प्रतिपक्षीको विरोध प्रदर्शन कति सार्थक ?

प्रतिपक्षीको विरोध प्रदर्शन कति सार्थक ?


प्रमुख प्रतिपक्षी दलको स्थानमा उभिएर निरीहता दर्शाएको आरोप लाग्दै गर्दा नेपाली काङ्ग्रेसले गत सोमबार सरकारको विरोधमा राष्ट्रव्यापी प्रदर्शन गरेको छ । बिनापूर्वतयारी अल्पसूचनाकै भरमा जे–जति वा जुन स्तरबाट विरोध प्रदर्शन आयोजना हुन सक्यो, त्यसले काङ्ग्रेस नेतृत्वलाई सन्तुष्ट तुल्याएको हुन सक्छ । अहम् जिम्मेवारीमा रहेका कतिपय काङ्ग्रेस नेताका अभिव्यक्तिले यस्तै छनक दिएको छ ।

केही पनि नहुनुभन्दा केही न केही हुनुपर्छ, चाहे त्यो नराम्रो नै किन नहोस् भन्ने एउटा भनाइ छ । सरकारविरुद्ध काङ्ग्रेसको राष्ट्रव्यापी विरोध प्रदर्शनले बहुचल्तीको यो भनाइको स्मरण गराएको छ । विरोधकै निम्ति भए पनि विरोध गर्ने एउटा वहाना मिलेकै हो काङ्ग्रेसलाई, जुन विरोधले उसप्रति ठडिँदै आएका असन्तुष्टिका औँलालाई अल्पअवधिकै निम्ति सही– खुम्च्याइदिएको मान्न सकिन्छ ।

उत्साहित काङ्ग्रेसका नेता–कार्यकर्ताले यो प्रदर्शन त ‘ट्रेलर’ मात्र हो भनेका छन् । यो भनाइको तात्पर्यअनुसार काङ्ग्रेस ठूलो आन्दोलनको तयारीमा छ भनी बुझ्नुपर्ने हुन्छ । आमजनता सरिक नभएको र पार्टी–कार्यकर्ताको मात्र सहभागितामा आयोजित भए पनि विरोध प्रदर्शनमा देखिएको उपस्थितिबाट उत्साहित भएर काङ्ग्रेसका नेताहरूले यसलाई ‘फगत ट्रेलर’ सम्झिन सरकारलाई चेतावनी दिएका हुन् भनी बुझ्न धेरै माथापच्ची गरिरहनुपर्दैन । तर, यसभन्दा प्रभावशाली वा दर्बिलो विरोध प्रदर्शन गर्न सक्ने कुनै तार्किक आधार काङ्ग्रेससँग रहेकोमा विश्वस्त हुन सकिने कुनै आधार भने छैन ।

सरकारविरुद्ध जनता जगाउनका निम्ति विपक्षीसँग एजेण्डा नभएका होइनन् । सरकारका काम–कारबाही मात्र नभई नियत, प्रवृत्ति वा शैलीमा अधिनायकवादको स्पष्ट झल्को देखिइसकेको अवस्था छ । दशकौँदेखि दौत्य सम्बन्ध गाँसिएका मित्रराष्ट्रहरूलाई समेत चिढ्याउने सरकार एवम् सरकार सञ्चालन गर्ने दलको अपरिपक्वता तथा उत्ताउलोपनले सिङ्गो देशलाई नै अप्ठ्यारो मार्गतर्फ डो¥याएको अनुभूति भइरहेको छ । शैक्षिक क्षेत्रको प्रश्न होस् वा सुरक्षाको, सुशासनको सवाल होस् वा संस्कृति रक्षाको, यावत् क्षेत्रमा सरकार चुक्दै गएको छ । भ्रष्टाचारका डरलाग्दा मामला सतहमा आएका छन् र तिनका ढाकछोपको प्रयत्नमा सरकार र यसको नेतृत्वकर्ता दल निर्वस्त्र बन्न पुगेको छ । आफ्नै अहम्वादी सोचका कारण उसका कतिपय राम्रा कर्मसमेत विवाद र विरोधको विषय बन्न पुगेका छन् । कुनै पनि सशक्त प्रतिपक्षीका निम्ति सरकारको विरोधमा जनता जगाउने योभन्दा उत्तम अवसर अरू हुन सक्दैन ।

