हामी कस्तो बोलिरहेका छौँ ?



  • बबिता बस्नेत

मानिस भएर जन्मिएपछि हरेक कुरामा प्रतिक्रिया दिनैपर्नेझैँ गरी हामी टीका–टिप्पणी गरिरहेका हुन्छौँ । सर्वसाधारणले दिने प्रतिक्रियाले वरिपरिको माहोललाई मात्र प्रभाव या असर गरे पनि सार्वजनिक व्यक्तित्वका बोलीले ठूलो सङ्ख्यामा मानिसहरू प्रभावित भइरहेका हुन्छन् । उहाँहरूले बोलेको कुरालाई मिडियाले जस्ताको तस्तै प्रसारित, प्रकाशित गरिदिँदा नकारात्मक भाववाला टिप्पणीहरूले आममानिसमा प्रभाव जमाउन पुग्छ । कहिलेकाहीँ हाम्रा नेताले केही दिन मौन साधना गरे देशको माहोल फरक हुन्थ्यो जस्तो पनि लाग्छ । यसो गर्दा नेता—जनता दुवैको स्वास्थ्य राम्रो हुने थियो भन्न सक्ने आधारहरू धेरै छन् । बोल्दा मात्र होइन, जे पायो त्यही सुन्दा पनि शक्ति र सकारात्मक ऊर्जा खर्च हुने गर्छ । कुनै पनि काम गर्नका लागि पहिला सपना देख्नु जरुरी हुन्छ, त्यसपछि खाका बनाएर अघि बढ्दै जाने हो । योजनाले मूर्त रूप लिँदै गएपछि मानिसले स्वतः चर्चा गर्न थाल्छन् । तर, हामीकहाँ योजना बनाउनुअघि नै बोलेर चर्चामा आउने गरिन्छ । एक–अर्कालाई गर्ने गाली–गलोजका कारण फैलिने प्रदूषणबाट पनि हामी त्यत्तिकै प्रभावित छौँ ।

महाभारत भन्छ– कलियुगमा बोल्ने काम बढी हुन्छ । मान्छे यति बोल्छन् कि बोल्नु नै कामजस्तो हुनेछ । पञ्च पाण्डवले भगवान् कृष्णसँग कलियुगमा मानिसहरू कस्ता हुन्छन् ? उनीहरूको सोच कस्तो हुन्छ ? विचार कस्तो राख्छन् ? भनेर प्रश्न गरेपछि कृष्णले पाँचैजनालाई बाहिर गएर केही क्षण घुम्न र जे देखिन्छ त्यसका बारेमा वर्णन गर्न बताएपछि युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवले गरेको वर्णन र कृष्णको जवाफ बडो रोचक मात्र छैन, अहिलेको सन्दर्भमा हुबहु मिलेको पनि देखिन्छ । त्यसमध्ये यो विषयसँग सान्दर्भिक एकजनाको मात्र उल्लेख गरौँ । बाहिर घुमेर फर्किएपछि युधिष्ठिर भन्छन्– मैले दुईवटा सुँड भएको हात्ती देखेँ, अच्चम लाग्यो, यो के हो ? जवाफमा कृष्णले भनेका छन्– यसको अर्थ हो कलियुगमा एउटा कुरा बोल्ने र काम अर्कै गर्ने मानिसले राज्य गर्नेछन् । जे बोल्छन् त्यही गर्ने मानिस भेट्न गाह्रो हुनेछ ।

यदि हामी सुन्नभन्दा बढी बोल्नका लागि हुन्थ्यौँ भने प्रकृतिले हामीलाई दुईवटा मुख र एउटा कान दिएको हुन्थ्यो । अरूको कुरा बढी सुन्न र आफू कम बोल्नकै लागि हामीलाई दुईवटा कान र एउटा मुख दिइएको हो ।

