यो सरकारले माओवादीको पुच्छर पनि भेट्टाउन सक्दैन : खड्ग ओली

यो सरकारले माओवादीको पुच्छर पनि भेट्टाउन सक्दैन : खड्ग ओली


माओवादी जनयुद्धलाई लिएर संसद्मा चर्को स्वरले आवाज उठाउने पालो नेकपा (माले) बाट एमालेमा सरेको छ । यतिञ्जेल माओवादीका सम्बन्धमा नेकपा (माले) ले संसद्मा चर्को स्वरले आवाज मात्रै उठाएन, सदन बहिष्कारसमेत गर्न पुग्यो । माले सरकारमा सामेल हुने सम्भावना बढ्दै गएपछि एमालेले मालेलाई गाली गर्नका लागि मात्रै पनि माओवादीको विषयलाई सदनमा प्रमुख विषय बनाउने भएको छ । यसको सङ्केत नेकपा एमालेका प्रभावशाली नेता एवम् सांसद खड्गप्रसाद ओलीले हिजोको प्रतिनिधिसभाको बैठकमा दिनुभयो । संसद्को कारबाहीको प्रारम्भमै विशेष समय लिएर बोल्ने क्रममा ओलीले माओवादीको विषयलाई जति महत्वका साथ उठाउनुभयो त्यति नै महत्व दिएर मालेलाई घोचपेच र छेडछाड गर्नुभयो ।

नागरिकको जीउधनको सुरक्षाको जिम्मा लिएको सरकारले निर्दोष नागरिकको हत्या गरेको चर्चा गर्दै उहाँले सरकारले संविधानलाई हात्तीको देखाउने दाँत बनाएको बताउनुभयो । सरकारद्वारा चलाइएको हालको अप्रेसनबारे टिप्पणी गर्दै ओलीले भन्नुभयो, ‘माओवादी मारेँ भनेर सरकार मख्ख परेको होला, तर यो दमनले माओवादीको पुच्छर पनि फेला पार्न सरकारले सकेको छैन ।’ नेकपा मालेप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘एउटा विपक्षी गुटले संसद् बहिष्कार गरी अत्यन्तै सफल नाटक मञ्चन गयो । यो कुशल नाट्य मञ्चनको प्रधानमन्त्रीले छिट्टै पुरस्कारको घोषणा गर्नुहुन्छ होला भनी हामी व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छौँ ।’

यसको जवाफमा सभामुख रामचन्द्र पौडेलले ठट्टामा भन्नुभयो, ‘अहिले त पुरस्कार पनि फालाफाल स्थापना भएका छन्, कुनचाहिँ पुरस्कारको घोषणा गरिने हो ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर राणाले राप्रपाद्वारा आयोजना गरिएको हिजोको उपत्यका बन्द कार्यक्रमको सिलसिलामा सयौँ राप्रपाका कार्यकर्तालाई गिरफ्तार गर्नुका साथै सांसद विष्णुविक्रम थापालाई प्रहरीले हातपात गरेकोमा आपत्ति जनाउनुभयो ।

बैठकमा गृहमन्त्री गोविन्दराज जोशीले एक वक्तव्य दिई हिजोको बन्दको क्रममा भएका घटनाबारे जानकारी गराउनुभयो । उहाँले बन्दका आयोजकहरूद्वारा ११ वटा सवारीका साधनमाथि ढुङ्गामुढा गरी क्षति पुऱ्याइएको जानकारी गराउँदै ५० जनालाई गिरफ्तार गरिएको बताउनुभयो । हिजो राजधानीमा कुनै अप्रिय घटना नघटेको र जनजीवन सामान्य रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

सांसद मिर्जा दिलसाद बेगको हत्याको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको बताउँदै मन्त्री जोशीले दिनदिनै अनुसन्धान भएका घटना सदनमा जानकारी गराउँदा अनुसन्धान कार्यमा बाधा पर्न सक्ने भएकाले यथार्थ रिपोर्ट आएपछि मात्रै सदनमा जानकारी गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

जम्मा २५ जना सांसदको उपस्थितिमा सदनको कारबाही शुरु भएको थियो ।

उपत्यका बन्दका कारण प्रायः सांसदहरू हिँड्दै छाता ओढेर आएका थिए भने कोही–कोही मोटरसाइकलमा पछाडि बसेर आएका देखिन्थे ।

राप्रपा (चन्द), नेपाल मजदुर किसान पार्टी र सद्भावना पार्टीका सम्पूर्ण सांसदहरू सदनमा अनुपस्थित रहेका थिए ।

सांसद बलबहादुर राईले बोल्दाबोल्दै सभामुखले समय सकिएको जानकारी गराउँदा उहाँ अझै ठट्यौलो पारामा चर्कीचर्की भन्दै हुनुहुन्थ्यो, ‘म कहिल्यै नबोल्न बूढो मान्छे । आज अलिकति समय थपिदिनुपऱ्यो ।’ त्यति भन्दा सदनमा हाँसो गुन्जिएको थियो ।

श्री ५ को सरकारद्वारा प्रस्तुत गरिने बजेटमाथि छलफलमा भाग लिन भने एक दर्जनभन्दा बढी सांसदहरू सदनमा थिएनन् ।

(घटना र विचार साप्ताहिक, २०५५ असार ३१ गते बुधबार)