जबसम्म काङ्ग्रेस आफैँभित्र शुद्धीकरण हुँदैन तब उसले सरकार या अरू कसैलाई पनि असल बन्न या असल कर्म गर्न उपदेश दिन सक्दैन । यही रूपको काङ्ग्रेसले गरेको र भावी दिनमा गर्ने प्रदर्शन वा आन्दोलनले सुशासन र परिवर्तनमा कुनै प्रभाव छोड्न सक्दैन ।

तर, काङ्ग्रेसले यस अवसरको उपयोग गर्ने क्षमता वा कौशल देखाउन सकेन । बालिका बलात्कार एवम् हत्याको एउटा यस्तो मामला प्रकाशमा आयो, जसलाई दबाउन सरकारले भित्रभित्रै न्वारानदेखिको बल लगायो–लगाइरहेको छ । यदि विपक्षीसँग उचित कौशल हुँदो हो त यस प्रकरणकै टेकोमा संवेदनहीन सरकारको मेरुदण्ड नै खुस्काइदिन सक्थ्यो । त्योभन्दा ठूलो वाइडबडी भ्रष्टाचार प्रकरण छरप्रस्ट भएर आयो । देशको इतिहासमै नभएको व्यापक आयतनको आर्थिक भ्रष्टाचारको यस प्रकरणमा समेत काङ्ग्रेसले आफ्नो ‘प्रतिपक्षी–कौशल’ प्रदर्शन गर्न सकेन ।

पार्टीका केही नेताले आवाज उराले पनि यसरी आवाज उठाउनेहरू विभिन्न प्रताडनाको सिकार बनाइए, तर काङ्ग्रेस नेतृत्वले यसको कुनै प्रतिकार गरेन । मानौँ वाइडबडी मामलामा विरोध जनाउनेहरू नै गलत गरिरहेका छन् ! काङ्ग्रेसको मूल नेतृत्वको यस्तै रवैया देखियो, जसका कारण यति ठूलो भ्रष्टाचार काण्डलाई त्यत्तिकै दबाउन सरकारलाई भारी सहयोग मिल्यो–मिल्दै छ । थोरै मात्र दिमाग लगाउनेले पनि बुझ्न र प्रश्न गर्न सक्छ– के यसमा काङ्ग्रेस नेतृत्वको पनि मिलिभगत छ ? होइन भने विरोधको लागि विरोध जनाएजस्तो गरी पन्छिएर किन चुपचाप छ काङ्ग्रेस ?

यी सन्दर्भले के जनाउँछ भने वर्तमान सरकारले जतिसुकै गल्ती, कमी–कमजोरी र दम्भी व्यवहार प्रकट गरे पनि त्यसप्रति विरोध जनाउन या मुकाबिला गर्न प्रमुख प्रतिपक्षीसँग नैतिक शक्ति नै बाँकी छैन । जबसम्म काङ्ग्रेस आफैँभित्र शुद्धीकरण हुँदैन तब उसले सरकार या अरू कसैलाई पनि असल बन्न या असल कर्म गर्न उपदेश दिन सक्दैन । यही रूपको काङ्ग्रेसले गरेको र भावी दिनमा गर्ने प्रदर्शन वा आन्दोलनले सुशासन र परिवर्तनमा कुनै प्रभाव छोड्न सक्दैन । विरोधको निम्ति गरिएको विरोधले सरकारलाई कमजोर तुल्याउँदैन, झनै मनपरी गर्न बल प्रदान गर्छ । त्यसैले, पहिले काङ्ग्रेसले आफूलाई नै शुद्धीकरण गर्नुपर्छ, आफ्नो सोच, शैली र प्रवृत्ति फेर्नुपर्छ । तब मात्र मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलन सार्थक बन्न पुग्छ । अन्यथा काङ्ग्रेसले गर्ने सदन र सडकका विरोध ढोँगमै सीमित रहनेछ ।