अनुवादक परिचय कोश प्रकाशित

अनुवादक परिचय कोश प्रकाशित


विश्वव्यापीकरणको युगमा अनुवाद अपरिहार्य बन्न पुगेको छ । अनुवादबिना नेपाली साहित्यलाई विश्वबजारमा पु¥याउन सकिँदैन र विश्वसाहित्यलाई नेपालमा ल्याउन कठिन हुन्छ । यसै कुरालाई आत्मसात् गर्दै अहिले सरकारी तथा निजी तवरबाट अनुवादका कामहरू भइरहेका छन् । नेपालमा यसरी अनुवाद कार्यमा संलग्न अनुवादकहरू केकति छन् त ? यसअघि कुनै तथ्याङ्क थिएन । तर, अब ‘अनुवादक परिचय कोश’ पुस्तक त्यो अभावको पूर्ति गरेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद विभागको परियोजना अन्तर्गत विभागीय प्रमुख प्रा.डा. उषा ठाकुरको निर्देशकत्वमा तयार भएको कोशको प्रधानसम्पादक प्रा.डा. गोविन्दराज भट्टराई रहेका छन् भने सम्पादन मण्डलमा प्रा.डा. योगेन्द्रप्रसाद यादव, जयदेव भट्टराई, बलराम अधिकारी, नीव चित्रकार र माधवप्रसाद लामिछाने छन् ।

नेपालको भाषा र साहित्यको विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानले नेपाली, संस्कृत, अंग्रेजी, हिन्दी, उर्दू, चिनियाँ, जापानी, जर्मन, फ्रेन्च, बंगाली, असमिया, नेपालभाषा, मैथिली, भोजपुरी अवधिलगायतमा अनुवाद गर्ने ६ सय अनुवादक साहित्यकारलाई समावेश गरी उक्त कोश प्रकाशनमा ल्याएको हो ।

कोशमा अभि सुवेदी, अनिशा रिमाल, अनुराधा शर्मा, आशाकाजी बज्राचार्य, ए.एम. स्याङ्देन, ए.डब्लू कर्ने्लिअस, ए.डी मोलोनी, कुलमणि देवकोटा, केशरशमशेर जबरा, गीता मानन्धर, रमेश विकल, शंकर कोइराला, शरदचन्द्र वस्ती, विजय चालिसे, डेविट रुविन, टी.डब्लू क्लार्क, जोन बिम्स, जयराज आचार्य, चक्रपाणि चालिसेलगायत स्वदेशी तथा विदेशी गरी करिब ६ सय अनुवादकको परिचय समावेश गरिएको छ ।

दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएकी अनुवाद विभाग प्रमुख प्रा.डा. उषा ठाकुरले स्वदेशी तथा विदेशी भाषा साहित्यलाई विश्वमा सञ्चार गर्ने माध्याम नै अनुवाद भएको भन्दै पहिलो चरणमा ६ सय अनुवादक साहित्यकारको नाम समावेश गरेर पुस्तक प्रकाशनमा ल्याए पनि यसलाई बिस्तारै परिमार्जन गर्दै लैजाने उनले बताइन् ।

अनुवाद विभागले पछिल्लो समय ‘रनमाया उपन्यास’ अंग्रेजी भाषामा अनुवाद, ‘संस्कृतिका पौराणिक आख्यानहरु’ नेपाली अनुवाद, ‘देवदास उपन्यास’ नेपाली अनुवाद, ‘रवीन्द्रनाथ टैगोरकी प्रतिनिधि कहाँनिया’ नेपाली अनुवाद, ‘सार्क मुलुकका महिला कथाकारका कथा’लाई नेपालीमा अनुवाद गरेको छ ।

यसैगरी, ‘विश्वका प्रसिद्ध कथाकारहरुका कथा’ नेपाली अनुवाद, ‘विश्वका प्रसिद्ध महिला कथाकारका कथाहरु’ नेपाली अनुवाद, ‘द रिभल मर्निङ’ ‘सुकर्म उपन्यास’ हिन्दी अनुवाद, ‘चम्पा उपन्यास’ हिन्दी अनुवाद, ‘अनुराधा उपन्यास’ हिन्दी अनुवाद, ‘विलियम शेक्सपियरका नाटक’ नेपाली अनुवाद, ‘नेपाली र हिन्दीका प्रतिनिधि कविताहरु’ अवधि अनुवाद, ‘सोमली र सोहागिन मैथली कथासंग्रह’ नेपाली अनुवाद गरिएको छ ।