प्रचण्डलाई प्रश्न

प्रचण्डलाई प्रश्न


विजय बलम्ताली

गाँस (भात) माग्यौ,
भोकै बसेर गाँस दियौँ
बास माग्यौ,
अनिदो बसेर बास दियौँ
चन्दा माग्यौ,
ऋण काढेर चन्दा दियौँ
साथ माग्यौ,
परिवार छोडेर साथ दियौँ
बन्दुक बोकायौ,
सकिनसकी बन्दुक बोक्यौँ
बलिदान माग्यौ,
हाँसी–हाँसी बलिदान दियौँ
सत्ता माग्यौ,
भोट दिएर सत्तामा पुऱ्यायौँ
भन त प्रचण्ड–
अब के माग्छौ ?

तिम्रै कारणले,
बाबुआमा गुमायौँ
तिम्रै कारणले,
छोराछोरी गुमायौँ
तिम्रै कारणले,
अपाङ्ग, असक्त भयौँ
तिम्रै कारणले,
आपसी दुस्मनी कमायौँ
तिम्रै कारणले,
नखानु दुःख पायौँ
तिम्रै कारणले,
सर्वश्व गुमायौँ
भन त प्रचण्ड,
तिमीले के गुमायौ ??

बुर्जुवा शिक्षा भन्यौ,
पढ्न छोड्यौँ, स्कुल बन्द गऱ्यौं
सामन्तीको पैसा भन्यौ,
बैंक फोडेर तिमीलाई बुझायौँ
जनकारबाही भन्यौ,
आफन्तकै कत्लेआम गऱ्यौं
विस्तारवादी भन्यौ,
भारतलाई गाली गऱ्यौं
साम्राज्यवादी भन्यौ,
अमेरिकालाई गाली गऱ्यौं
भन त प्रचण्ड,
अब के भन्छौ ??

पहिचानसहितको सङ्घीयता भन्थ्यौ,
पहिचानविरोधी एमालेसित मिल्यौ
राष्ट्रघाती सम्झौताको खारेजी भन्थ्यौ,
आफैँले झन् ठूलो राष्ट्रघात गऱ्यौ
राष्ट्रिय एकता भन्थ्यौ,
आफ्नै पार्टी टुक्राटुक्रा बनायौ
सामन्तवादको अन्त्य भन्थ्यौ,
आफैँ नवसामन्तवादको नाइके बन्यौ
हिजो जङ्गलमा सीता भाउजूको
लुङ्गी ओढेर रात काटेको बिर्सियौ ??
जनताको बलिदानबाट
तिमीले त, शान, शौकत, सत्ता,
इज्जत, प्रतिष्ठा सबै पायौ
छातीमा हात राखेर
भन त प्रचण्ड,
हामीले के पायौँ ??
जुँगामा ताउ लगाउँदै
जुरुकजुरुक कुम उचालेर
हिजोकै जोस र जाँगर बटुलेर
मने ! मने ! भन्दै
साँच्चै भन त प्रचण्ड,
अब के भन्छौ ??
कि ओलीलाई पाएपछि
सर्वश्व पायौ ?

(बलम्ताली चाम्लिङ भाषिक साहित्यका सर्वाधिक चम्किला ग्रह हुनुहुन्छ, जो सबै विद्यामा उस्तै र उत्तिकै दुरुस्त कलम चलाउन सिपालु हुनुहुन्छ भने उहाँका आधा दर्जनभन्दा बढी कृति पुस्तकाकारमा प्रकाशित भइसकेका छन् र बेहिसाब यस्ता फुटकर सिर्जनाहरू बेखबर छन् ।)