धुलो–धुवाँको कारण वातावरणमा असर परेजस्तै मानिसले बोल्ने या लेख्ने नकारात्मक कुराले मानसपटल प्रदूषित गर्छ भनिन्छ । कतिपय मुलुकमा बोल्नेभन्दा सुन्ने संस्कृति बढी भए पनि हामीकहाँ सकेसम्म अरूको कुरा सुन्नुभन्दा बोल्नमै जोडबल दिइन्छ । अमेरिकी लेखक मार्क ट्विनले १८औँ शताब्दीको मध्यतिरै भनेका थिए– यदि हामी सुन्नभन्दा बढी बोल्नका लागि हुन्थ्यौँ भने प्रकृतिले हामीलाई दुईवटा मुख र एउटा कान दिएको हुन्थ्यो । अरूको कुरा बढी सुन्न र आफू कम बोल्नकै लागि हामीलाई दुईवटा कान र एउटा मुख दिइएको हो ।

मुखले मात्र बोलेझैँ लागे पनि हाम्रो सम्पूर्ण शरीरले विभिन्न हाउभाउबाट सञ्चार गरिरहेको हुन्छ । हाम्रा बोली, वचन मात्र होइन, बडील्याङ्ग्वेज र हाउभाउ पनि हिंसात्मक र अहिंसात्मक हुन्छन् । अहिंसात्मक सञ्चारका प्रवद्र्धक मार्सल रोजेनबर्गका अनुसार ५५ प्रतिशत सञ्चार हाम्रो शारीरिक हाउभाउले गरिरहेको हुन्छ । ३८ प्रतिशत सञ्चार हामीले बोल्ने आवाजले प्रवाह गरिरहेको हुन्छ । उफ…देखि खै…हुँदै…हामीले निकाल्ने मलीनदेखि कर्कश ध्वनिसम्म यसमा पर्छन् । शब्दहरूको प्रयोगचाहिँ हामीले जम्मा ७ प्रतिशत गर्ने रहेछौँ । मार्सलले ६० को दशकमा द्वन्द्व समाधानका लागि अहिंसात्मक सञ्चारको सिद्धान्त विकास गरेर प्रयोगमा ल्याएका थिए । ६५ भन्दा बढी मुलुकमा उनले यसलाई द्वन्द्व समाधानको औजारको रूपमा प्रयोग गरे । मार्सल रोजेनबर्ग उत्तर अमेरिकी मनोवैज्ञानिक हुन्, अध्ययनका क्रममा उनले असहमति र झगडाको मुख्य कारण मानिसको बोल्ने र सुन्ने तरिकामा छ भनी पत्ता लगाएका थिए । मानिसले बाल्यकालदेखि नै आफ्ना माग पूरा गर्नका लागि धम्कीको भाषा प्रयोग गर्न सुरु गर्छ । धम्कीको भाषाका लागि हिंसात्मक सञ्चार आवश्यक हुन्छ । उनका अनुसार हेड लेभल कम्युनिकेसन अर्थात् मुखको भाषाले भावनाको प्रतिनिधित्व गर्दैन ।

द्वन्द्वको स्रोत नै बोली हो भन्ने कुरा हामीकहाँ पटकपटक प्रमाणित भएको छ । यसले यसो भन्यो, उसले उसो भन्योमै हाम्रो अधिकांश समय बितिरहेको हुन्छ । कसले के गऱ्यो भन्ने कुरा नभएपछि हामी के बोल्योमा अड्किएका छौँ । खासमा नेतृत्वमा रहेका मानिसले प्रत्येक दिन कुनै न कुनै कार्यक्रममा गएर जे बोलिरहेका छन् त्यो बोल्नैपर्दैन । बोल्नकै लागि खर्च हुने घन्टौँको समय नेताहरूले योजनाको खाका कोर्नमा लगाउन सके राम्रो हुने थियो । नेतृत्वका लागि सबै जनतामा समभाव हुनुपर्नेमा हामीकहाँ पार्टीगत व्यवहार गर्ने गरिएको छ । व्यवहार मात्र नभएर हिंसात्मक सञ्चारमार्फत इतर पक्षलाई ‘ह्युमिलेट’ गर्ने गरिएको छ । त्यसो त, हिंसात्मक सञ्चार गर्न सहज भए पनि अहिंसात्मक सञ्चार गर्न त्यति सहज छैन, किनभने अहिंसात्मक बोलीचालीका लागि इमानदारी आवश्यक हुन्छ । मार्सल भन्छन्– अहिंसात्मक सञ्चार हृदयबाट गरिन्छ । भावना र आवश्यकताको मिलनबाट मात्र यो सुरु हुन्छ । अहिंसात्मक सञ्चारले अरूलाई तल पार्ने र मूल्याङ्कन गर्ने काम गर्दैन । आफूले व्यक्त गरेको भावनालाई जिम्मेवारीका साथ हेर्छ । संवाद भन्ने कुरा स्पष्ट र इमानदारीका साथ गर्नुपर्छ । यो भनेको विषयकेन्द्रित भएर सत्य बोल्नु हो ।

