत्जन मानिसलाई मानसिक यातना दिएर जति हुन्छ सास्ती दिने गर्छन् । भ्रष्टाचार गर्नमा सामाजिक, आर्थिक, मनोवैज्ञानिक, राजनीतिक तथा परिस्थितिजन्य कारण पर्छन् ।

आर्थिक लाभ प्राप्त गर्न तथा चाँडै पैसा कमाउन सक्ने कार्यालयहरूमा सरुवा तथा पदस्थापन गर्ने होडबाजी, प्रशासनिक कर्मचारीहरूमा राष्ट्रप्रतिको सकारात्मक भावनाको अभाव, राज्य, ग्राहक तथा संस्थाप्रति प्रतिबद्धता तथा कटिबद्धताको अभाव, कर्मचारीको सरुवा, नियुक्ति तथा पदस्थापनमा राजनीतिक हस्तक्षेप, कर्मचारीमा नियन्त्रण, सुपरिवेक्षण तथा अनुगमनमा दक्षता, क्षमता तथा सीपको अभाव आदि जस्ता कारणले गर्दा भ्रष्टाचार फस्टाइरहेको छ । जब प्रशासनिक निकाय अदक्ष हुन्छन् तब राज्यमा भ्रष्टाचारले प्रश्रय पाउन थाल्छन् ।

ठगी तथा भ्रष्टाचारको निवारण :

समाजले ठग र भ्रष्टाचारीलाई बहिष्कार तथा तिरस्कार गर्न नसकेको, सामाजिक चाडपर्व, रीतिरिवाज, भोजभतेर तथा परम्परामा तडकभडक कायम रहेको, सामाजिक मूल्य–मान्यता, संस्कार एवम् आचरणमा ह्रास, समाजले धनी व्यक्तिलाई मानसम्मान, प्रतिष्ठा दिने तथा समाजसेवीको रूपमा इज्जत गर्ने, भ्रष्टाचारजस्ता अपराधको नियन्त्रणमा समुदाय तथा समाजको चासोमा कमीजस्ता कारणले समेत भ्रष्टाचारले प्रश्रय पाइरहेको छ ।

राज्यले निर्माण गरेका विद्यमान ऐन, कानुन, नीति, निर्देशिका, परिपत्र तथा कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिनु, कानुनहरू बहुअर्थी लाग्नु, ऐन तथा कानुनहरूलाई अपव्याख्या गरिनु, न्यायप्रदायक निकायहरू निष्पक्ष तथा स्वतन्त्र हुन नसक्नु, भ्रष्टाचारीहरूलाई कानुनी उपचार गर्न नसक्नु, माथिल्ला पदाधिकारीबाटै कानुनको उल्लङ्घन भइरहनु आदि जस्ता कारणले पनि भ्रष्टाचार मौलाइरहेका छन् ।

दोषी को ?

घुसखोरी, ठगी वा भ्रष्टाचार फैलनुमा कर्मचारी वा सङ्घ–सङ्गठनका मुली मात्रै दोषी छैनन् । त्यसमा सहयोगी र सेवाग्राहीसमेत त्यति नै दोषी देखिन्छन् ।
मानिलिऊँ बेल्जियममा कानुनी प्रक्रिया मिलाएर वा प्रमाण राखेर लेनदेन हुन्थ्यो भने यो अवस्था आउने थिएन । सहयोग रकम पनि उपयुक्त कारणबारे बुझेर गरे ठगहरू निरुत्साहित हुने थिए । तर, हामी नै ठगलाई खोज्दै उनीहरूको अपारदर्शी लेनदेनको जालमा फस्न आतुर हुन्छौँ । अनि ठगिएपछि चिच्याउँदै सडकमा नाराबाजी गर्न उत्रिन्छौँ । हामी ठगिनुको एउटा कारण हामी आफैँ पनि हौँ ।

ठग र भ्रष्टहरूको नियत चिनौँ र सतर्क बनौँ :

कसैले दैदस्तुर वा घुस मागेमा त्यसको प्रतिवाद गर्ने जिम्मा सेवाग्राहीमा हुन्छ । सेवाग्राही आफैँ नै रकम दिएर आफ्नो काम पहिले गराउने होडबाजी गर्ने गर्छन् । बाठा तथा भ्रष्टाचार गर्न वा ठग्न पल्केका ठग, दलाल र कर्मचारीले यस्ता प्रवृत्तिबाट अत्यधिक फाइदा लिने गर्छन् । जति बढी भ्रष्टाचार गर्न सक्यो, जति बढी दैदस्तुर लेनदेन गर्न सक्यो र जति बढी दैनिक आम्दानी गर्न सक्यो त्यति नै बढी भ्रष्टहरूको उज्यालो अनुहार देख्न पाइन्छ । घुसखोरी, ठगी र भ्रष्टाचार भनेको समाज, राष्ट्र, आमनागरिक, व्यक्तिगत मर्यादा, आत्मसम्मान तथा मूल्य–मान्यताको शत्रु हो । यसले कर्मचारीको इज्जत, प्रतिष्ठा तथा मानमर्यादासमेत गिराउने काम गर्दछ । यसले समाजमा मुख छोपेर हिँड्नुपर्ने अवस्थाको सिर्जना गर्दछ । घुसखोरी, ठगी, धोखाधडी र भ्रष्टाचार एक खराब एवम् आर्थिक तथा गैरआर्थिक अपराध हो । घुसखोरी, ठगी र भ्रष्टाचारीहरूको संरक्षण गरेर निरीह, सिधासाधा र इमानदार व्यक्तिको रगत र पसिना चुस्न उत्प्रेरित गर्नु भनेको आत्मघात, राष्ट्रलाई घातभन्दा ठूलो अपराध हो । प्रवासमा समेत विभिन्न बहानामा ठगी, भ्रष्टाचार गर्ने व्यक्ति राज्यको शत्रु, शोषक र दुष्ट हो । त्यसको ठाउँको ठाउँ भण्डाफोर गरिनुपर्छ ।

देशमा, सङ्घसंस्थामा भइरहेको भ्रष्टाचारको निवारणका लागि भ्रष्टाचारका मूल कारणहरूलाई पहिचान गर्नुपर्छ । सङ्घसंस्थाको साथसाथै सरकारले समेत भ्रष्टाचार निवारणका लागि नयाँनयाँ संयन्त्रहरू ल्याउने प्रयत्न गर्नुपर्छ । ठगी र भ्रष्टाचार भनेको समाजको मात्रै नभएर आमसमस्या भएकोले नागरिक वा कार्यकर्ताले ठगी र भ्रष्टाचार निवारण गर्दा अवैध तथा अपारदर्शिताका आर्थिक सूचनाहरू मिडिया तथा सम्बन्धित निकायलाई उपलब्ध गराएर समाज तथा राज्यलाई सहयोग गर्नुपर्छ ।