कसैलाई चोट पुऱ्याउन ढुङ्गामुडा गर्नुपर्दैन, हतियार चलाउनुपर्दैन, बोली वचन नै काफी हुन्छ । अरूलाई दोषी देखाएर आफू नैतिकवान बन्न खोज्नेहरूको सङ्ख्या हामीकहाँ ठूलो छ ।

मुलुकलाई तरङ्गित बनाइरहन संवादहरू आवश्यक पर्छन् । अन्तरक्रिया कार्यक्रमहरू, बोल्ने ठाउँहरू पनि जरुरी हुन्छन् । तर, बोल्ने मात्रैभन्दा पनि के बोल्ने भन्ने कुराले अर्थ राख्छ । आफूवरिपरिको वातावरणलाई बोलीकै कारण विषाक्त बनाउने या उत्साहित वक्ताहरूको सोचमा भर पर्छ । आफ्नो कुरा राख्नेभन्दा पनि हामीकहाँ अरूले बोलेको खण्डन गर्दा गर्दै समय गुज्रिन्छ अनि आफ्नो कुरा कहिले गर्ने ? कसैले भरमार गाली गरेकै छ भने पनि आफ्नो कुरा संयमतापूर्वक राख्न सके सुन्नेले गाली गर्नेको होइन संयमतावालाकै कुरा पत्याउँछन् ।

मैले बोलेको कुराले अरूलाई के प्रभाव पाऱ्यो वा असर गऱ्यो होला ? मैले कतिलाई चित्त दुखाएँ या कतिलाई खुसी बनाएँ होला ? मैले बोलेको कारणले कसैको जिन्दगीमा सकारात्मक परिवर्तन होला त ? केही नयाँ कुरा, कसैको जिन्दगीमा ऊर्जा थप्ने काम गरुँला त ? मैले कसैलाई चोट त पुऱ्याइनँ ? वक्ताहरूले आफूले आफैँलाई गर्नुपर्ने प्रश्नहरू हुन् यी । कसैलाई चोट पुऱ्याउन ढुङ्गामुडा गर्नुपर्दैन, हतियार चलाउनुपर्दैन, बोली वचन नै काफी हुन्छ । अरूलाई दोषी देखाएर आफू नैतिकवान बन्न खोज्नेहरूको सङ्ख्या हामीकहाँ ठूलो छ । परिस्थिति सधैँ एकनास हुँदैन, कतिपय अवस्थामा विषयकेन्द्रित आलोचना आवश्यक हुन्छ । नकारात्मक भावना र आलोचनात्मक दृष्टिकोण फरक कुरा हुन् । ‘क्रिटिकल’ हुनु र ‘नेगेटिभ’ हुनुबीचको दूरी निकै लामो छ । साथै आफूले बोलेको कुराले के सन्देश दिन्छ भन्ने पनि महत्वपूर्ण पक्ष हो । सोचौँ, हामी कस्तो बोलिरहेका छौँ ? हाम्रो बोलीले, हाम्रा भाषणहरूले सुन्नेहरूबीच प्रदूषण फैलाइरहेको त छैन ?

प्रतिक्रिया